८ वैशाख २०८१ शनिबार
अर्थ

दिक्तेलमा खुल्यो पहिलाे पेट्रोल पम्प

दिक्तेलमा पेट्रोल पम्प उद्घाटन गर्दै सांसदद्वय विशाल भट्टराई (बायाँ) र पिके राई (दायाँ)। तस्बिरः दमन राई

खोटाङ– खोटाङ सदरमुकाम दिक्तेलमा पहिलो पेट्रोल पम्प खुलेको छ। स्थानीय व्यवसायी ध्रुव श्रेष्ठ र महेन्द्र राईको संयुक्त लगानीमा रुपाकोट मझुवागढी नगरपालिका–६ बाम्राङ रमितेडाँडामा नेपाल आयल निगमको आधिकारिक विक्रेताका रुपमा पेट्रोल पम्प खुलेको हो।

महिना दिन अघिदेखि नै सेवा सुरु गरेको डिजेल र पेट्रोल पम्प बिहीबार बिहान सांसदहरु विशाल भट्टराई र पिके राईले उदघाटन गरेका हुन्। करिब २ करोडको लगानीमा चौबिसै घण्टा खुला रहने गरी पेट्रोल पम्प सञ्चालनमा ल्याइएको व्यवसायी श्रेष्ठले बताए। जिल्लामा यातायात सेवा सुरु भएको झण्डै १० वर्षपछि मात्र आयल निगमको आधिकारिक पेट्रोल पम्प खुलेको हो। जिल्लामै पेट्रोल पम्प खुलेपछि सस्तो मूल्यामै पेट्रोल र डिजेल किन्न पाइने भएको छ।

यसअघि ठूलो परिमाणको पेट्रोल वा डिजेल खरिद गर्न शहरमा पुग्नुपर्ने बाध्यता थियो। पेट्रोल पम्पले दिक्तेलमा सञ्चालन हुँदैआएको पेट्रोल र डिजेलको खुद्रा पसललाई विस्थापित गरेको छ। पेट्रोलपम्प अभावमा जिल्लाका उपभोक्ता ड्रम तथा बोत्तलबाट बिक्री हुँदैआएको इन्धन उपयोग गर्न बाध्य थिए। पेट्रोल र डिजेल सहजरुपमै उपलव्ध हुन थालेपछि यातायातका सवारी साधनको भाडामा समेत कमी आउने अपेक्षा गरिएको छ। आयल निगमको पेट्रोल पम्प सञ्चालनमा आएपछि डिजेल र पेट्रोलको कालोबजारी रोकिने श्रेष्ठले दाबी गरे।

‘इन्धन अभाव देखाउँदै सडक, पुल लगायतका भौतिक संरचनाको निर्माणमा ढिलासुस्तीको बाहनावाजी गर्ने ठेकेदारलाई समेत पेट्रोल पम्पले अप्ठ्यारो पार्ने भएको छ,’ उनले भने।  

खोटाङमा पुलको अभावमा पहिलोपल्ट २०६४ साल पुस–२० गते मनाङ एयरको हेलीकोप्टरमार्फत बा १ ख १४२० र १४२२ नम्बरको दुई वटा आइसर ट्रक भित्र्याएर यातायात सेवाको सुरुवात गरिएको थियो ।

 

प्रकाशित: ७ वैशाख २०७४ ०७:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App