८ वैशाख २०८१ शनिबार
समाज

काठ तस्करीमा संलग्न २ प्रहरीसहित ४ पक्राउ

पक्राउ परेको अवैध काठ, बोलेरो गाडी र प्रहरी चढेको मोटरसाइकल वन कार्यालयमा । तस्बिरः रोहित राई

धरान – अवैधरुपमा चिरान गरिएको काठ तस्करीमा सघाउ पुर्याएको आरोपमा २ प्रहरीसहित ४ जना पक्राउ परेका छन् । 
धरान २० स्थित विष्णुपादुकाको प्रस्तावित भवानीथान सामुदायिक वन क्षेत्रबाट अवैध काठ धरान बजार ल्याउँदै गर्दा आइतबार मध्यराती ढुवानीको साधनसहित स्थानीयले पक्राउ गरेर वन कार्यालयको जिम्मा लगाइदिएका हुन् । पक्राउ पर्नेहरुमा विष्णुपादुकास्थित प्रहरी चौकीमा कार्यरत हवल्दार खेमबहादुर कुँवर र जवान गंगा लिम्बु छन् । यस्तै, अवैध काठ तस्करीमा संलग्न धरान १८ का विवेक लिम्बु र गाडी चालक विराटनगर ५ का नरेन्द्र कार्की पनि समातिएको सेक्टर वन कार्यालयका प्रमखु ज्ञानकुमार लामाले जानकारी दिए । ‘अवैध काठ, बोलेरो, मोटरसाइकलसहित ४ जना नियन्त्रणमा छन्, अदालतबाट म्याद थप गरेर अनुसन्धान शुरु गछौं’–उनले भने । उनका अनुसार गाडीमा १८.९५ किबि काठ वरामद भएको छ ।

राती विरामी अस्पताल लैजान भन्दै गाडी सेन्टरबाट निकालेर काठ तस्करीमा प्रयोग भएको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


वन कार्यालयका अनुसार को १ च ७३८१ नम्बरको बोलेरोमा चिरान काठ लोड गरेर धरानतर्फ ल्याइरहेका थिए । यो गाडी विष्णुपादुकास्थित के एन के एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालिको भएको पनि खुलेको छ । राती विरामी अस्पताल लैजान भन्दै गाडी सेन्टरबाट निकालेर काठ तस्करीमा प्रयोग भएको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यस्तै, प्रहरीले प्रयोग गरेको को ४ प ८००७ नम्बरको मोटरसाइकल पनि वनको नियन्त्रणमा छ । सोही मोटरसाइकलमा काठ तस्करीलाई प्रहरीले सुरक्षा दिएको स्थानीयको भनाई छ । 
प्रस्तावित भवानीथान वन समूह विष्णुपादुका इलाका वनअन्र्तगतमा पर्छ । प्रहरीसँगको मिलेमतोमा यसअघिदेखि नै सो क्षेत्रबाट रातको समयमा काठ तस्करी भइरहेको स्थानीयहरु बताउँछन् । विष्णुपादुका इलाका प्रमुख एवं सहायक वन अधिकृत नवराज थापाका अनुसार राती करिब ११ बजेट स्थानीयबाट सूचना आएपछि जिल्लाबाट गाडी मगाएर सशस्त्र वन रक्षकसहित टोली विष्णुपादुकातर्फ गएको थियो । करिब अढाई बजे वरडाँडा भन्ने ठाउँमा पुग्दा स्थानीयले काठसहितको गाडी र प्रहरीलाई नियन्त्रणमा लिइसकेको अवस्थामा फेला परेको उनले बताए । ‘हामी पुग्दा गाउँलेहरुले समातेर एउटा पसलको कोठामा राखेको अवस्था थियो, गाउँलेहरूले जिम्मा लगाएपछि धरान ल्यायौं । यथार्थ के हो बुझ्न बाँकी छ’–उनले भने । 
काठ तस्करी मिलेमतोको आरोपमा हवल्दारसहित २ प्रहरी समातिएपछि निलम्बन प्रक्रिया अघि बढाएर प्रहरीलेसमेत छुट्टै अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक यमबहादुर पौडेल आफैँ सोमबार बिहान वन कार्यालय पुगेर चारै जनाको वयान लिएका थिए । ‘गम्भीर आरोपमा २ प्रहरी समातिएको छ, गल्ती गर्नेलाई बचाउने पक्षमा छैनौं । अनुसन्धानबाट दोषी देखियो भने कारबाही हुन्छ’–बयान लिएपछि पौडेलले भने । प्रहरी स्रोतका अनुसार पक्राउ परेका हवल्दार कुँवर र लिम्बुलाई पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले निलम्बन प्रक्रिया अघि बढाइसकेको छ । 
काठ तस्करी गर्ने विवेक लिम्बुले आफ्नो घर बनाउन सस्तोमा काठ पाएर ल्याएको प्रारम्भिक सोधपुछको क्रममा बयान दिएका छन् । विष्णुपादुकाकै सुदिप राई भन्ने व्यक्तिमार्फत काठ ल्याएको उनको भनाई छ । उनले ‘कागजात सबै छ भनेर आश्वास्त पारेर काठ लिन बोलाएर फसाएको’ बयान दिए पनि मध्यराती किन गएको भन्ने प्रश्नको जवाफ भने दिन सकेनन् । बोलेरो चालक कार्कीले भने एक जना प्रहरी नै आएर ‘सबै मिलिसकेको छ, चिन्ता लिनु पदैन’ भनेपछि काठ बोक्न गाडी लगेको स्वीकारे । उनले प्रहरीसमक्ष पनि यही वयान दिएको स्रोतले जनाएको छ । शुरुमा विरामी बोक्न भनेर गाडी लगेपनि पछि भने उनलाई तस्कर र प्रहरीले नै काठ बोक्न भन्दै भाडावापत १० हजार दिने प्रस्ताव गरेपछि राजी भएका थिए । आरोपित प्रहरी हवल्दार कुँवरले भने स्वास्थ्यकर्मी कमला राईले झगडा भयो भनेर फोन गरेपछि आफूहरू घटनास्थलमा गएको जिकिर गर्दै तस्करीमा संलग्नता नभएको बताए । ‘झगडा भयो भनेर फोन आएपछि हामी मोटरसाइकमा त्यता गयौं । खाली गाडी चौरीमा भेट्यौं,३ जना मान्छे पनि थियो । हामी फोन गर्ने मान्छेलाई खोज्न गयौं’–हवल्दार कुँवरले भने–‘फर्कदा त गाडी हिडिहाल्यो, पछि पछि आउदै गर्दा गाउँलेहरूले समाते । हामी फस्यौं ।’

प्रकाशित: ७ चैत्र २०७३ ०८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App