८ वैशाख २०८१ शनिबार
कला

सीता बन्ने रहर

मुम्बई  – बलिउड नायिका आलिया भट्टले फिल्मी करियरमा केवल ९ वटा फिल्ममा मात्र अभिनय गरेकी छिन् । आफू अभिनित फिल्मको संख्या कम भए पनि ती फिल्ममा उनले निर्वाह गरेको चरित्र आम दर्शकका लागि सम्झनलायक छन् । कतिपय चरित्रले  समीक्षकबाट पनि राम्रो प्रतिक्रिया पाएको छ ।

फरक चरित्रमा अभिनय गर्न रुचाउने आलियाले भगवान रामकी पत्नी सीताको भूमिकामा फिल्ममा अभिनय गर्ने चाहना देखाएकी छिन् । २४ वर्षीया नायिकाले सीताको भूमिकामा अभिनय गर्न पाए आफ्ना शुभचिन्तकका लागि पनि नौलो स्वाद हुने बताएकी छिन् ।

लेखक आमिश त्रिपाठीको पुस्तक ‘सीता–वारिअर अफ मिथिला’ को लोकार्पण कार्यक्रममा सहभागिता जनाएकी आलियाले पुस्तकको ट्रेलर हेरेपछि सीताको भूमिकामा अभिनय गर्ने इच्छा जगाएकी थिइन् । ‘सीताको भूमिकामा अभिनय गर्नु चाखलाग्दो कुरा हो । यदि कोही निर्माताले यो पुस्तकमा आधारित रहेर फिल्म बनाएमा म सीताको भूमिकामा अवश्य अभिनय गर्नेछु । किनकी सीताको सबै कथा यो पुस्तकमा अट्न सकेको छैन’ उनले भनेकी छिन् । 

आलियाले भारतीय मिथकमा ‘रामायण’ चर्चाको विषय रहने जनाउँदै पर्दामा ‘रामायण’ हेर्दा जनताले आनन्दको अनुभूति लिने बताइन् । ‘सीता आफंैमा जुझारु योद्धा र संरक्षक हुन् । त्यसकारण पनि उनको चरित्र निर्वाह गर्न म उत्साहित छु । मैले यसअघि यस्तो खालको चरित्र निर्वाह गरेको छैन,’ आलियाले भनिन् ।

कार्यक्रममा आलियाले लेखक आमिशलाई ‘यदि मैले सीताको भूमिकामा अभिनय गरेँ भने फिल्ममा मेरो लागि सुहाउँदिलो राम को हुन सक्ला ?’ भनेर प्रश्न गरेकी थिइन् । जवाफमा आमिशले ‘रणवीर सिंह’को नाम लिएपछि आलियाले टाउको हल्लाएकी थिइन् ।  आलिया अभिनेता रणवीर कपुरसँग आर्यन मुखर्जीको फिल्म ‘ड्रागन’मा चाँडै देखिँदैछिन् ।

प्रकाशित: ४ जेष्ठ २०७४ ०६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App