८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भ्रष्टचार मुद्दामा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई राहत

इस्लामाबाद- पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टचार मुद्दामा पर्याप्त प्रमाण नभेटिएकाले पदबाट हटाउन नपर्ने आदेश जारी गरेको छ। अदालतले प्रधानमन्त्री सरिफ र उनको परिवारले पाकिस्तानबाट विदेशी बैंकमा पैसा राखेको भन्ने बारेमा भने अनुसन्धान अघि बढाउन आदेश दिएको छ।

प्रधानमन्त्री नवाज सरिफका तीन सन्तानले विदेशी बैंकमा पैसा पठाएर विदेशमा व्यापारिक गतिविधि अगाडि बढाएको विवरण सन् २०१५ मा पानामा पेपरमा सार्वजनिक भएपछि सरिफविरुद्ध प्रश्न उठेको थियो। सरिफ र उनको परिवारले भने पानामा पेपरमा आएजस्तो आरोप अस्वीकार गर्दै आएका छन्। उनीहरुले आफूहरुमाथिको आरोप राजनीति उद्देश्यले गरिएको बताउँदै आएका छन्। सरिफको मुद्दालाई लिएर पाकिस्तानको राजनीतिमा पछिल्लो महिनाहरुमा व्यापक बहसका विषय बनिरहेका छन् र कतिपयले यस मुद्दालाई लिएर उनको राजनीति जीवनको भविष्यसँग पनि हेरेको बताइएको छ।

सरिफको मुद्दाको सुनुवाईका दिन बिहीबार पाकिस्तानको राजधानी इस्लामाबादस्थित अदालतमा करिब एक हजार पाँच सय प्रहरी खटाइएको थियो। उनको राजीनामा माग्दै प्रदर्शनकारीले नारा लगाएको समाचार एजेन्सी रोयटर्सले जानकारी दिएको छ। सम्भावित फैसलालाई लिएर पाकिस्तानमा बिहीबार सेयर बजार ह्वात्तै बढेको थियो।

प्रधानमन्त्री सरिफले भ्रष्टचार मुद्दामा तत्काललाई सफाई पाएपनि सर्वोच्च अदालतले उनको विदेशमा रहेको भनिएको सम्पत्तिको अनुसन्धान गर्न भने अनुमति दिएको छ। यसै विषयमा गत वर्ष विपक्षी दलका नेता इमरान खानले सडक आन्दोलनको चेतावनी दिएका थिए। अनुसन्धान सरिफको विदेशमा रहेको कम्पनी प्रयोग गरेर बेलायतको राजधानी लन्डनमा सम्पत्ति किनेको विषयमा पनि केन्द्रीत हुने बताइएको छ।

पाकिस्तानको राजनीतिमा भावी नेतृत्वको रुपमा लिइएकी सरिफका छोरी मार्यम, छोराहरु हसन र हुसेनलाई पनि विदेशमा सम्पत्ति थुपारेको र लगानी गरेको आरोप लगाइएको छ। प्रधानमन्त्री सरिफले भने सम्पत्ति कानुनी रुपमा नै आर्जन गरिएको बताउँदै आएका छन्। तर उनका आलोचकहरुले भने सरिफको विदेशस्थित कम्पनीहरु गैर कानुनी रुपमा आर्जन गरिएको सम्पत्ति शुद्धिकरण गर्न र करबाट बच्न प्रयोग गरिएको आरोप लगाउँदै आएका छन्।

सर्वोच्च अदालतका पाँच न्यायाधीशको संयुक्त इजलाश सरिफको मुद्दामा विभाजित भएको थियो। बिहीबार भएको फैसलामा दुई न्यायाधीशले प्रधानमन्त्री सरिफको विपक्षमा मत जाहेर गरेका थिए भने तीन न्यायाधीशले थप अनुसन्धानको आदेश दिएका थिए।

प्रधानमन्त्री सरिफको पार्टी ‘द पाकिस्तान मुस्लिम लिग–नवाज'ले निर्णयको स्वागत गरेको छ। उनकी छोरी मारियमले ट्विट गर्दै निर्णयको तारिफ एंव खुशी अल्लाहमा समर्पण गरेको लेखेकी छिन्।

