१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय स्तरको स्केट पार्क बन्दै

पोखरा- पोखरा रंगशालामा स्केट पार्क (स्केटिङ खेलस्थल) निर्माण कार्य सुरु गरिएको छ। अन्तर्राष्ट्रिय स्केटिङ संघको आह्वान र क्षेत्रीय खेलकुद विकास समितिको सहकार्यमा पार्कलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन लागिएको हो।

 रंगशालाको ८ सय वर्गमिटर क्षेत्रफलमा पार्क निर्माण हुने भने पनि अहिले ५ सय वर्गमिटरमा हुन लागेको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए। बाँकी ३ सय वर्गमिटरमा प्यारापिट निर्माण हुने उनले बताए। ‘१२ देशका विदेशी कामदारले दैनिक ८ घण्टाका दरले काम गरेका  छन्,' पौडेलले भने, ‘ स्केट पार्क निर्माणसँगै प्रशिक्षणसमेत गराउने जिम्मेवारी पनि विदेशीले नै लिएका छन्।'

स्केटिङ सेन्टर स्थापनाको लागि अमेरिका, बेलायत, डेनमार्क, अस्ट्रेलिया, बेल्जियम, जापान, दक्षिण कोरिया, क्यानडा, फ्रान्स, जर्मनीलगायतका प्राविधिक आएका छन्। अन्तर्राष्ट्रिय स्केटिङ संघका अप्रेसन म्यानेजर जोन चोकोन्सको नेतृत्वमा टोली पोखरा आएको हो।

पोखरामा स्केटको व्यावसायिक विकास भएको एक दशक भएको छ। तर खेल्न थालेको भने दुई दशकभन्दा बढी भइसक्यो। पौडेलले ड्राइभिङ प्रशिक्षण हटेसँगै रंगशाला खेलकुदमय बनेको बताए। त्यही जमिनलाई सदुपयोग गर्दै स्केटिङ खेलस्थल निर्माणमा जुटेको सुनाए। ‘३० हजार डलरको लागतमा काम सुरु गरेका छौं,' उनले भने, ‘एक महिनाभित्र काम सम्पन्न गर्ने तयारी भइरहेको छ।' टोकियोमा हुने २०–२० ओलम्पिक गेम स्केटिङमा नेपालको तर्फबाट प्रतिनिधि खटाउने तयारी पोखराबाटै हुने उनले जनाए।

नेपाल स्केट क्लबका अध्यक्ष रामचन्› कोइरालाको संयोजकत्वमा विदेशी श्रमशक्तिले रंगशालाभित्र तीन साताभित्र सक्ने गरी निर्माण कार्य गरिरहेका छन्। कोइरालाका अनुसार रंगशालाभित्र बन्ने स्केट पार्क अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै निर्माण गरिनेछ। ६ महिनाअघि विदेशी टोली लेकसाइड आउँदा स्केटिङ निर्माणमा लाग्ने तयारी भएको उनले सुनाए। स्केटिङ लेकसाइडमा पनि रहेको उनले उल्लेख गरे। उनले अबको १० दिनभित्रमा काम सक्ने गरी तयारीमा जुटेको बताए। ‘काम गरेको ६ दिन जति भयो,' उनले भने, ‘छिट्टै सक्ने तयारीका साथ काम भएको छ।'

प्रकाशित: ८ वैशाख २०७४ ०६:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App