coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

गिनिज रेकर्डका लागि तयार ‘जालो'

काठमाडौं- गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउने उद्देश्यसहित निर्माण भएको फिल्म ‘जालो'ले पोस्टर तथा ट्रेलर सार्वजनिक गरेको छ। ‘वन सट' मा खिचिएको फिल्मको बिहीबार दरबारमार्गस्थित क्युज हलमा पोस्टर तथा ट्रेलर सार्वजनिक गरिएको हो। निर्माण समूहले फिल्म गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता प्रक्रियामा रहेको जानकारी गरायो।

 निर्देशक अराज केशव गिरी र निर्माता मोहित मुनालले फिल्म ‘जालो' र ‘जालो रिटर्न्स'को घोषणा गर्दा धेरै फिल्मकर्मीले ‘असम्भव' भन्दै उनीहरुको कुरा हावामा उडाएका थिए।  क्यामरा अन गरेदेखि बन्द नगरुञ्जेलसम्म ‘नो रिटेक' शैलीमा एक सटमै फिल्म खिचिने भनिएपछि फिल्मकै लागि अनुबन्धित कलाकारदेखि प्राविधिकसम्मलाई कसरी काम गर्ने भन्नेमा अन्योल थियो।

फिल्म छायांकनमा जानुअघि ६ महिनाको तयारी र १९ दिनको कार्यशालापछि २० औं दिनमा सुटिङका लागि फ्लोरमा पुग्दासम्म कस्तो उत्पादन बन्ने हो कसैलाई पत्तो थिएन। ‘तर मचाहिँ फिल्म राम्रो बन्छ भन्नेमा निश्चिन्त थिएँ। मेरै सोचमा फिल्मको कथा बनेकाले पनि फिल्म बन्छ भन्नेमा म विश्वस्त थिएँ,' फिल्मको ट्रेलर र फष्टलुक सार्वजनिक गर्न बिहीबार राजधानीमा आयोजित कार्यक्रममा निर्देशक अराजले भने, ‘कतिपयले हामीलाई बढी पैसा भएपछि त्यसलाई सक्नका लागि फिल्म बनाउन लागेको भन्दै आलोचना पनि गरे। तर फिल्म युनिटका प्रतिबद्ध सदस्यहरु काम गरेर देखाए।'

अराजले दिएको जानकारी अनुसार फिल्मको पोष्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको छ र फिल्मको प्रिमियर सोको फुटेज गिनिजमा पुर्‍याएपछि गिनिज दर्ताको काम टुंगिन्छ। ‘तीन घन्टा ५३ मिनेटमा एकसटमै फिल्म खिच्ने काम सकेका छौं,' अराजले भने, ‘हामीले काममा एउटा सफलता पाइसकेका छौं। अब अर्को सफलता गिनिज बुकले पक्कै दिनेछ।' मंसिर १५ मा फिल्मको छायांकन सकिँदा अराजले पुस ३ गते आफ्ना पितालाई गुमाएका थिए।

जेठ १९ मा रिलिज हुने फिल्मका निर्माता मोहितले आफूहरुले नेपाली फिल्म क्षेत्रमा नयाँ इतिहास रचेको दाबी गरे। ‘हामीले नयाँ इतिहास रचेका छौं। फिल्म क्षेत्रमा नयाँ रेकर्ड दर्ता गराउन चाहन्छौं ' उनले भने।

फिल्मका कलाकार नीर शाहले पहिलोपटक निर्देशक अराज आफूलाई ‘जालो'को प्रस्ताव लिएर आउँदा विश्वस्त हुन नसकेको बताए। ‘यस्तो किसिमले पनि कहिँ फिल्म बन्छ त भन्ने शंका थियोे तर फिल्मको कथा राम्रो लागेकाले फिल्मसँग आबद्ध हुन सहमत भएँ, ' नीरले भने, ‘यो फिल्ममा काम गर्नु मेरा लागि पनि चुनौतिपूर्ण नै थियो।'

निर्देशक गिरीले एकैपटक ‘जालो' र ‘जालो रिटर्न्स' गरी दुईवटा फिल्म खिचेको जानकारी गराए।

कार्यक्रममा कलाकारहरु रविन्द्र खड्का, अनुपविक्रम शाही, रेमनदास श्रेष्ठ, निराजन प्रधान र मुना गौचनले फिल्ममा काम गर्दाको अनुभव सुनाएका थिए।

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले फिल्म जेठ १९ मा रिलिज हुने निश्चित भइसकेकाले उक्त दिन ‘जालो' लाई मात्र एकल रुपमा प्रदर्शन गराउने वातावरण बनाउन बोर्ड सक्रिय हुने आश्वासन दिए। ‘यो फिल्मलाई बोर्डले विशेष प्राथमिकतामा राख्नेछ,' फिल्म निर्माणको शैलीप्रति राईले व्यंग्य गरे, ‘अहिले एसएलसी नै पास नगरिकन क्याम्पस पढ्ने शैली फिल्म क्षेत्रमा देखेको छु। त्यो अवस्था आउन नदिनका लागि फिल्ममेकरले साना–साना राम्रा किसिमका फिल्म पहिला बनाउनु पर्छ।' जेठ १९ मा ‘रातो घर', ‘जोनी जेन्टलमेन' र ‘तारेभीर'पनि प्रदर्शनमा आउँदैछन्। ‘जालो रिटर्न्स' भने अर्को साल मात्र रिलिज हुनेछ।

अराज केशव फिल्मस् र रियल टाइम क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्ममा मेनुका प्रधान, लक्ष्मी गिरी, प्रकाश श्रेष्ठ, सम्रान्त थापालगायतका कलाकारको अभिनय छ।

धनी गिरी कार्यकारी निर्माता रहेको फिल्ममा मोहित मुनाल, बासुदेव मुनाल, हरि लम्साल, अराज केशवको संगीत र हरि घले लामाको छायांकन छ।

प्रकाशित: ८ वैशाख २०७४ ०३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App