८ वैशाख २०८१ शनिबार
ब्लग

फरक सपना देख्दैछ ललितपुर

हुलका-हुलका मान्छे तछाडमछाड गर्दैछन। गेट बाहिर धिमेबाजामा अर्को हुल नाच्दै छ। राता, हरिया र सेता रंगिन झण्डा गेट बाहिर फहराउँदैछन्। लाग्छ सिंगो ललितपुर यतिबेला जात्रामा छ। र, ललितपुरबासी जात्रामा सहभागी भइरहेका छन्।

ललितपुरका मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दुवाडी बेला बेला बाहिर आउँछन्। हेर्छन्, निर्वाचनमा सहभागी अधिकारीलाई केही सिकाउँछन, निर्देशन दिन्छन् र आफ्नै कार्यकक्षमा फर्कन्छन्। तर दुवाडीको मनले मान्दैन सायद। केही मिनेटमै बाहिर निस्कन्छन्। पुरानै सिकाई र निर्देशनको शृंखला दोहराउँछन्।

ललितपुर प्रहरीका नायब उपरीक्षक ईश्वर कार्की सुरक्षा चूक नहोस् भन्नका लागि चनाखो देखन्छन्। यतिकैमा प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको दलबलसहित आगमन हुन्छ। उनी निस्कन नपाउँदै राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी पुग्छिन्। ललितपुर निर्वाचन कार्यालयमा आयोगका अधिकारी सुरुवातबाटै कार्यालयका गतिविधि नियालिरहेका छन्।

यस्तैमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव समेतको आगमनले निर्वाचन वातावरणमा थप ऊर्जा दिन्छ।

दलका नेता आफ्ना उम्मेदवारलाई अघि लगाएर निर्वाचन कार्यालय आउँछन्, मनोनयन दर्ता गराउँछन् र फर्कन्छन्। उम्मेदवारहरु एकअर्कालाई जीतको शुभकामना दिँदैछन्। केही अबिर, खादा र फूलमाला पहिराएर मतदान अघिनै विजय उत्सव मनाउँदैछन्। नजिकबाटै निर्वाचन प्रक्रिया नियालिरहेको मेरा आखाँ रसाउँछन् र मनले सोध्छ यो उत्सवका लागि यतिका वर्ष पर्खाउने त्यो समयलाई पाप लाग्ला है। अनि समयलाई आफू अनूकुल राजनीतिक चर्खामा घुमाउने दलका नेतालाई झनै ठूलो श्राप लाग्ला।

राजधानीको दक्षिणमा रहेको ललितपुर निर्वाचनमय भएको छ। एउटा महानगरपालिका, दुई नगरपालिका र दुई गाँउपालिकाका उम्मेदवार जीतका लागि प्रयासमा छन्। गाँउ-शहर जताततै धिमेबाजाको मधुर धुनले प्रचारलाई समधुर र सौहार्द बनाएको छ। महानगरमा मेयरमा अधिकांश उम्मेदवार नेवार समुदायका छन्। दलहरुले मेयरमा नेवार प्रतिनिधि उठाएर ललितपुर महानगरमा रहेको नेवार बाहुल्यतालाई सम्मान गरेको भान हुन्छ। महालक्ष्मी नगरपालिकामा मिश्रित उम्मेदवारी छ। यस्तै अवस्था गोदवरी नगरपालिकाको पनि छ। बाग्मती र कोनज्योसोम गाँउपलिकामा पनि मतदाताको बाहुल्यतालाई दलहरुले सम्मानगर्दै उम्मेदवार बनाएका छन्।

समग्रमा निर्वाचनमा होमिएको छ, ललितपुर। ललितपुर प्राचिन, पुरातात्विक र ऐतिहासिक शहर हो। यसका सबै भेग आ-आफ्नै बिशेषतामा बाँचेका छन्। महानगरमा मल्लकालीन सम्पदा, हस्तकला, काष्ठकला र धातुकला तथा पर्यटन अर्थोपार्जनमात्र होइन, जिवकोपार्जनका साथै नगरबासीको अभिन्न परिचय बनेको छ। पर्यटनको प्रशस्त सम्भावना रहेपनि सोचेअनुसार हुन सकेको छैन। पुरातात्विक सम्पदा महाभूकम्पले भग्नावशेष भएका छन्। पुनःनिर्माणले सोचेअनुसार गति लिन सकेको छैन।

