८ वैशाख २०८१ शनिबार
राजनीति

चीनसँग थप दुई सम्झौतामा हस्ताक्षर हुने

बेइजिङ- चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीनसँग थप दुई सम्झौता हुन लागेको बताएका छन्।

नेपाली दूतावास, चीनमा आयोजित कार्यक्रमा बोल्दै अर्थमन्त्री महराले चीन सरकारको सहयोगमा स्याप्रुबेसी रसुवागढी सडक निर्माण सम्बन्धी एउटा सम्झौता र नेपाल चीनबीच ‘क्रस बोर्डर इकोनोमिक डेभलपमेन्ट’ सम्बन्धी सम्झौता हुन लागेको बताए। दुवै सम्झौतामा आइतबार बेइजिङमा हस्ताक्षर हुने छ। यस अघि नेपालले ‘वान बेल्ट वान रोड इनिसिएटिभ’ (ओबर) मा हस्ताक्षर गरि सकेको छ।

अर्थमन्त्री महराले ओबरको समझदारी पत्रमा गरिएको हस्ताक्षरले नेपाललाई पूर्वाधार विकास, उत्पादन र लगानी विस्तार, पर्यटन र सांस्कृतिक प्रवर्द्धनका क्षेत्रमा पूँजी, प्रविधि र विज्ञता भित्र्याउन तथा अन्य अवसर जुटाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे।  अपेक्षा अनुरूपका उपलब्धीहरू, खास गरी चीनको रेल तथा सडक यातायातसँग नेपाललाई जोडेर पर्यटन प्रवर्धन, उत्पादन वृद्धि तथा बजार पहुँचमा हासिल गर्न भने नेपालीले नै छिटोछिटो धेरै काम गर्नु पर्ने उनको धारणा थियो। ‘अहिलेको अन्तरनिर्भर विश्वमा एक अर्काका प्रयासलाई जोडेर मात्र हामीले पर्याप्त लाभ लिन सक्छौं भन्ने मेरो विश्वास छ’, उनले भने।

एक चीन नीति र नेपाली भूमि चीन विरोधी गतिविधिमा प्रयोग गर्न नदिने नीति नेपालको परराष्ट्र नीतिको अभिन्न अंग भएको समेत महराले प्रष्ट पारे।

नेपाली प्रतिनिधि मण्डललाई स्वागत गर्दै राजदूत लिलामणी पौडेलले अन्य दुर्इ समझदारीमा हस्ताक्षर हुने समचारले खुसी तुल्याएको बताए। यी सबै निर्णयले नेपालको द्रुत आर्थिक सामाजिक रूपान्तरणका लागि धेरै ठूलो रूपमा चिनियाँ सहयोग जुटाउन बाटो खोलिदिएको विश्वास व्यक्त गरे। ‘वान बेल्ट वान रोड इनिसिएटिभ’ (ओबर) सहभागितामुलक, समावेशी र दीगो विकासको वैकल्पिक मोडेल भएको उनले बताए। यसले सामूहिक समृद्धि र सामाजिक सदभावको वकालत गर्ने उनको भनाई थियो।

प्रकाशित: ३० वैशाख २०७४ १३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App