७ वैशाख २०८१ शुक्रबार
समाज

एकै हिरासतमा चक्रे र मनाङे

काठमाडौं – एकअर्काका प्रतिस्पर्धी दिपक मनाङे र चक्रे मिलन आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा पटकपटक पक्राउ परे । तर, कहिल्यै एकै हिरासतकक्ष र जेलमा परेनन् । स्थानीय तह निर्वाचनमा सुरक्षा चुनौती बढाएको भन्दै पक्राउ परेका उनीहरू मंगलबारबाट भने महानगरीय प्रहरी परिसरको एकै हिरासतकक्षमा पुगेका छन् ।

 ठमेल क्षेत्रबाट पक्राउ परेका मनाङे आइतबारबाट सार्वजनिक अपराधको अभियोगमा टेकुमा रहेको परिसरको हिरासतमा थिए । चक्रपथको आफ्नै घरबाट पक्राउ परेका चक्रे पनि मंगलबारबाट मनाङे रहेकै हिरासतमा पुगेका छन् ।

मनाङे उपनामले परिचित दिपक गुरुङ र चक्रे उपनामले परिचित मिलन गुरुङको पृष्ठभूमि र उदयकाल एकै हो । संगठित गुन्डागर्दीका नाइकेका रुपमा २०४६ पछि दुवैको प्रभाव देखिएको हो काठमाडौंमा । ठमेल कार्यक्षेत्र बनाउँदै मनाङेले आम्दानीको स्रोतको रूपमा रात्रीकालीन व्यवसायलाई रोजे । चक्रेले चक्रपथलाई कार्यक्षेत्र बनाएर ठेक्कापट्टा, बालुवा र ढुंगाखानीलाई आयआर्जन गर्ने माध्यम बनाए ।

यी दुवैको प्रारम्भको समय पनि एकै हो, २०४६ । चक्रेले नेकपा एमालेको साथ लिएर आफ्नो प्रभाव बढाए । मनाङेले कहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ लिए कहिले नेपाली कांग्रेसको ।

आपराधिक गतिविधिबाट अकुत सम्पत्ति आर्जन गरेको मद्दा खेप्दै आएका उनीहरू आपराधिक यात्रामा दर्जनौं पटक पक्राउ परे । तर कहिल्यै एकसाथ जेल बसेनन् । मनाङेले जेल जीवनका लागि सधैँ डिल्लीबजार रोजे । चक्रेले केन्द्रीय कारागार ।

कार्यक्षेत्र विवादमा यी दुवै समूहबीच बारम्बार ग्याङफाइट भइरहन्थ्यो । कट्टर दुस्मनका रुपमा परिचित दुवैबीच दुश्मनीका कारण चक्रेमाथि मनाङे समूहले तरबार हान्दा उनको हातै छिन्नु थियो । चक्रेको हात जोडिए पनि अहिले सामान्य काम मात्र गर्न सक्छ ।

स्थानीय तहको निर्वाचनले भने यी दुवैलाई एकै थलो जुराइदिएको छ, काठमाडौं परिसरको हिरासतकक्ष । स्थानीय तह निर्वाचनमा समूह नै परिचालन गरेर निर्वाचन सुरक्षामा प्रभाव पार्न सक्ने भन्दै काठमाडौं परिसरले आइतबार पक्राउ गरेको मनाङे र महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार चक्रपथबाट पक्राउ गरेको चक्रे मंगलबार बेलुकाबाट एकै कोठामा एउटै ओछ्यान बाँडेर बसेका छन् ।

‘अहिले मनाङे र चक्रे काठमाडौं परिसरको एउटै हिरासतकक्षमा छन्,’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले भने‘ दुवैमाथि निर्वाचन सुरक्षामा चुनौती बढाएको अभियोग छ ।’

काठमाडौंको चक्रपथमा बस्दै आएका चक्रेलाई महाशाखाको टोलीले उनको घरैमा पुगेर पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न महाशाखाबाट डिएसपीको कमान्डमा प्रहरी टोली घरमै पुगेको थियो । लागुऔषध र अवैध हतियारको अभियोग पुष्टिसँगै पाँच वर्ष केन्द्रीय कारागारमा बिताएर मुक्त भएका थिए उनी । प्रहरी इन्काउन्टरमा दिनेश अधिकारी चरी र कुमार घैंटेको मृत्यु भएपछि उनी पछिल्लो समय निस्क्रिियझैं देखिए पनि प्रहरी विश्लेषणमा ठेक्कापट्टा कब्जामा उत्तिकै सक्रिय रहेको उल्लेख छ ।