महानगरकै अर्को भागमा अब्यवस्थित बाक्लिदै गएको बस्ती दिर्घकालीन समस्य निम्ताउन अग्रसर छ। कृर्षिउपज प्लटिङ बिकृतिका रुपमा टाउको उठाउदै छ। शिक्षा, स्वास्थ्य, सुरक्षा र खानेपानि तथा सरसफाई जस्ता आधारभूत आवश्यकताको बिषयसमेत बहसमा छ।

अर्को तर्फ ठूला दुई नगरपालिका र गाँउपालिका सिंगो उपत्यकाको 'अक्सिजन'का रुपमा रहेका छन्। प्राकृतिक सम्पदाले वातावरणिय अनुकूलतामा सहायक भइरहेका छन्। त्यही अवैध र मनपरी उत्खन्न समस्या बनेको विदितै छ। नगरपालिका स्तरोन्तीमा केही वर्ष अनुभव गासेका यी दुई नगरपालिका र निर्वाचन प्रयोजनका लागि गाँभिएर बनेका ठूला गाँउपलिका ललितपुरको कर्णालीको उपमा चर्चामा छन्। तर सम्भावना प्रशस्त छ। स्रोत साधनको कुनै कमि छैन। विकासको सुरुवात भएको छ। योजनाअनुसार काम हुन बाँकी नै छ।

अब, कर्मचारीको काँधबाट महानगर, नगर र गाँउ जनप्रतिनिधिमा पुग्ने अन्तिम खेल पटाक्षेप हुने चरणमा छ। आतुर छन मतदाता। र, त्यतिकै हौसिएका छन् उम्मेदवारसमेत।

समथर बाँकेबाट अध्ययनका लागि २०५६ मा ललितपुर छिर्दा पंक्तिकारले देखेको, भोगेको र चाहेको परिवेशका केही अंशमात्र अझै बाँकी छन्। यतिका वर्षमा समयसँगै सबै बदलिएको छ। झनै महाभूकम्पले धेरै बदलिदिएको मात्र छैन, धेरै सिकाएको पनि छ। पंक्तिकारले प्रत्यक्ष संलग्नतामा ललितपुरमा २०७२ देखि बिताएका दिनमा ललितपुरको सपना बेग्लै देख्छ। ललितपुरबासीका चाहनामा भिन्नता भेटछ। समयसँगै बदलिएको छ, ललितपुरको सपना।

हिजो पूर्खाले धानेको बिँडो हालको सन्नततीले अगाडी बढाउन चाहन्छ। तर तौरतरिका फरक छ। पूर्खाले सिकाएको कला, संस्कृती र सीपलाई प्रविधियुक्त र आधुनिक तथा सुविधा सम्पन्न बनाउन चाहन्छ नयाँ पुस्ता। यसका लागि निर्वाचनमार्फत् आउने जनप्रतिनिधिका लागि एउटा सिकाई हो। कार्तिक नाँचको जर्गेनाका लागि समय निकालेर निरन्तरता दिने समय फेर्ने जिम्मेवारी जनप्रतिनिधिको हुनेछ। दिनैपिच्छे मनाउने जात्रालाई पर्यटन विकासको मेरुदण्ड बनाउने जिम्मेवारी पनि जनप्रतिनिधिको हो। कृर्षिलाई सम्मानजनक बनाउने जिम्मेवारी मात्र होइन, प्राकृतिक सन्तुलन कायम राख्दै माफियातन्त्र रोक्नु पनि जनप्रतिनिधिकै दायित्व हुनेछ।

फरक सपना देख्दैछ, ललितपुर। हो, फरक सपना तर समान आँखाले हेर्दैछ ललितपुर। बिशेषताको निरन्तरतामात्र होइन संरक्षण, प्रर्वद्धन र पुरस्कृत बन्न चाहन्छ ललितपुर। यसका लागि जनप्रतिनिधिले ललितपुरको यो फरक हेराईलाई बुझ्नुपर्छ। पहल गर्नुपर्छ ललितपुरको सपना साकार पार्न।

प्रकाशित: २३ वैशाख २०७४ ०७:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App