८ वैशाख २०८१ शनिबार
अर्थ

खेतीपातीबाट मासिक लाख कमाइ

पर्वत, नाङलिवाङ–९, फर्सेको आफ्नै फार्ममा तरकारी गोडमेल गर्दै राजन सापकोटा । तस्बिर: दिलीप पौडेल

पर्वत – यहाँका एक किसानले तरकारी खेती र पशुपालनबाट मासिक एक लाख रुपैयाँ कमाउने गरेका छन् । पर्वत, नाङलिवाङ–९, फर्सेका राजन सापकोटा तरकारी र दूध बेचेर आम्दानी गरेका हुन् ।

उनले व्यक्तिगत रुपमा सापकोटा पशुपालन तथा कृषि फार्म र तीनजना मिलेर धौलागिरि व्यावसायिक कृषि तथा पशुपालन फार्म सञ्चालनमा ल्याएपछि आर्थिक रुपमा फड्को मारेका हुन् । 

तरकारी खेतीसहित गाईभैंसी र माछा समेत पालेका छन् । उनले तरकारी खेतीबाट आएको आम्दानीले बागलुङ बजारमा करिब ६० लाख रुपैयाँको घडेरी जोडे । एसएलसीसम्मको शिक्षा लिएका सापकोटालाई कृषि पेसामा लागेकामा कुनै पछुतो छैन । ‘पढेलेखेका साथीहरु यहाँ रोजगारी नपाएर बिदेसिएका छन्,’ सापकोटाले भने, ‘मैले खर्च कटाएर मासिक एक लाख रुपैयाँ आफ्नै कामबाट कमाउँछु ।’

यसले बालबच्चालाई बोर्डिङमा पढाउन सजिलो भएको उनले बताए । ‘छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिएको छु,’ उनले भने, ‘धेरै नपढेकोमा पनि कुनै पछुतो छैन ।’

व्यक्तिगत फार्ममा करिब ३० लाख र सामूहिकमा २५ लाख रुपैयाँ लगानी गरेको उनले बताए । सापकोटाले १३ रोपनीमा व्यक्तिगत फार्म चलाएका उनको १८ रोपनीको सामूहिक फार्ममा सेयर छ । सिमी, काँक्रा, भेन्टा, खुर्सानी, बन्दा, बोडीलगायत विभिन्न जातका तरकारी लगाएका छन् ।

मौसमीभन्दा बेमौसमी तरकारी फलाउने गरेको उनले बताए । ‘बेमौसममा उत्पादन गर्दा धेरै मूल्य पाइन्छ,’ उनले भने, ‘सकेसम्म बेमौसमी तरकारी उत्पादन गर्छु ।’ त्यहाँ उत्पादन गरेको तरकारी बागलुङ, कुश्मा, बेनी, मुस्ताङ, पोखराको बजारमा बिक्री हुने गरेको छ । सापकोटाले उत्पादन गरेको तरकारी लैजान व्यापारी फार्ममै आउने गरेका छन् । दूध बागलुङ बजारमा बिक्री गर्छन् ।

कुश्मा–बेनी सडक खण्डको मालढुंगा नजिकै फर्सेमा खेती गरिरहेका सापकोटाले जिल्लामै नमुना किसानको परिचय बनाएका छन् ।  

सापकोटाले राइस मिल समेत सञ्चालन गरेका छन् । उनले स्थानीय पाँचजनालाई रोजगारी दिएका छन् । जग्गा लिजमा लिएर खेती गरेका हुन् । 

सरकारले बाँझो जग्गामा खेती गर्न नीति ल्याए पनि यसबारे उनी अनभिज्ञ छन् । ‘हामी जस्ता किसानलाई खाली जग्गा उपलब्ध गराए हुन्थ्यो,’ सापकोटाले भने, ‘सरकारले किसानका समस्यालाई प्राथमिकतामा नराख्नाले अपेक्षित उपलब्धि हुन सकेन ।’

उनको फार्म हेर्नको लागि विभिन्न जिल्लाबाट किसान आउने गरेका छन् । सापकोटासँग धौलागिरि व्यावसायिक कृषि तथा पशुपालन फार्ममा तुलसीराम कँडेल र टिकाराम सापकोटाले साझदारीमा तरकारी खेती गरिरहेका छन् । 

कृषिको सम्भावना अझै बढेर गएको उनले बताए । ‘मैले आफ्ना छोराछोरीलाई पनि खेती गर्न सिकाएको छु,’ उनले भने, ‘सरकारले कृषि शिक्षालाई अनिवार्य गर्नुपर्छ ।’

परम्परागत खेती गर्दै आएका सापकोटालाई पछिल्लो समय कृषिका विभिन्न निकायले सघाएपछि व्यवसायीकरण गरेका हुन् । ‘सुरुमा सानो लगानीमा खेती गरिरहेको थिएँ,’ उनले भने, ‘प्याक्ट लगायतबाट सहयोग पाएपछि विस्तार गरें ।’

सरकारले किसानले उत्पादन गरेको तरकारीको बजार सुनिश्चित गर्नुपर्ने उनको माग छ । कहिलकाहीँ निकै सस्तो मूल्यमा तरकारी बेच्नुपर्दा थोरै फाइदा हुने गरेको बताए । नेपालमा उत्पादन गरेको तरकारी विदेश निर्यात गर्न सरकारी पहल हुनुपर्ने सापकोटाको माग छ । ‘यहाँ बिक्री नभए विदेश निर्यात गर्न सक्नुपर्छ,’ उनले भने, ‘बिक्री हुनेमा ढुक्क भए उत्पादन बढाउन सकिन्छ ।’

सापकोटालाई जिल्ला कृषि र व्यावसायिक कृषि आयोजनाले सघाएको छ । करिब १० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराएको आयोजना प्रमुख गोविन्दप्रसाद शर्माले बताए । ‘किसानलाई व्यावसायिक बनाउन सहयोग गरेका हौं,’ शर्माले भने, ‘अनुदान सदुपयोग गरी उत्पादन बढाएका छन् ।’

एउटै किसानले एकीकृत रुपमा कृषि पेसा अपनाएकाले सफल भएको कृषि सूचना तथा सञ्चार केन्द्रका प्रवक्ता नारायण न्यौपानेले बताए । ‘तरकारीसँगै पशुपलान गर्दा किसानलाई काम पनि पुग्छ,’ न्यौपानेले भने, ‘अन्य किसानले पनि अनुसरण गरुन् भनेर पूर्वाधार निर्माणमा सघाएका हौं ।’

सापकोटाले गरेको मेहनत निकै प्रशंसनीय रहेको जिल्ला कृषि विकास कार्यालय, पर्वतका वरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताए । ‘व्यावसायिक तरकारी खेती र पशुपालन गर्ने सापकोटा जिल्लाकै नमुना किसान हुन्,’ रेग्मीले भने, ‘सापकोटाले कृषिको सम्भावनालई राम्रोसँग उजागर गरेका छन् ।’

नमुना फार्म भएकाले विभिन्न ठाउँबाट किसान हेर्न आउने गरेका छन् । आउने किसानलाई प्रविधि र सीप सिकाउने गरेको अर्का किसान टिकाराम सापकोटाले बताए । ‘उत्पादन बढाउनको लागि विभिन्न ठाउँमा गएर तालिम दिने गरेको छु,’ उनले भने, ‘अहिले खेती गर्ने किसानको संख्या पनि बढेको छ ।’

 

 

प्रकाशित: ६ वैशाख २०७४ ०३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App