५ वैशाख २०८१ बुधबार
अन्य

'खोजमूलक पुस्तक अभाव छ'

डा. भीमार्जुन आचार्य, संविधानविद्

डा. भीमार्जुन आचार्य संवैधानिक कानुनका ज्ञाता मात्र होइनन् लेखक, गायक तथा अध्येता पनि हुन्। आचार्य आफैले कानुन तथा अन्य विषयमा गरी झण्डै दुई दर्जन पुस्तक लेखेका छन्। बजारमा आएका गम्भीर र समसामयिक विषयका पुस्तक पढ्न नछुटाउने उनी हल्ला मच्चाउने किसिमका पुस्तक भने पढ्दैनन्। पुस्तकमार्फत् जीवन र जगत बु‰न सकिने मान्यता राख्ने उनै आचार्य यस पटकको 'पुस्तक परिक्रमा'मा :  

तपाईंको हातमा अहिले कुन पुस्तक छ?

सौरभ र सुजित मैनालीको 'ब्रेकिङ नेपाल' तथा चाणक्यको नेपाली अनुवाद पढिरहेको छु। ब्रेकिङ नेपालमा विदेशी लेखकले नेपालको धर्म, संस्कृतिमाथि कसरी नियोजित रूपमा प्रहार गर्छन् र यहाँका राजनीतिक दलहरूलाई प्रभावमा पार्छन् भन्ने कुरा प्रष्टसँग उल्लेख गरिएकाले यो समसामयिक छ । त्यस्तै, चाणक्यमा राजनीतिक नैतिकलाई जोड दिइएको छ। यस्ता पुस्तक पढ्दा नैतिक धरातल बलियो बनाउन प्रेरणा मिल्छ। चाणक्यको ओरिजिनल स्वरूप मैले पहिले नै पढिसकेको थिएँ। आफैले पनि कतिपय पुस्तक अनुवाद गरेको छु। त्यसैले यसको नेपाली अनुवाद कस्तो छ भनेर पनि अध्ययन गरेको हुँ। यसको नेपाली अनुवाद पनि राम्रै लाग्यो। संविधान तथा कानुनसम्बन्धी पुस्तकहरू त नियमित रूपमै अध्ययन गरिरहन्छु।

यसअघि कुन पुस्तक पढ्नुभएको थियो?

यसअघि 'दि ब्रिटिस कन्स्टिट्युसन' र वाल्टर बेजहर्टको 'दि इङ्लिस कन्स्टिट्युसन' पढेको थिएँ। यी दुवै संविधान सम्बन्धी पुस्तक हुन्। 

ती पुस्तकका विशेषता के थिए?

संविधान सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासबारे लेखिएकाले दुवै पुस्तक मन पर्‍यो। 'दि ब्रिटिस कन्स्टिट्युसन' मा विगतदेखि आधुनिक बेलायतको संविधानलाई केलाउने काम गरिएको छ। त्यस्तै, दि इङ्लिस कन्स्टिट्युसनमा पनि बेलायतको संविधान, पार्लियामेन्ट र बेलायती राजतन्त्र तथा अमेरिकन सरकारबीचको भिन्नता उल्लेख छ। नेपाल पनि भर्खर संविधान कार्यान्वयनको अवस्था रहेकाले यी दुवै पुस्तक मलाई समसामयिक लागे।  

अब के पढ्ने योजना छ?

खप्तड स्वामीको 'विचार विज्ञान' र लैनसिंह वाङ्देलको 'विश्व कथासंग्रह' दोहोर्‍याएर पढ्दै छु। यस्ता किताबले जीवन र जगत बु‰ने शक्ति मिल्ने भएकाले जति दोहोर्‍याएर पढे पनि नयाँनयाँ ज्ञान प्राप्त हुन्छ।

नेपालीमा कस्तो पुस्तक लेखियोस् भन्ने लाग्छ?

नेपालमा वास्तविक खोजमूलक पुस्तक निकै कम छन्। काल्पनिक र प्रोपोगान्डा गर्ने किताबहरूको बिगबिगी छ। समाजमा सकारात्मक सन्देश दिने, यहाँको इतिहास, कला संस्कृतिका सकारात्मक पक्षको उजागर गर्ने किसिमका पुस्तक लेखिनुपर्छ। गहन विषयहरू समेटिएका पुस्तकको आवश्यकता छ। तर, बिक्री बढाउने प्रतिस्पर्धामा लाग्नाले गम्भीरखालका लेखनी प्रकाशकले मनै पराउँदैनन्। यो निकै संवेदनशील विषय हो। 

पढेकामध्ये सबैभन्दा मन परेको पुस्तक?