विशेष अदालतमा सम्पत्ति शुद्धिकरण मुद्दा खेपिरहेका उनी नेकपा एमालेनिकट मानिन्छन् । एमाले नेता प्रदिप नेपालसँग उनको पारिवारिक सम्बन्ध छ । ७ वर्ष अगाडि कारागारमुक्त भएपछि एमालेको युथ फोर्समार्फत राजनीतिमा सक्रिय हुने योजनामै रहेको बेला उनी हतियार र लागुऔषधसहित पक्राउ परेका थिए । 

कहिले सार्वजनिक अपराध त कहिले सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्राउ पर्दै जेल बस्दै मुक्त हुँदै आएका मनाङे स्थानीय तह निर्वाचन अगाडि राप्रपा नेपालमा प्रवेश गरेका थिए । राप्रपासँगको एकता महाधिवेशनमा उनी मनाङको जिल्ला अध्यक्षमा चयन भएका थिए । काठमाडौंमा राप्रपाका उपमेयर राजाराम श्रेष्ठलाई सघाउन खटिएका उनी आइतबार बेलुका पक्राउ परे ।

दुवैमाथि प्रहरीमा कुनै आपराधिक उजुरी भने दर्ता छैन । चक्रे पक्राउ गर्ने महाशाखाका एसएसपी अमात्य र मनाङे पक्राउ गर्ने काठमाडौं परिसरका एसएसपी छविलाल जोशी ‘ चुनावमा गुन्डा समूह परिचालन गर्न सक्ने देखिएकाले उनीहरू पक्राउ परेको’ बताउँछन् । 

एक सय २२ निगरानीमा, ४७ पक्राउ
सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौैंले १ सय २२ जनाको सूची बनाएको थियो । व्यक्ति र समूहको प्रभावका आधारमा ए,बि, सि, डि समूहमा विभाजन गरिएकोमा आइतबार पक्राउ परेका मनाङे समूह ए को पहिलो नम्बरमा थिए भने चक्रे तेस्रो नम्बरमा ।

दोस्रो नम्बरका समिरमानसिंह बस्नेत, चौथो नम्बरमा राजु गोर्खाली, पाँचौमा गणेश लामा, छैटोेंमा सुकबहादुर लामा (बाघे), साजन महर्जन, सरोज थापा, सुजन पौडेल, विश्वक्रान्ति सिंह, तेजेन्द्र गुरुङ र काजी शेर्पाको नाम छ ।

पहिलो सूचीका विश्वक्रान्ति र सुजन जेलमा छन् । पहिलो सूचीमा रहेकामध्ये प्रहरीले साजन र तेजेन्द्रलाई पक्राउ गरेको थियो । एमालेनिकटका साजन पक्राउ परेको तेस्रो दिनमै हिरासतमुक्त भए भने दाइ चक्रे एमालेनिकट भए पनि कांग्रेसतिर लागेका भाइ तेजेन्द्रलाई प्रहरीले पक्राउ गरेर २४ घन्टासमेत नियन्त्रणमा राख्न सकेन । सत्ताधारी दल फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य रहेका गणेश लामा चुनावी प्रचारमा व्यस्त छन् । कांग्रेस समर्थक गोर्खालीसमेत चुनावमै व्यस्त छन् ।

प्रहरीको दोस्रो सूचीका ३० जनामध्ये दावा लामालाई एक महिनाअघि गोली लागेको थियो । घटनाको अनुसन्धान अझै सकिएको छैन । प्रवेश श्रेष्ठ, रमेश सुनुवार, मुखिया घले, चन्द्र लामा, सञ्जय डंगोल, सञ्जिव लामा, पञ्चे लामा, उमेश लामा, रेन्बो गुरुङ, राधे भण्डारीलगायत चुनावी सुरक्षाका चुनौती हुन् ।

यही सूचीमा रहेका निराजन पौडेल भने प्रहरी हिरासतमा छन् । प्रहरीले सि ग्रेडमा ४७ जना र डि मा ३३ जनालाई राखेको थियो । 

प्रहरीले सूचीअनुसार मंगलबारसम्ममा ४७ जनालाई पक्राउ गरिसकेको छ । ४७ जना पक्राउ परे पनि प्रहरी हिरासतमा भने ६ जना मात्रै छन् । 

‘प्रहरीको सूचीमा रहेका कोही उपत्यकामा छन् भने उनीहरू ढिलोचाँडो प्रहरी हिरासतमा आउँछन्,’ एसएसपी अमात्यले भने‘ हाम्रो मुख्य चासो चुनावी सुरक्षा हो, चुनावमा बाहुबल प्रयोग गर्नसक्ने पक्राउ पर्छन् ।’

 

प्रकाशित: २७ वैशाख २०७४ ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App