coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सम्झनामा कलासाधक विक्रम

काठमाडौं – राजधानीको अनामनगरस्थित मण्डला थिएटरका नाट्यकर्मी राजन खतिवडा आइतबार थिएटरमै बसिरहँदा तनहुँमा नाट्यकर्मी विक्रम परियारको हत्याको खबरले झसंग भए । बेलुकी ६ बजे घर जाने सुरमा रहेका खतिवडालाई विक्रमको निधन भएको दुःखद समाचारले घर जाने सुर नै बिर्साइदियो ।

‘उहाँको हत्याको खबर सुन्दा म ‘सक्ड’ भएँ । खबर पत्याउन नसकेर अनुप बराल सरसँगै मैले चिनेका सबै साथीभाइलाई फोन सम्पर्क गरें,’ खतिवडाले भने,’ खतिवडाले भने, ‘मैले पोखरामा सुटिङमा रहेका साथीहरूलाई पनि तुरुन्तै तनहुँ जान आग्रह गरें । यो घटना हाम्रो लागि विश्वास नै नलाग्ने थियो ।’

राजनले निर्देशन गरेको नाटक ‘लेडी फ्रम द सी’मा काम गरिसकेका विक्रमले राजनको अन्य नाटकमा भने सहकार्य गर्न पाएनन् । ‘अन्य नाटकमा पनि सहकार्यका लागि प्रस्ताव गरेको थिएँ । तर उहाँको अन्य कामले गर्दा समय मिलाउन सक्नु भएन,’ राजनले सम्झे,‘उहाँ आफैँमा राम्रो अभिनय गर्ने कलाकार हुनुहुन्थ्यो, नाट्य संगीतमा खप्पिस हुनुहुन्थ्यो । उहाँको मृत्युको खबरले मैले एउटा महत्वपूर्ण व्यक्ति गुमाएजस्तो भयो ।’ राजनका अनुसार राजधानीमा रहेका नाट्य थिएटरको अगुवाइमा मंगलबार विक्रमको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा राखिनेछ ।

स्थानीय तहको निर्वाचनमा मत हाल्न तनहुँको व्यास पुगेका परियार मतदान गरेर घर फर्किएपछि अज्ञात समूहको आक्रमणमा परेका थिए । उनीमाथि व्यास वडा नम्बर १ मा आक्रमण भएको थियो । उनले तनहुँ व्यास १ को जलदेवी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका थिए ।

विक्रमलाई १० वर्ष अघिदेखि नजिकबाट चिनिरहेका कलाकार तथा नाट्य निर्देशक आशान्त शर्माले पनि साँझकै समयमा विक्रमको निधनको खबर थाहा पाए । गत शुक्रबार काठमाडौंमा सँगै चिया खाएर छुट्टिएका उनीहरूबीच चुनावपछि भेट गर्ने योजना बनेको थियो । ‘तर अब त्यो भेट नहुने भयो । हामी नयाँ केही काम गरौं भन्ने योजना बनाइरहेका थियौं,’ आशान्तले भने, ‘उहाँ साह्रै मिलनसार स्वाभावको हुनुहुन्थ्यो । हामी साथीभन्दा पनि दाजुभाइजस्तै थियौं । उहाँकै घरमा गएर पनि कति पटक हामीले सँगै खाना पनि खाएका थियौं ।’

आशान्तले एक अमेरिकन साथीको फेसबुकमार्फत विक्रमको निधनको खबर थाहा पाएका थिए । निधनको खबर पुष्टि गर्नकै लागि उनले पनि राजनले जस्तै अनुपलाई नै फोन गरेका थिए ।

आशान्तले विक्रमसँगै नाटक ‘टलकजंग भर्सेस टुल्के’, ‘मलामी’, ‘काली आइमाई’ लगायतका नाटकमा काम गरेका थिए । ‘काली आइमाई’को बेला उनीहरूले पश्चिम नेपालको यात्रा पनि गरेका थिए । उनीहरू एक्टर्स स्टुडियोमा सँगै पढाउनेसमेत गर्थें।

निर्देशक तथा कलाकार अनुप बरालको एक्टर्स स्टुडियोमा आबद्ध परियार गायन क्षेत्रमा पनि सक्रिय थिए । अनुपद्वारा निर्देशित चर्चित नाटक ‘कोर्ट मार्सल’मा अभिनय गरेका विक्रम अनुपकै फिल्म ‘फिटकिरी’मा पनि देखिए । उनले ‘ताण्डव’, ‘कुसुमे रुमाल’, ‘काठमाडौंः द मिरर इन द स्काइ’लगायतका फिल्ममा पनि काम गरिसकेका छन्।

प्रकाशित: २ जेष्ठ २०७४ ०५:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App