७ वैशाख २०८१ शुक्रबार
अन्य

मूर्तिलाई बन्दी बनाउनू

एक जना कपडा व्यापारी ५० थान कपडा लिएर अर्कै नगरमा बेच्न गइरहेको थियो। बाटोमा थकाइ मार्न ऊ रुखमुनि बस्यो। त्यही रुखको छायाँमा भगवान बुद्धको मूर्ति पनि थियो। त्यही मूर्तिछेउमा थकाइ मार्दामार्दै व्यापारीलाई कुन बेला निद्रा लाग्यो, पत्तै भएन।

केही समयपछि व्यापारीको निद्रा खुल्यो। हेर्दा त उसले ल्याएको कपडाका थान चोरिएको थियो। आकुलव्याकुल हुँदै उसले नजिकै रहेको प्रहरी कार्यालयमा गएर चोरीको रिपोर्ट दर्ता गरायो।

रिपोर्ट अदालतसम्म पुग्यो। अदालतमा यो मुद्दा हेरिरहेका ओओका नामक न्यायाधीशले व्यापारीको कपडाका थान अरु कसैले नभई बुद्धको मूर्तिले नै चोरेको घोषणा गर्‍यो। आफ्नो निष्कर्ष निकाल्दै न्यायाधीश ओओकाले भने, 'रुखको छायाँमा बसेको बुद्ध मूर्तिले यो चोरी गरेको हो। उसको काम मानिस आउजाउ गरेको कुरा ख्याल राख्ने हो, तर मूर्तिले आफ्नो कर्तव्य पालनामा लापरबाही गरेको ठहरिएको छ। म बुद्धको मूर्तिलाई बन्दी बनाउने आदेश दिन्छु।'

अदालतले मूर्तिलाई पक्राउ गर्ने आदेश दिएको सुनेर चार गाउँमा हल्लीखल्ली भयो। मानिसहरू उरुङ लागेर मूर्ति भएका ठाउँमा पुगे। प्रहरीले बुद्धको मूर्तिलाई बन्दी बनायो र अदालतमा ल्यायो। यसअघि कहिल्यै नदेखिएको अनौठो आदेश सुनेर मानिसलाई पनि उत्सुकता जाग्यो र भीड अदालतसम्मै पुग्यो। न्यायाधीशले थप कस्तो आदेश दिने हुन् भन्ने जान्न सर्वसाधारण चाहन्थे।

न्यायाधीश ओओका आफ्नो कुर्सीमा बस्दा अदालत परिसरमा कोलाहल भइरहेको थियो। मानिसहरू अब कस्तो आदेश हुने हो भन्दै हाँस्तै गफ गरिरहेका थिए। यस्तो हल्ला सुनेर ओओका रिसाएर भने, 'अदालतमा यस्तो हल्ला गर्नु, हाँस्नु अदालतलाई अनादर गर्नु हो। यसका लागि सबैलई दण्ड दिइनेछ।'

मानिसहरूले आफ्नो कृत्यप्रति माफी माग्न थाले। यही मौकामा ओओकाले भने, 'यो कृत्यप्रति म तपाईंहरू सबैलाई दण्ड दिन्छु, तर दण्डबाट बच्ने उपाय पनि छ। भोलि तपाईंहरू सबैले आआफ्नो घरबाट थानका कपडा लिएर आउनुस्। जसले थानका कपडा लिएर आउँदैन, उसलाई जेलमा हालिनेछ।'

भोलिपल्ट सबैले आफूसँग भएका थानका कपडा लिएर आए। थानका कपडा नहुनेहरू आफूलाई के सजाय हुने हो भन्दै डराएर लुगलुग काँप्दै आइपुगे।

कपडाका थानलाई न्यायाधीशको अघिल्तिर राखियो। ती कपडामध्ये एउटा कपडाको थान व्यापारीले चिनिहाल्यो। थानको कपडा ल्याउने व्यक्ति चोर हो भनेर बु‰न समय लागेन। प्रहरीले मुख्य चोरलाई पक्राउ गर्‍यो। अदालतका न्यायाधीश ओओकाले मूर्तिलाई रिहा गर्ने आदेश दिए भने कपडाको थानका मुख्य व्यापारीलाई चोरिएको माल फिर्ता दिलाए।

प्रकाशित: २ वैशाख २०७४ ०५:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App