८ वैशाख २०८१ शनिबार
राजनीति

योगी आदित्यनाथको नेपाल कनेक्सन के हो?

विराट हिन्दू महासम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै अादित्यनाथ

नेपालगन्ज— भारतीय सहर लखनउमा आइतबार दिउँसो योगी आदित्यनाथले मुख्यमन्त्रीको शपथग्रहण गर्दैगर्दा त्यसको कम्पन नेपालसम्मै आइपुग्यो। यसको प्रमुख कारण थियो– नयाँ मुख्यमन्त्रीको नेपालसँगको धार्मिक तथा सांस्कृतिक सम्बन्ध। राजतन्त्र र हिन्दू राष्ट्रजस्ता महत्वपूर्ण मुद्दामा ‘हस्तक्षेपकारी’ भूमिका निर्वाह गर्दै आएका उनी नेपालसँग सीमा जोडिएको भारतको सबैभन्दा ठूलो राज्यको मुख्यमन्त्री भएपछि यसले नेपाली राजनीतिलाई पनि तरंगित गरेको हो।

नेपालगन्जस्थित बागेश्वरी मन्दिरका महन्त योगी चन्दनाथ तीन महिनाअघि भारत, बलरामपुरस्थित पाटेश्वरी मन्दिरमा जाँदा योगी आदित्यनाथसँग भेट गरेका थिए। उक्त भेटमा आदित्यनाथले नेपालबारे निकै गहिरोसँग चासो राखेको विषय थियो– हिन्दू राष्ट्र नेपाल। ‘उहाँले पछिल्लो भेटमा मात्र होइन, नेपाल आउँदा र हामी भारत जाँदा हुने हरेक भेटघाटमा समेत नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा भएकोमा चर्को असन्तुष्टि व्यक्त गरिरहनुहुन्थ्यो,’ उनले भने।

राष्ट्रिय प्रजातन्त्र पार्टीका स्थानीय नेता ऋषि देवकोटा नेपालबारे चासो राख्ने धार्मिक अगुवा नेपालको भूराजनीतिमा प्रभाव पार्ने राज्यको मुख्यमन्त्री भएपछि त्यसले निकै अर्थ राख्ने बताउँछन्। ‘पहिले उहासँग धार्मिक शक्तिमात्र थियो, अब त राजनीतिक शक्ति पनि जोडिएको छ,’ उनले भने ।

भारत, गोरखपुरस्थित गोरखनाथ मन्दिरका तिनै महन्त अहिले उत्तरप्रदेशको मुख्यमन्त्री भएपछि  यता नेपालमा त्यसको प्रभाव पर्न सक्ने संभावना छ । आदित्यनाथ अन्तर्राष्ट्रिय अध्यक्ष रहेको ‘अखिल भारतवर्षीय बारपन्त योगी महासभा’मा नेपालका धेरै योगीहरु सदस्य छन् ।

करिब पाँच वर्षअघि भारतीय सीमावर्ती बजार रुपैडियाको लक्ष्मी राइसमिलमा उनी संस्थापक रहेको हिन्दु युवा बाहिनीको बृहत भेला भयो । उक्त भेलामा सहभागी हुन आएका आदित्यनाथ लगत्तै नेपालगन्ज आएर आफ्ना समर्थकलाई भेटेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका स्थानीय नेता ऋषि देवकोटा नेपालबारे चासो राख्ने धार्मिक अगुवा नेपालको भूराजनीतिमा प्रभाव पार्ने राज्यको मुख्यमन्त्री भएपछि त्यसले निकै अर्थ राख्ने बताउँछन्। ‘पहिले उहासँग धार्मिक शक्तिमात्र थियो, अब त राजनीतिक शक्ति पनि जोडिएको छ,’ उनले भने ।

सीमावर्ती क्षेत्रका हिन्दुवादीहरु आदित्यनाथ उत्तरप्रदेशको मुख्यमन्त्री भएपछि हौसिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बलियो सम्बन्ध भएका योगी आदित्यनाथ नेपालमै आएर हाकाहाकी राजतन्त्र फर्काउन आह्वान गर्ने कट्टर हिन्दुवादी तथा राजावादी नेता हुन्।

साढे दुई वर्षअघि भारतीय जनता पार्टी र भारतका हिन्दुवादी नेताहरुको योजनामा आदित्यनाथले नेपालका हिन्दुवादी तथा दरबारीयालाई विराट हिन्दु महासम्मेलन आयोजना गर्न लगाएका थिए । पछिल्लो समय गत कात्तिकमा काठमाडौं बनकालीमा आयोजित एक समारोहमा उपस्थित उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उत्साहित हुनेगरी अभिव्यक्ति दिएका थिए। समारोहमै आदित्यनाथले ‘हाम्रो मिसन– हिन्दु राजा, हिन्दु प्रजा’ भनिदिएपछि ज्ञानेन्द्रले समेत पुनः राजा हुने आकांक्षा प्रकट गरेका थिए ।

आदित्यनाथ महन्त रहेको गोरखपुरको गोरखनाथ मन्दिरसँग नेपालका चन्दननाथ (जुम्ला), शिद्ध रत्ननाथ (दाङ), थापाथली मन्दिर, मृगस्थलीको नाथ अखाडासँग पुरानो सांस्कृतिक सम्बन्ध छ। यी मठमन्दिरमा कान चिरेर कुण्डल लगाउने ‘कनफट्टा जोगी’ महन्त हुन्छन्।

सन् १९७२ मा भारत, उत्तराखण्डमा जन्मिएका अजय सिंह बिष्टले २२ वर्षको उमेरमा गोरखनाथका महन्त योगी अवैद्यनाथको चेलाको रुपमा ‘नाथ’को उपाधि धारण गरेका थिए । ‘नाथ भएकैले उहाँ नेपाल–भारतबीचको धार्मिक सम्बन्धमा जोडिनुभएको हो,’ बागेश्वरी मन्दिरका महन्त योगी चन्दनाथ भन्छन्, ‘दुई देशमा रहेका धार्मिक मठमन्दिर साझाजस्तै भएकाले पनि योगीजी भावनात्मक रुपमा नेपालीसँग निकट रहेका हुन् ।’

प्रकाशित: ७ चैत्र २०७३ ०७:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App