एउटा मात्र पुस्तक मन पर्‍यो भन्न गाह्रो छ। तर, अहिलेसम्म सबैभन्दा धेरै पटक दोहोर्‍याएर पढेको पुस्तक 'जीवन विज्ञान' नै हो। यो पुस्तक पहिलो पटक म कक्षा ७ मा अध्ययन गर्दा पढेको थिएँ। बाल्यकालदेखि नै यो पुस्तकबाट प्रभावित भएकाले अहिले पनि दोहोर्‍याएर पढिरहन्छु। यो पुस्तकले नैतिक पुँजी र चरित्रको कुरा गरेको छ। यद्यपि, यस किताबमा भाषागत तथा अन्य कतिपय कमीकमजोरी हुन सक्छन्। तर, यसले दिने शिक्षा र ज्ञान अमूल्य छ। त्यसैले पनि यो पुस्तक बढी नै मन पर्छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'लक्ष्मी निबन्धसंग्रह', गुरुप्रसाद मैनालीका कथा, सेक्सपियर तथा म्याक्सिम गोर्किका रचना पनि मन पर्छ।

नपढी नहुने पुस्तक?

मानिसअनुसार स्वभाव पनि फरक हुने भएकाले ठ्याक्कै यही पुस्तक पढ्नुपर्छ भन्न गाह्रो छ। तर, पुस्तक पढ्दा त्यसको नैतिक पुँजी, चरित्र, बौद्धिकताजस्ता विषयलाई केन्द्रमा राखिएका रचना पढ्दा सबैलाई हित गर्छ। म आफैले एउटा पुस्तक लेखेको छु। 'कानुन र राजनीति' शीर्षकको यो पुस्तक अध्ययन गर्दा नेपालको राजनीति र कानुन राम्रोसँग बु‰न सकिन्छ।

नेपाली लेखकका पुस्तक अन्य मुलुकमा किन नपढिएका?

यसका पछाडि दुई/तीनवटा कारण छन्। विदेशीले लेखेका स्तरीय हुने र नेपालीले लेखेका कम स्तरीय हुने भन्ने होइन। नेपालीले लेखेका पुस्तकहरू निकै स्तरीय पनि छन्। पहिलो कुरा, नेपालको बजार निकै सानो छ। त्यसमाथि प्रचारप्रसारको अभाव छ। बाहिरबाट नेपालमा पुस्तक ल्याउन जति सजिलो छ, नेपालका पुस्तक बाहिरी बजारमा पठाउन त्यत्तिकै अप्ठेरो रहेको प्रकाशकहरू नै बताँछन्। त्यस्तै, भाषा पनि एउटा कारण हो। नेपाली भाषामा लेखिएका पुस्तकहरू यही भाषाका जानकारले मात्रै अध्ययन गर्न सक्छन्। सबैभन्दा ठूलो दोष राज्यको हो। नेपालीमा लेखिएका लेख–रचना तथा पुस्तकको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने आवश्यकता नै ठान्दैन राज्य। यसले गर्दा नेपालका पुस्तक अन्य मुलुकमा नपढिएका हुन्।

पढ्न मन लागेर पनि नपाएको पुस्तक?

त्यस्तै कुनै पुस्तक छैन। मलाई पढ्न मन लागेको जुनसुकै पुस्तक जहाँबाट मगाएर भए पनि पढ्छु। त्यसैले पढ्न मन लागेर पढ्न नपाएको कुनै पुस्तक नै छैन।

घरमा कतिवटा पुस्तक छन्?

मेरो घर एउटा सानोतिनो पुस्तकालय नै हो। अहिले पनि मसँग दसौँ हजार पुस्तक छन्। म पुस्तक संकलन मात्र गर्दिनँ, त्यसको अध्ययन पनि गर्छु। कतिपय पुस्तक सबै अध्ययन गरिन्छ, कतिपय आवश्यकताअनुसार र प्रसंगअनुसार पनि पढिन्छ। विशेषगरी कानुन सम्बन्धी पुस्तक प्रसंग र आवश्यकताअनुसार पढ्नुपर्ने हुन्छ। 

प्रस्तुति :  वसन्त खड्का

प्रकाशित: २ वैशाख २०७४ ०५:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App