७ वैशाख २०८१ शुक्रबार
अर्थ

विमानस्थलमा राति अबेरसम्म उडान अनुमति दिन निर्देशन

काठमाडौं – सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग सुधारको काम सुरु नहुन्जेल वायुसेवा कम्पनीलाई राति अबेरसम्म पनि उडान गर्ने व्यवस्था मिलाउन सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दिलनाथ गिरीले मंगलबार त्रिभुवन विमानस्थल निरीक्षण गरेपछि उक्त निर्देशन दिएका हुन् । विमानस्थल चौबीसै घन्टा सञ्चालन गर्न प्रधानमन्त्रीबाट समेत निर्देशन आएको र धावनमार्ग सुधारको काम रातिमात्र हुन भएका कारण काम सुरु हुनुअघि अबेरसम्म उडान व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ । 

‘धावनमार्ग सुधारको काम गर्न ग्लोबल टेन्डर आह्वान भइसकेको छ,’ मन्त्री गिरीले भने, ‘त्यही भएर यो काम सुरु नहुन्जेल वायुसेवा कम्पनीहरूले मागेअनुसार रात्रिकालीन समय बढाउने व्यवस्था मिलाउनुस्।’

विमानस्थल सरसफाइ अन्तर्राष्ट्रिय स्तरको बनाउन विमानस्थल व्यवस्थापनले आवश्यक व्यवस्था मिलाउने र त्यसका लागि आवश्यक उपकरण तथा अन्य स्रोत जोहो गर्न मन्त्री गिरीले विमानस्थल सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिए । 

त्यसैगरी विमानस्थलबाट आवतजावत गर्ने यात्रुको सहज आवागमन तथा सुविधाका लागि आवश्यकताअनुसार सहयोग गर्न नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबाट स्वयंसेवक परिचालन गर्न प्रतिष्ठान, नेपाल वायुसेवा निगम र विमानस्थल नागरिक उड्डयन कार्यालयलाई समन्वयात्मक व्यवस्था मिलाउन पनि निर्देशन दिए । 

विमानस्थलले भाडामा लगाएका पसल–कबल सञ्चालन सम्झौताका सर्तअनुसार गराउन, नियमित अनुगमन गर्न र सर्त पालना नगरेको पाइए कारबाही गर्न, विमानस्थलमा राखिएका होर्डिङ बोर्ड हटाई डिजिटल डिस्प्लेमार्फत नेपालको पर्यटन, संस्कृति तथा प्राकृतिक सम्पदाको प्रचार गर्न तथा यात्रुलाई आगमन भिसा शुल्क बुझाउने काम सहज बनाइदिन पनि उनले निर्देशन दिए । 

त्यसैगरी मन्त्री गिरीले त्रिभुवन विमानस्थलबाट आन्तरिक वायुसेवा कम्पनीका आधार काठमाडौं बाहिर राखिए पनि कम्पनीले रात्रि पार्किङ गरी उडान सञ्चालन गरेको भन्दै स्वीकृत आधार विमानस्थलअनुसार रात्रि पार्किङ व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।
 
आन्तरिक जहाज पार्किङ अत्यन्त साँघुरो भएका कारण उडान सुरक्षामा असर परेको र धावनमार्गको पूर्वी भेगमा रहेको हेलिप्याडलाई दक्षिणपट्टि सारेर त्यहाँ आन्तरिक पार्किङको व्यवस्था मिलाउन, दिउँसोको एयर ट्राफिक जाम कम गर्न काभ्रे ठूलीचौरमा आन्तरिक विमानस्थल निर्माण गर्न तुरुन्त विस्तृत सम्भाव्यता अध्ययन गराउन, बिहान र बेलुकीको समयमा आउने तथा एउटा निश्चित समय अन्तरालमा मात्र आगमन हुने गरी उडान तालिका मिलाउन पनि उनले निर्देशन दिए । 

त्यसैगरी मन्त्री गिरीले विमानस्थल ट्याक्सी अव्यवस्थित र यात्रुमैत्री  नभएको भन्दै गोल्डेन गेट नजिकै निर्माणाधीन बहुतले भवनमा पार्किङ व्यवस्था मिलाउन तथा विमानस्थल प्रवेश र बाहिरिने गेट फरक बनाउन पनि निर्देशन दिएका थिए । 

प्रकाशित: ६ वैशाख २०७४ ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App