७ वैशाख २०८१ शुक्रबार
खेल

भलिबल टोलीको बिदाइ

काठमाडौं- युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले खेल र खेलाडीलाई व्यापारको रूपमा हेर्न नहुने बताएका छन्। आइतबार राष्ट्रिय पुरुष भलिबल टोलीको बिदाइमा मन्त्री श्रीपालीले खेलकुद क्षेत्रको नेतृत्व गरेको व्यक्तिले इमानदारिता देखाए नेपाली खेलकुदले सफलता हासिल गर्न सक्ने बताए। 

'खेलकुद नेतृत्व गर्ने व्यक्ति खेलाडीको अभिभावक भए सफलता प्राप्त गर्न केही कठिन छैन। खेलकुदको संरचनामा समस्या छन्। तर यस क्षेत्रमा लागेका व्यक्तिले इमानदार भएर काम गर्न सकेका छैनन्। बोलमा मात्र नेतृत्व तह अगाडि छ। व्यवहारमा केही लागू भएको छैन,' मन्त्री श्रीपालीले भने, 'खेलाडी विदेशमा लगेर बेच्ने प्रवृत्ति बढिरहेको छ। नेतृत्वमा आएर खेलकुदको विकासभन्दा आफनो स्वार्थ पूरा गर्ने प्रवृति हाबी छ खेलकुदमा।'

मन्त्री श्रीपालीले भलिबल संघको काम गर्ने गतिको बारेमा पनि असन्तुष्टि व्यक्त गरे। उनले भने, 'भलिबल ४० वर्ष अघिदेखि नेपालमा लोकप्रिय छ। हामीले पदक जित्न नसके पनि भलिबलमा उत्साह घटेको छैन। तर केही कमजोरी छन् भलिबलमा पनि। सरकारले सहयोग गरेन भन्नुहुन्छ। स्पष्ट योजना र नीति लिएर आउनुभयो भने सरकारले सहयोग गर्छ।'

सेन्ट्रल जोन भलिबलको तेस्रो संस्करण खेल्न नेपाली टोली सोमबार माल्दिभ्सतर्फ जाँदै छ। चैत १७ सम्म चल्ने प्रतियोगितामा आयोजक माल्दिभ्स, तुर्कमेनिस्तान र किर्गिस्तानले खेल्नेछन्। राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगितामा लिगको शीर्ष टोली फाइनल पुग्नेछ। दोस्रो र तेस्रोबीचको विजेताले पुनः फाइनल खेल्नेछ। नेपालले पहिलो खेल १० गते तुर्कमेनिस्तानसँग, ११ गते आयोजक माल्दिभ्स र १४ गते किर्गिस्तानसँग खेल्नेछ।

सेन्ट्रल जोन भलिबल तीन वर्ष अघिदेखि बंगलादेशबाट सुरु भएको प्रतियोगिता हो। प्रतियोगिताको दोस्रो संस्कण गत वर्ष बंगलादेशमै भएको थियो। दुवै पटक नेपाल सेमिफाइनल पुगेको छ।

नेपाल वीरेन्द्र चौधरी र जगदीश भट्टको प्रशिक्षणमा तेस्रो संस्करण खेल्दै छ। कप्तान इम रानाले तीनै पटक प्रतियोगितामा नेपालको कप्तानको रूपमा जिम्मेवारी सम्हालेका छन्। आइतबार बिदाइ कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन शर्माले नेपाली खेलाडीले जित हासिल गर्ने दाबी गरे। ठट्यौली पारामा शर्माले भने, 'मन्त्री श्रीपाली ठोकेरै मन्त्री पदसम्म आइपुग्नुभएको हो। हामीले पनि विदेशमा सबै टिमलाई ठोक्ने हो। हाम्रो खेलाडीले जित्छन्। मलाई विश्वास छ।'

खेलाडीका लागी बिदाइ मन्तव्य राख्दा स्टेजमा बसेका मन्त्रीसमेत अध्यक्ष शर्माको कुरा सुनेर हाँसेका थिए।  

प्रकाशित: ७ चैत्र २०७३ ०४:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App