सर्वोच्च अदालतको बिहीबारको निर्णयलाई प्रधानमन्त्री सरिफ समर्थक र उनका आलोचक दुवै पक्षले जित भएको दावी गरिरहेको बिबिसीले उल्लेख गरेको छ। प्रधानमन्त्री अयोग्य हुन्छन् की भन्ने डर उनी स्वयं र उनको दल दुवैलाई थियो जुन भएन। त्यसैगरी उनलाई अदालतले पूर्ण सफाई दिएन र थप अनुसन्धान गर्ने आदेश दियो जुन विपक्षीको लागि जितको अनुभूति भएको बिबिसीले जनाएको छ।

प्रधानमन्त्री सरिफका विपक्षीले भने पाँचमध्ये दुई न्यायाधीशले नवाज सरिफ प्रधानमन्त्री पदमा अयोग्य भएको सिफारिस गरेको र अन्य तीन न्यायाधीशले थप अनुसन्धान गर्न आदेश दिनु नै आफूहरुको मुद्दाको जित भएको बताएका छन्। प्रधानमन्त्री सरिफको टिमले भने जटिल प्रक्रियाको अनुसन्धानमा लामो समय लाग्ने भएकाले कुनैपनि सुझाव आउनसक्ने सोचेको र यही समयमा उनीहरुले नयाँ मतदाता लक्षित नीति ल्याएर यस मुद्दालाई ओझेल पार्नसक्ने बताइएको छ।

प्रधानमन्त्री नवाज सरिफको भ्रष्टचार मुद्दाको नेतृत्व गरिरहेको इमरान खान नेतृत्वको पार्टी पिटिआईले अर्को वर्ष हुने आम निर्वाचनका बेलासम्म यही विषयलाई अगाडि बढाउनसक्ने बिबिसीले अनुमान गरेको छ। अबको अनुसन्धानले सरिफको परिवारले कसरी कतारसम्म रकम सारे भन्ने विषयमा केन्द्रित रहने छ।

गत नोभेम्बरमा प्रधानमन्त्री सरिफ र उनकी छोरीले सर्वोच्च अदालतमा उनीहरुको लन्डनको सम्पत्ति कतारको सत्तामा बसिरहेका परिवारका सदस्यको कम्पनीमा गरेको लगानीको आम्दानीले किनेको बताएका थिए। तर विपक्षीले भने उनीहरुको भनाई झुठो भएको बताएका थिए।

पानामा पेपर्सले पानामा मोसाक फोनसेका आधारित ‘ल फर्म'बाट एक करोड दश लाख गोप्य सूचना चुहाएको थियो। जसमा विभिन्न देशका राजनीतिकर्मी, व्यापारिक व्यक्तित्व तथा कूलीन धनाढ्यका विदेशमा रहेको आर्थिक गतिविधि सार्वजनिक गरिएको थियो। विश्वमा कानुनी रुपमा कर तिरेर विदेशी कम्पनीमा लगानी गर्न पाइने व्यवस्था भएपनि पानामा पेपर्सले सार्वजनिक गरेको विषय भने कर छली गरेर गैर कानूनी ढंगबाट विदेशमा लगानी र पैसा थुपार्नेको विवरण हो।

पाकिस्तानका विश्लेषकहरुले अदालतको फैसलालाई लिएर तुरुन्तै प्रतिक्रिया दिएका छन्। उनीहरुले सरिफलाई तत्काल खुशी नहुन सुझाव दिंदै आगामी अनुसन्धानको नतिजाले उनलाई राजनीतिक हानी समेत गराउनसक्ने बताएको पाकिस्तानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

सतारुढ पार्टीसँग खुशी हुनुपर्ने केही आधार नरहेको एआरवाई न्युजका कासिब अब्बासीको भनाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। त्यसैगरी आज न्युजका मुनिज जाहान्गिरले मुद्दा अनुसन्धानको निष्कर्ष नआएसम्म समाप्त नहुने बताएको बिबिसीले जनाएको छ। त्यसैगरी बोल मिडिया ग्रुप फेसल अजिज खानले अदालतले थप अनुसन्धान गर्न भन्नु अपराध प्रमाणित गर्न हुने भएकाले सरिफ वास्तवमै समस्यामा परेको बताएका छन्।

प्रकाशित: ८ वैशाख २०७४ ०५:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App