८ वैशाख २०८१ शनिबार
राजनीति

एमालेद्वारा त्रियुगा नगरपालिकामा मेयरका उम्मेदवार सिफारिस

उदयपुर- स्थानीय तहको चुनावमा नगरपालिका मेयर दावी गर्ने सबै पुरुष देखिएको उदयपुरमा एक महिलाको नाम पनि सिफारिसमा परेको छ। आउँदो ३१ गते हुने चुनावमा सदरमुकाम त्रियुगा नगरपालिकाको मेयरको लागि नेकपा एमालेले गीता रेग्मीको नाम सिफारिस गरेको हो।

पार्टीको त्रियुगा नगर समितिले बिहीबार गरेको ३ जना मेयरका दावेदारका नाममध्ये रेग्मीको नाम तेस्रो नम्बरमा छ । उनीभन्दा अगाडि प्रकाश बस्नेत र भागवत राउतको नाम परेको पार्टीले जनाएको छ। जिल्ला सचिवालय सदस्य बस्नेत उम्मेद्वारी सिफारिस गर्न गठित पार्टी नगर समितिका संयोजक पनि हुन्। राउत जिल्ला कमिटी सदस्य हुन् र पूर्व वडाध्यक्ष हुन्।

रेग्मी पार्टीको भगिनी संगठन अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्यसमेत हुन्। यस अघि उपमेयरमा उठ्ने चर्चा चलेको भए पनि मेयरमै उनको नाम सिफारिस हुनुमा भने पार्टीले रहर नभएर बाध्यता परेको कार्यकर्ताहरु बताउँछन्। मेयरका दावेदार सबै खसआर्य समुदायका परेपछि उपमेयरमा पनि खसआर्यलाई नै उठाउँदा पार्टी समावेशी नदेखिने डरले उनलाई थन्काउन मेयरमा सिफारिस गरिएको एक जिल्लास्तरीय कार्यकर्ताले बताए।

पार्टीले ३ उपमेयरमा महेश्वरी राई, सिर्जना दनुवार र सुनिता चौधरीको नाम सिफारिस गरेको जनाएको छ।

अन्य कुनै दलबाट मेयरमा महिलाको नाम उच्चारणसम्म भएको छैन। यसअघि नेपाली कांग्रेसबाट लिला राईको नाम मेयरमा चर्चामा आए पनि टिकट पाउने सम्भावना टरेपछि उपमेयरमा उनलाई अघि सार्ने पार्टीले तयारी गरेको छ। नेकपा (माओवादी केन्द्र) बाट पनि महिलाको नाम मेयरमा कतै चर्चामा ल्याइएको छैन। जिल्ला निर्वाचन कार्यालय उदयपुरमा दर्ता भएका २३ वटै दलबाट नगरपालिका मेयर र गाउँपालिका अध्यक्षमा कतै महिलाको नाम चर्चामा छैन। बरु कतिपय गाउँपालिकामा उपमेयर उठ्ने महिला नै नपाउने अवस्था रहेको गुनासो दलहरुले गरेको पाइएको छ।

एमालेले जिल्लाको अर्को नगरपालिका चौदण्डीगढीमा पनि बिहिबारै ४ जना मेयर र ४ जनै उपमेरको नाम सिफारिस गरेको जनाएको छ । चौदण्डीको मेयरका लागि जिल्ला सदस्य कालु लामा, बुद्धिजीवी कुमारसिंह कार्की, पूर्व गाविस अध्यक्ष राजेन्द्र कटुवाल र क्षत्रीय अध्यक्ष सम्भु पौडेलको नाम सिफारिसमा परेका छन्। उपमेयरमा कान्ता राई, लिला रिजाल, मनिका दुलाल र रेवती राईको नाम सिफारिसमा परेको पार्टीले जनाएको छ । अन्य २ नगर र गाउँपालिकाका उम्मेद्वारको नाम भने सिफारिस हुन बाँकी रहेको एमालेले जनाएको छ।

एमालेसँगै नेपाली कांग्रेस र माकेले पनि उम्मेद्वारको नाम सिफारिस गर्ने क्रम सुरु गरेको तर, जिल्ला पार्टीमा नआईपुगेको बताएका छन्। कांग्रेसले ९ गतेसम्ममा टुंगो लगाउने गरी सिफारिस गरिएका नामहरुको संकलन गरिरहेको पार्टी सभापति विदुर बस्नेतले बताए। माकेले पनि १० गतेभित्र सबै नाम टुंगो लगाईसक्नेगरी सबै स्थानीय तहका पार्टी संयन्त्रमार्फत सिफारिस मागेको पार्टीले जनाएको छ।

प्रकाशित: ८ वैशाख २०७४ ०८:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App