७ वैशाख २०८१ शुक्रबार
अर्थ

आँखा लेन्स उद्योग स्थापना गरिने

काठमाडौं- नेपाल आँखा कार्यक्रम अर्न्तगत सञ्चालित आँखाको लेन्स उत्पादनलाई उद्योगको रुपमा स्थापना गर्न सरकारले पहल सुरु गरेको छ। तिलगंगा नेत्र विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको लेन्स ल्याबोरेटरीलाई आँखा लेन्स उद्योगको रुपमा स्थापना गर्न उद्योग मन्त्रालयले पहल सुरु गरेको हो।

ल्याबोरेटरीलाई उद्योगको रुपमा स्थापना गर्ने उद्देश्यसाथ बिहीबार उद्योग मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपाल र नेपाल आँखा कार्यक्रमको नेतृत्व गर्दै आएका डा. सन्दुक रुइतबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा हस्ताक्षरपछि लेन्स ल्याबोरेटरीलाई आँखा लेन्स उद्योगको रुपमा स्थापना गर्न पहल सुरु भएको सहसचिव नेपालले बताए।

'हाल उत्पादन भइरहेको आँखाको लेन्सलाई उद्योगको रुपमा स्थापना गर्न सकिने ठूलो सम्भावना छ,' समझदारीपत्रमा हस्ताक्षरपछि उद्योगमन्त्री नविन्द्रराज जोशीले भने, 'यसलाई निर्यातमूलक उद्योगको रुपमा विकास गर्न सकिन्छ।'

डा. रुइतले आँखा कार्यक्रममा लगानी र भौतिक सुविधा थप गर्न सके उद्योगको रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताए। उनले आँखाको लेन्स र मोतिबिन्दुको चाहिने सामग्रीमा आत्मनिर्भर भएको र निर्यात समेत भइरहेको जानकारी गराए। 'अहिले नेपालमा उच्च गुणस्तरको आँखाको लेन्स बन्छ भनेर विश्वमै चर्चित छ,' डा. रुइतले भने, 'हामी यसलाई थप व्यावसायिक रुपमा अगाडि बढाउन चाहन्छौं।'

प्रतिष्ठानले दुई दशकलेखि आँखाको लेन्स उत्पादन गर्दै आएको छ। प्रतिष्ठानबाट सञ्चालित लेन्स ल्याबोरेटरीबाट हालसम्म करिब ४९ लाख लेन्स उत्पादन गरी वितरण गरिएको छ।

डा. रुइतका अनुसार हाल वार्षिक ५ लाख लेन्स उत्पादन भइरहेको छ। यस कार्यक्रमलाई थप विस्तार र व्यावसायिक उत्पादन गर्दै वार्षिक १५ लाखा लेन्स उत्पादन गर्ने लक्ष्य राखिएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको उच्च माग पूरा गर्न वार्षिक १५ लाख लेन्स उत्पादन गर्ने कारखाना स्थापना गर्नुपर्ने समझदारीपत्रमा उल्लेख गरिएको छ।

हाल उत्पादन भइरहेको लेन्समध्ये ५० प्रतिशत निर्यात भइहरेको छ। नेपालमा उत्पादित लेन्स विश्वका ५० मुलुकमा निर्यात भइरहेको रुइतले जानकारी गराए। उनका अनुसार विदेशमा निर्यात गर्दा प्रतिलेन्स १६ डलर पर्छ भने नेपालीलाई दुई सय रुपैयाँभन्दा कम मूल्यमा बिक्री भइरहेको छ।

सहमति अनुसार सरकारले नेपाल आँखा कार्यक्रमले सञ्चालन गर्ने मोतिबिन्दु रोगको शल्यक्रिया गरी प्रत्यारोपण गरिने कृत्रिम लेन्स उत्पादन गर्ने तथा सोका लागि आवश्यक सहायक सामाग्री तथा कच्चा पदार्थ समेत उत्पादन गर्ने उद्योग स्थापनाका निमित्त सहजीकरण र समन्वय गर्नेछ।

लेन्स उद्योगलाई राष्ट्रिय गौरवको आयोजना वा राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा स्थापित गर्न मन्त्रालयको तर्फबाट आवश्यक सहजीकरण गर्ने समझदारीपत्रमा उल्लेख छ। त्यसैगरी, उद्योगको लागि उत्पादन वृद्धि प्रवर्द्धन तथा संरक्षण गर्न आवश्यक भौतिक, आर्थिक तथा नीतिगत सहयोगको लागि आवश्यक पहल गर्नेछ।

उद्योग मन्त्रालयले लेन्स उद्योग स्थापनामा रहेका प्रक्रियागत समस्यालाई प्रचलित कानुनको दायरामा रही समाधान गर्न सहजकर्ताको भूमिका निर्वाह गर्ने र अन्तर्राष्ट्रिय प्रवर्द्धनका निमित्त आर्थिक कूटनीतिका माध्यमबाट आवश्यक सहकार्य गर्नेछ।

उद्योग मन्त्रालयले लेन्स उद्योगको क्षमता विस्तारको लागि आवश्यक भौतिक, आर्थिक र पूर्वाधार विकासका लागि आवश्यकता अनुसार सहजीकरण गर्नेछ। नेपाल भित्रने कम गुणस्तरका सस्ता लेन्सको आयात रोक्न उद्योग मन्त्रालयले आवश्यक पहल गर्नेछ। लेन्स उद्योगको लागि आवश्यक कच्चा पदार्थ तथा मेसिनरी आयातमा उद्योग मन्त्रालयले सहजकर्ताको भूमिका निर्वाह गर्नेछ।

सहमति अनुसार नेपाल आँखा कार्यक्रमले नेपालको प्रचलित कानुन बमोजिम मुनाफा वितरण नगर्ने उद्देश्य राखी अविलम्ब लेन्स उद्योग स्थापना गर्न पहल गर्नेछ। हाल नेपाल आँखा कार्यक्रम अन्तर्गत सञ्चालित उद्योग मातहतका सम्पूर्ण मेसिनरी औजार प्रविधि सम्पत्ति तथा दायित्व र कर्मचारीलाई नयाँ स्थापित हुने उद्योग मातहत ल्याउने सहमति भएको छ।

लेन्स उद्योगले उद्योग क्षेत्रमा सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गरी स्थानीय जनताको हित प्रवर्द्धनमा काम गर्ने र गुणस्तरीय लेन्स उत्पादन गरी नेपालमा बिक्री वितरण गर्नुका साथै आयात प्रतिस्थापन गर्न समेत दुई पक्षबीच सहमति भएको छ।

प्रकाशित: २९ वैशाख २०७४ ०६:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App