६ वैशाख २०८१ बिहीबार
अन्तर्वार्ता

स्याटेलाइट सिटी बनाउनुपर्छ

झण्डै दुई दशकपछि स्थानीय जनप्रतिनिधिको निर्वाचन हुने क्रममा पहिलो चरणको सम्पन्न भई मतगणना जारी छ । २५ वर्षपहिले नै नगरपालिका भए पनि काठमाडौंं महानगरपालिकामा परिणत भएकोचाहिँ २०४९ सालमा मात्र हो । मुलुककै यो पहिलो महानगरपालिकाले दुई कार्यकालसम्म त जनप्रतिनिधिको नेतृत्व पायो तर त्यसपछि भने झण्डै डेढ दशक कर्मचारीका भरमा चल्नुप¥यो । वसन्त खड्कासँग यसरी व्यक्त गरे :

२५ वर्षपहिलेको निर्वाचन अनुभवबारे केही बताइदिनूस् न...
प्रजातन्त्र स्थापनापछिको पहिलो स्थानीय निर्वाचन भएकाले जनतामा अत्यन्तै ठूलो उत्साह थियो । अझ राजनीतिमा झुकाव राख्नेहरूमा त यति धेरै उत्साह थियो कि उम्मेदवारलाई देख्दा उनीहरू आफूलाई नियन्त्रण गर्नै सक्दैनथे । तीव्र उत्साहका कारण उनीहरू सडकमै सुतिदिन्थे । तर त्यतिबेलाको काठमाडांै नगरपालिका एउटा सरसफाइ अड्डाका रूपमा मात्र थियो । विकासका काम गर्ने वा नयाँ योजना बनाउने त्यस्तो केही थिएन । त्यसलाई हामी निर्वाचित भएपछि परिवर्तन गरेका हौँ ।  

काठमाडाैँको अहिलेको अस्तब्यस्त अवस्था हेर्दा त्यतिबेला पर्याप्त तयारीबिनै महानगर घोषणा गरेजस्तो लाग्दैन  ? 
हामीले हचुवाका भरमा महानगरपालिका घोषणा गरेका होइनाँै । झण्डै नौ महिना लगाएर एउटा अध्ययन नै गरिएको थियो । अर्काे कुरा तत्कालीन  नगरपालिकाले काठमाडांैको चुनौती सामना गर्न सक्दैन भनेरै काठमाडौंलाई महानगर बनाइएको हो । काठमाडांैले भोगिरहेको समस्या समाधानका लागि महानगर बनाइएकाले महानगरका लागि आवश्यक पूर्वाधारबिनै महानगर बनाइएको कुराचाहिँ सत्य हो । तत्कालीन नगरपालिकाले काठमाडौंलाई सम्बोधन गर्ने अवस्था थिएन । 

महानगरपालिकाको जिम्मेवार तहमा रहेर त्यतिबेला कस्ता÷कस्ता काम गर्नुभयो ? 
पहिलो कुरा त हामीले नगरपालिकालाई आधुनिकीकरण गरेर महानगर बनायौँ । व्यवस्थित सहरको अवधारणा त्यतिबेलै सुरु भएको थियो । प्रदूषण नियन्त्रणका लागि इलेक्ट्रिकल सवारी साधन चलाउने निर्णय तथा खुला मञ्चलाई व्यवस्थित गर्ने, महानगरका लागि आवश्यक पर्ने आर्थिक स्रोत जुटाउनेलगायतका महत्वपूर्ण काम त्यतिबेला भएका थिए । महत्वपूर्ण काम गर्दागर्दै कार्यकाल सकियो जसले गर्दा थप गर्नुपर्ने काम बीचमै रोकिए । 

अहिलेको अस्तब्यस्त महानगरको दोषी को हो जस्तो लाग्छ ? 
यसको दोष हामी सबैलाई जान्छ तर यो दोष लगाउने समय होइन, सबै मिलेर अघि बढ्नुपर्छ । महानगरलाई कस्तो बनाउने भन्ने कुरा एक जनाको मात्र हातमा हुँदैन, त्यसका लागि जिम्मेवारीमा रहेका व्यक्ति र महानगरमा बस्ने जनताको भूमिका पनि उत्तिकै हुन्छ । त्यसैले यसको विकासका लागि सबै मिलेर अघि बढ्नुपर्छ । 

