७ वैशाख २०८१ शुक्रबार
अन्य

हात-लेगार्डमा हेलमेट!

पाँचथर- जिल्लाको रानीगाउँको तिङ्देन चोकछेउमा यासोकबाट आउँदै गरेको प्रहरीको गाडीसँग क्रस गर्न खोज्दा मोटरसाइकल अनियन्त्रित भई झन्डै डिलमुनि झर्‍यो। बाटो साघुँरो भएर वा अन्य कुनै कारणले त्यस्तो भएको हैन। चालकले पछाडि बस्नेलाई हेलमेट बोक्न दिएका थिए। चालकले प्रहरीको गाडी देख्नासाथ साथीको हातबाट हेलमेट लिएर हतार–हतार लगाउन खोज्दा मोटरसाइकल अनियन्त्रित हुँदा थोरैले डिलमुनि झर्नबाथ जोगियो।

 'मान्छेहरू के भएका? हेलमेट पुलिसका लागि लगाइदिनुपर्नेजस्तो ठान्छन्। जोखिम त उनीहरूलाई नै पर्ने हो नि,' गाडीमा रहेका डिएसपी कृष्णप्रसाद कोइराला भन्दैथिए। फिदिम–यासोक–मेहेलबोटे–पिपलाबोट खण्डमा मोटरसाइकल चालकले हेलमेट लेगार्डमा राखेको देखिन्थ्यो भने कतिले पछाडि बस्नेलाई बोक्न दिएको देखिन्थ्यो। त्यो देखेर प्रहरी आफैं छक्क पर्थे।

 यहाँमात्र हैन, जिल्लाका विभिन्न ठाउँमा हेलमेट नलगाई कुद्ने प्रशस्तै भेटिन्छन्। सदरमुकाम फिदिममा ट्राफिक प्रहरीको आँखा छलेर हेलमेटबिना कुद्नेहरू पनि छन्। प्रहरीको उपस्थिति कम देख्नासाथ हेलमेटल लेगार्डमा वा पछाडि बस्ने साथीको हातमा हुन्छ। फिदिम, राँके, यासोक, रवि र गणेश चोकमा ट्राफिक प्रहरी पोस्ट छ।

 तीबाहेकका  ठाउँमा पनि हेलमेटबिनै मोटरसाइकल कुदाएको देख्न पाइन्छ। ती ठाउँमा हेलमेट लगाएरभन्दा नलगाई हिँड्नेको संख्या बढी हुन्छ। खासगरी तन्नेरीहरू हेलमेटबिनै हिँड्न खोज्छन्। यसरी हिँड्नुलाई उनीहरूले 'शान'को रूपमा लिन्छन्।

त्यसरी मोटरसाइकल कुदाउनेले प्रहरी देख्दा वा चेकजाँच हुने ठाउँमा मात्रै हेलमेट लगाउँछन्। मानुम कि, उनीहरूले हेलमेट आफ्नो सुरक्षानिम्ति नभई प्रहरीका लागि लगाइदिनुपर्छ। अझ, ग्रामीण भेगका कच्ची बाटोमा मोटरसाइकल कुदाउनेले त हेलमेट नै लगाउन नपेरे हुन्थ्योझैं  गर्छन्। हेर्दा सामान्य देखिने तर गम्भीर गल्तीले जीवन नै जोखिममा पर्नेतर्फ भने उनीहरूले सोचेको पाइँदैन।

'सुरक्षाका लागि भन्दा पनि प्रहरीका लागि लगाइदिनुपर्ने जस्तो गर्छन्। हेलमेटले धेरै सुरक्षा हुने भएपनि चालकले जानी–जानी जोखिम निम्याइरहेछन्,' डिएसपी कोइरालाले भने। उनले सदरमुकामका धेरै चोकमा सिसी क्यामेरा भएकाले अबउप्रान्त बजार क्षेत्रमा हेलमेट नलगाई कुद्नेलाई पहिचान गरी कारबाही गर्ने बताए। उनका अनुसार, गाउँका प्रहरी युनिटलाई पनि यसबारे निर्देशन दिइएको छ।

यहाँ जथाभावी ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमा मोटरसाइकल नै बढी छन्। आर्थिक वर्ष ०७२/०७३ मा २ हजार ९ मोटरसाइलकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख उत्तम भण्डारीले जानकारी दिए। गतवर्ष यो संख्या २ हजार ३ थियो। हेलमेट नलगाउने, कागजपत्र नबोक्ने, ३ जना बोक्ने मोटरसाइकल कारबाहीमा परेका थिए।

गत आवमा मोटरसाइकलसहित अन्य सवारी साधन ट्राफिक नियम उल्लंघनका घटनामा कारबाही गर्दा १३ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन भएको भण्डारीले जानकारी दिए। उनका अनुसार, ३ हजार ७ सय ३७ सवारी साधन कारबाहीमा परेका थिए।

आव ०७२/०७३ मा २० दुर्घटनामा परी जिल्लामा ६ जनाको ज्यान गएको थियो भने ३५ जना घाइते भएका थिए। अघिल्लो आवभन्दा यस आवमा दुर्घटना बढेको ट्राफिकले जनाएको छ।

प्रकाशित: २ श्रावण २०७३ ०४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App