१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

कछुवा

घटना हिजो बिहानैको हो । अझ बिहान सबेरै भन्दा पनि हुन्छ होला । म त ओछ्यानमै थिएँ । कसैले ढोका ढक्ढक्याएको आवाजले म ब्युँझिएँ । हुन त गेटमा घन्टी पनि थियो तर घन्टीको सट्टा ढोकामै ढक्ढक्याएकाले म जुरुक्क उठेँ । बत्ती आइरहेकै थियो । फलतः घन्टी बजाउन कुनै समस्या थिएन तर पनि आगन्तुक घन्टीको सट्टा ढोकैमा बल गरिरहेका छन् । को होलान् यी ? 

उठेर ढोका खोलेँ तर ढोकामा त कोही देखिनँ । तल हेर्छु । ओहो ! त्यहाँ त चार–पाँच वटाको एउटा कछुवाको बथानै पो झुप्प परेर बसेका रहेछन् । कहाँबाट आएछन् यी कछुवा ? घरमा त कुनै कछुवा पालेको थिइनँ । त यी कछुवाहरू कहाँबाट आए ? 

मैले कछुवाहरूलाई गेटबाट हटाउन यसो खुट्टा के उठाएको थिएँ, बीचैमा बसेका एउटा डल्ले  कछुवाले मानिसकै बोलीमा चेतावनी दिए, ‘ए..ए..पख्नोस्, पख्नोस्..के गर्न लागेको यो ? घरमा शरण लिन आएका प्राणीलाई लात्ताले हान्ने ?’

कछुवाको चेतावनीले म हच्केँ, ‘हँ ?!’

मैले केही भन्नै पाएको थिइनँ, उही डल्ले कछुवाले भने, ‘बिहानै डिस्टर्ब गरेकामा क्षमा चाहन्छु । तपाइँलाई भेट्न भनेर हामी त हिजै निस्केका थियौँ, भर्खर आज तपाइँको घर पुग्यौँ...।’

‘त्यो त स्वाभाविकै हो नि ! तपाइँहरू थोडै खरायो हो र हिजोको हिजै आइपुग्नु !’ भन्न त यसो भन्न मन लागेको थियो तर भनिनँ । बरु सोधेँ, ‘ए...तर मेरो घर आउनुको कारण चाहिँ के हो नि ? म यस्तो कछुवा–सछुवा जीवजन्तु पालनमा खासै रुचि त राख्दिनँ नि !’

दोस्रो कछुवाले भन्यो, ‘रुचि नभए पनि केही छैन । हामी तपाइँसँग अर्कै एउटा सहयोग माग्न आएका हौँ । तपाइँ पत्रकार पनि हुनुभएकाले पक्कै सहयोग गर्नुहुनेछ भन्ने आशा छ ।’

मैले पनि भनेँ, ‘सकेको गरौँला नि ! बरु के सहयोग चाहिएको हो तपाइँ कछुवा बन्धुहरूलाई ?’

डल्ले कछुवाले भन्यो, ‘तपाइँले हामीलाई निर्वाचन आयोगसम्म पुर्याइदिनु पर्याे र त्यहाँ पुगेर हाकिमसँग कुराकानी गरिदिनु प¥यो । बस्, त्यत्ति हो !’

निर्वाचन आयोगमा कछुवाको के काम ? मैले भनेँ, ‘त्यो त ठीकै हो तर यतिबेला निर्वाचन आयोग त स्थानीय चुनावको मतगणनामै व्यस्त छ । यस्तो बेला हामीसँग कुरा गर्ने फुर्सदै हुँदैन उहाँहरूलाई ।’

‘हामीले वास्तवमा यही मतगणनाकै सिलसिलामा भेट्न खोजेका हौँ,’ अहिले चाहिँ आप्mनो टपरी जस्तो ढक्कन अलिकति चिरिएको कछुवाले भन्यो, ‘यो मतगणना कार्यमा हामी निर्वाचन आयोगलाई सहयोग गर्न चाहन्छौँ । हामी अहिले पाँच÷छ जना आएका छौँ । यदि आयोग हाम्रो सहयोग लिन तयार भयो भने हामी अरु पनि बथानै साथीहरूलाई बोलाउन सक्छौँ ।’