२५ वर्षपहिले र हालको स्थानीय तहको निर्वाचनमा मतदाताको अपेक्षामा कस्तो भिन्नता पाउनुभयो ? 
अवश्य पनि फरक भइहाल्छ, त्यतिबेला मतदाताका साना÷साना अपेक्षा हुन्थे । भेट्न आउँदा पान, सुपारी लिएर आउने समय थियो त्यतिबेला तर अहिले दैनिक समस्यासँगै जीवनशैलीसँग जोडिएका विषयप्रति मतदाता तथा नागरिकका अपेक्षा हुन्छन् । त्यतिबेला गुणस्तरीय हावा भएन, खुला ठाउँ भएन भन्ने थिएन । तर आज स्वच्छ हावा, खुला चौर, व्यवस्थित र विकसित सहर नागरिकका अपेक्षाभित्र पर्छन् । त्यसैले पहिले र अहिलेमा धेरै कुरामा भिन्नता देख्न सकिन्छ । 

पछिल्लो समय महानगरमा भ्रष्टाचारलगायतका समस्या मौलाउँदै गएको आरोप लाग्ने गरेका छन्, यसलाई कसरी नियन्त्रण गर्ने ?  
भ्रष्टाचार भनेको दलिनमा बस्ने कीरो हो । यसले भित्रभित्रै ध्वस्त बनाउँछ । भ्रष्टाचार नियन्त्रणका लागि जनप्रतिनिधि र प्रशासन चलाउने मानिस इमान्दार हुनुपर्छ । जनताबाट चुनिएर गएका प्रतिनिधि र प्रशासन सञ्चालन गर्ने मानिस इमान्दार भएमात्र महानगरमा हुने जस्तोसुकै भ्रष्टाचार अन्त्य हुन्छ । 

अबको महानगर कस्तो हुनुपर्छ जस्तो लाग्छ ? 
अबको महानगर गतिशील र समृद्ध हुनुपर्छ । प्रविधिले युक्त र संसारको गतिसँग अघि बढ्न सक्ने महानगर नै अबको महानगरको परिकल्पना हो । त्यसलाई जनप्रतिनिधिले ध्यान दिन आवश्यक छ । महानगरको इकोनमिक रोडम्याप प्रस्ट हुनुप¥यो, हरेक आर्थिक गतिविधिमा नागरिकको सहभागिता, कम्युनिटी हाउस डाटाबेस प्रणालीको व्यवस्था महानगरमा हुनुपर्छ । 
अहिले महानगरबासीको जीवनशैली निकै चुनौतीपूर्ण बन्दै गइरहेको छ । त्यसैले महानगरले नागरिकका समस्या तत्काल सम्बोधन गर्न सक्नुपर्छ । महानगरबासीले कहाँ, कसरी र कस्तो दुःख भोगिरहेका छन्, त्यसको सम्बोधन गर्ने काम महानगरले गर्न सक्नुपर्छ । साथसाथै यहाँका सांस्कृतिक सम्पदालाई जीवन्त बनाएर यहाँको संस्कृति, परम्पराको संरक्षणको काम पनि महानगरपालिकाले गर्नुपर्छ । 

महानगरको नेतृत्व सम्हाल्न आउँदै गरेका नयाँ जनप्रतिनिधिलाई के सुझाव दिन चाहनुुहुन्छ ? बुँदागतरूपमा भनिदिनूस् न....
हरेक क्षेत्रको विकासका लागि राजनीतिक नेतृत्वको निकै ठूलो भूमिका रहन्छ । राजनीतिक नेतृत्वले मात्र बोल्ड निर्णय गर्न सक्छ । अहिले महानगरमा नेतृत्व सम्हाल्न आउँदै गरेका राजनीतिक नेतृत्वले पनि त्यो हिम्मत गर्न सक्नुपर्छ । 
महानगरको नयाँ नेतृत्वले सबैभन्दा पहिले काठमाडौंको धुलो र प्रदूषण नियन्त्रण गर्नुपर्छ । किनभने महानगरबासी यसबाट निकै ठूलो समस्यामा परिरहेका छन् । त्यस्तै समुदायमा आधारित स्थानीय विकास, संस्कृति, सम्पदा, भाषा र कलाको संरक्षण, विपत् व्गवस्थापनको तयारी, १८ घण्टा सञ्चालन हुने सिटीका रूपमा महानगरको विकास, स्याटेलाइट सहर, त्रासमुक्त महानगर, भएका जग्गाको संरक्षण र नयाँ जग्गा खरिद गरेर खुला ठाउँ र पार्कको व्यवस्थालगायतका काम गर्नुपर्छ । यसो गर्न सकेमा मात्र काठमाडौ महानगरपालिका साँच्चिकै उत्कृष्ट र नमुना सहर बन्न सक्छ । यस्ता विषयमा नवनिर्वाचित जनप्रतिनिधिले ध्यान दिन आवश्यक छ । 

 

प्रकाशित: ४ जेष्ठ २०७४ ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App