coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

खेलाडीलाई शिरीषको छात्रवृत्ति

काठमाडौं- ओलम्पियन पौडीबाज शिरीष गुरुङको नाममा स्थापित शिरीष फाउन्डेसनले यसै वर्षबाट प्रतिभावान् युवा खेलाडीलाई खेलकुद छात्रवृत्ति प्रदान गर्ने भएको छ। नेपालमा संस्थागत रूपमा खेलिने ओलम्पिक खेलमध्येबाट प्रतिभा पहिचान गरी १० देखि १४ वर्ष उमेरसमूहका खेलाडीलाई दीर्घकालीन रूपमा सुविधासम्पन्न प्रशिक्षणको व्यवस्था मिलाइने फाउन्डेसनद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ। पहिलो चरणमा छात्रवृत्ति प्रदान गरिने खेल र खेलाडीबारे फाउन्डेसनको उद्घाटनका अवसरमा घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ।

खेलाडी छनोटका लागि फाउन्डेसनले बिहीबार १५ खेलका राष्ट्रिय संघ अध्यक्ष र मुख्य प्रशिक्षकसँग छुट्टाछुट्टै छलफल गरेको थियो। संघ, प्रशिक्षक र अन्य विज्ञहरूबाट आएको नामका आधारमा खेलाडी छनोट गरेर छात्रवृत्ति प्रदान गरिने शिरीषले नागरिकलाई जानकारी गराए।

‘मैले गत वर्ष रियो ओलम्पिकमा भाग लिएर फर्किएपछि नेपाली खेलाडीलाई पनि अरू विदेशीकै जस्तो सुविधाका साथ हुर्काउनुपर्छ भन्ने लाग्यो। त्यसैका लागि फाउन्डेसन खोलेको हो,' शिरीषले भने, ‘हामी नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, व्यावसायिक प्रतिष्ठान तथा अन्तर्राष्ट्रिय जगत्बाट सहयोग जुटाएर हामी खेलाडीलाई प्रायोजन गर्नेछौं।'

खेलाडीलाई सानै उमेरदेखि नियमित प्रशिक्षण, पोषणयुक्त खानपान, मानसिक रूपमा अब्बल बनाउन अध्ययन, सुविधायुक्त अभ्यास, यातायात, बसोबास, नियमित स्वास्थ्य परीक्षणलगायतका सबै सुविधा उपलब्ध गराउने फाउन्डेसनको योजना रहेको शिरीषले सुनाए।

‘म आफँै खेलाडी भएकाले धेरै खेलाडीको पीडा र दुःखसँग परिचित छु। हामीकहाँ अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जानुअघि एक वा दुई महिनाको अभ्यासका भरमा प्रतिस्पर्धामा खेलाडी होम्ने चलन छ। विदेशमा चार वा आठ वर्षको लामो योजना हुन्छ,' शिरीषले भने, ‘हामीले पनि खेलाडीलाई त्यही रूपमा तयार गर्न सके सफलता सम्भव हुन्छ। फाउन्डेसनले त्यसैमा आफूलाई केन्द्रित गर्नेछ। खेलाडीलाई भविष्यको बारेमा चिन्ता नहुने अवस्था सिर्जना गराउनका लागि पनि फाउन्डेसनले काम गर्नेछ।'

छात्रवृत्तिका लागि खेलाडी छनोट गर्न फाउन्डेसनले निश्चित मापदण्ड बनाएको शिरीष फाउन्डेसनका सदस्य एवं नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठले बताए। उनका अनुसार १० देखि १४ वर्ष उमेरका प्रतिभावान् खेलाडी चयन गरिनेछ। त्योभन्दा बढी उमेरका खेलाडी अत्यन्तै असाधारण प्रतिभा भए मात्र छनोटमा पर्नेछन्। यसै गरी खेलाडी छान्दा उसको परिवारको समेत अध्ययन गरेर शारीरिक रूपमा कति विकास हुन सक्छ भन्नेसमेत अनुमान गरिने श्रेष्ठले जानकारी गराए।

खेलाडी चयनका लागि फाउन्डेसनले विभिन्न संघ र प्रशिक्षकहरूलाई अनुरोध गरिसकेको उनले जानकारी गराए। बिहीबार फाउन्डेसनले यसै विषयमा एथलेटिक्स, आर्चरी, तेक्वान्दो, जुडो, टेबलटेनिस, ब्याडमिन्टन, कराते, उसु, साइक्लिङ, भारोत्तोलन, ट्रायथलन, सुटिङ, लन टेनिस, बक्सिङ र पौडीका संघका प्रतिनिधि र मुख्य प्रशिक्षकहरूसँग छलफल गरेको थियो।

प्रकाशित: ८ वैशाख २०७४ ०६:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App