ओहो, कस्तो प्रस्ताव हो यो ? निर्वाचनको मतगणना कछुवा गतिमा भयो भनेर आयोगको आलोचना भइनैरहेको छ । त्यसमाथि मतगणनामै सहयोग गर्ने कछुवाको प्रस्ताव ? ह्वाट अ जोक ?! मैले सामान्य गम्भीर भएर भनेँ, ‘हेर्नोस्, मतगणना ढिलो भयो भनेर निर्वाचन आयोग त्यसै पनि तनावमा छ । यस्तो बेला तपाइँहरू गएर निर्वाचन आयोगमा कुनै प्रस्ताव राख्नु त हास्यास्पद नै हुन्छ । कृपया अहिलेको समयमा यस्तो ठट्टा नगरौँ ।’

कछुवाहरु मभन्दा नि अधिक गम्भीर भए । डल्लेले भन्यो, ‘वास्तवमा मतगणना ढिलो भएको कारणले नै हामीले सहयोग गर्न खोजेका हौँ । मतगणना ढिलो भएको हामीले थाहा पायौँ । मानिसहरू निर्वाचन आयोगलाई गाली गर्न अनाहकमा हाम्रो नाम लिइरहेका छन् । कोही कछुवा गति भनिरहेका छन्, कोही कछुवा चाल भनिरहेका छन्, कोही कछुवाजस्तो भनिरहेका छन् । यस्तो ठाउँ–कुठाउँ किन हाम्रो नाम लिने ? काम बिगार्ने निर्वाचन आयोग, अनि गाली गर्ने हामीलाई ? यो त हामी कछुवा जातिको घोर अपमान भयो हेर्नोस् ।’

मैले भनेँ, ‘ठीकै छ, त्यसबारे पछि कुरा गरौँला । तर अहिले निर्वाचन आयोग गएर के काम ? अहिले त कुनै कामै छैन ।’

‘कामै अहिले हो नि त,’ टपरी चिरिएका कछुवाले भन्यो, ‘मतगणनाको काम कति सुस्त गतिमा भइरहेको छ तपाइँले देख्नुभएकै होला । यो देखेर हामी नै हैरान छौँ । चिन्ता पनि लागिरहेको छ । कसरी काम गरिहेछ निर्वाचन आयोग ? हामीलाई त मतगणनाको परिणाम सुन्दा सुन्दा झ्याउ लाग्न थालिसकेको छ । त्यसैले मतगणनाको गति कसरी अगाडि बढाउने हो, त्यसमा हामी निर्वाचन आयोगलाई सहयोग गर्न चाहन्छौँ । हामीलाई विश्वास छ, हाम्रो सहयोगले निर्वाचन आयोग यी सबै आलोचनाबाट मुक्त हुन सक्छ ।’

यतिबेला निर्वाचन आयोगलाई गाली गर्नेहरू मात्रै चारैतिर भेटिइरहेका छन् । यस्तो बेला कछुवा नै सही, कोही त आएको छ जो आयोगलाई मतगणनामा सहयोग गर्न चाहन्छ । यो पनि आयोगको लागि खुसीकै कुरा हुनुपर्छ । मैले कछुवागणलाई सोधेँ, ‘लौ ठीकै छ त उसोभए तर केही गरी निर्वाचन आयोगले तपाइँहरूको सहयोग लिने निर्णय गरिहाल्यो भने तपाइँहरू कहिलेसम्म जम्मा हुन सक्नुहोला त ? यतिले त पुग्दैन होला ।’

डल्ले कछुवाले उत्साहपूर्वक जवाफ दियो, ‘हामी सबै यहीं सँगसँगैका खोला, पोखरीहरूमै बस्छौंँ । भेला हुन कुनै समस्या छैन । यदि आह्वान भयो भने एक महिनाभित्रै जम्मा हुन सक्छौँ !’ 

प्रकाशित: ५ जेष्ठ २०७४ ०३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App