६ वैशाख २०८१ बिहीबार
राजनीति

भरतपुर महानगरमा को बन्छ विजेता?

चितवन – सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको भरतपुर महानगरपालिकामा मेयर पदमा आएको सुरुवाती मत परिणामले सबैमा कौतुहल बढाएको छ । अन्तिम परिणाम प्रारम्भिक मतअनुसारकै आउनेछ भनेर निक्र्यौल गर्न भने हतार हुने देखिन्छ । मेयरमा एमालेका उम्मेदवारको अग्रता कायमै छ । तर, सोही पार्टीका नेतासमेत अहिले नै केही भन्न नसकिने बताउँछन् ।

भरतपुर महानगरपालिकामा २९ वटा वडा छन् । यहाँ कुल मतदाता एक लाख ५२ हजार रहे पनि एक लाख १२ हजारले मतदान गरेका छन् । उम्मेदवार नै नभएको चुनाव चिह्नमा मतदान गर्नेको संख्या पनि निकै छ । त्यसैले मेयरमा विजयी हुने उम्मेदवारले ४५ हजारभन्दा माथि ५० हजारको आसपासमा मत ल्याउनुपर्ने अवस्था छ ।

नारायणगढ बजार क्षेत्रका वडामा जस्तो गठबन्धन विरोधी मत पश्चिम क्षेत्रमा नरहेको गठबन्धन पक्षधर नेता बताउँछन्। कांग्रेस चितवनका सचिव उत्तम जोशीका अनुसार २९ मध्ये १७ वटा वडा कांग्रेसका राम्रा आधार भएका वडा हुन्।

भरतपुरका वडा नं. १, २ र ३ को मत परिणामअनुसार एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले पाँच हजार दुई सय १७ मत ल्याएका छन् । कांग्रेस माओवादी गठबन्धनबाट मेयर पदमा उम्मेदवार रहेकी माओवादीकी रेणु दाहालको तीन हजार पाँच सय ३९ मत आएको छ। ज्ञवालीले ४७ प्रतिशत र रेणुले ३३ प्रतिशतको हाराहारीमा मत पाएका छन् । 

भरतपुरमा अब बाँकी वडाको मत परिणाम पनि यसरी नै जाने हो भने ज्ञवाली विजयी हुने अवस्था छ तर यस्तो नै हुन्छ भनेर ठोकुवा गर्न नसकिने एमाले नेता नै बताउँछन् । ‘सुरुवाती लक्षण एकदम उत्साहप्रद छ तर अन्तिमसम्म यस्तै नै हुन्छ भनेर अहिल्यै नभनौं’, एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले भने ।

भरतपुरका १, २ र ३ नम्बर वडा नारायणगढ बजार क्षेत्रका हुन् । यी तीनवटा वडामध्ये २ मा एमाले, १ र ३ मा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । बजार क्षेत्रका कांग्रेस समर्थक मतदाता गठबन्धनको विपक्षमा देखिएका छन् । ‘तर भरतपुर पश्चिम ग्रामीण क्षेत्रमा यस्तै अवस्था छ वा छैन, मत गणना नहुँदासम्म केही भन्न सकिन्न’, एमाले अध्यक्ष पोखरेलले भने ।

भरतपुरको वडा नं. ३ कांग्रेस बलियो भएको वडा हो । त्यहाँ फराकिलो मत अन्तरले कांग्रेसका उम्मेदवार वडाध्यक्षसहित पूरै प्यानलमा विजयी भए । सोही वडामा मेयर पदमा भने ज्ञवालीको मत धेरै आयो । वडा नं. ३ मा ज्ञवालीले १३ सय मत ल्याउँदा गठबन्धनकी उम्मेदवार दाहालको एक हजार हाराहारीमा मत आयो ।

वडा नं. ३ भन्दा पनि सुरक्षित ठानिएका ‘कांग्रेसका गढ’ वडाको मत गन्न बाँकी नै छ । भरतपुरको बजारदेखि पश्चिम लाग्दै जाँदा एमालेका उम्मेदवार र दाहालबीचको मतअन्तर कम फराकिलो हुन थालेको छ । वडा नं. ६ को मत परिणामपछि दाहाल ज्ञवालीभन्दा अगाडि आउने सम्भावना छ ।

‘वडा नम्बर ६, ७, ८ र ९ सम्म जाँदा हाम्रो उम्मेदवारको मत अन्तरको अवस्था अहिलेकै रहन्छ भन्ने सम्भावना छैन । त्यसो हुँदा पनि हामी पूरै निराश हुनुपर्ने छैन’, एमाले अध्यक्ष पोखरेलले भने । वडा नं. ६ मा कांग्रेसको किल्ला मानिएको गीतानगरसमेत पर्छ, जहाँ कांग्रेसले मेयर पदमा उम्मेदवारी दर्ता गराएर अन्तिम समयमा नाम फिर्ता लिएका दिनेश कोइरालाको घर छ । त्यहाँ कांग्रेस बलियो र माओवादी दोस्रो नम्बरमा छन्, एमाले कमजोर छ । माओवादी समर्थक यो वडाबाट दाहालले मतअन्तर घटाउने आशामा छन् । वडा १०, ११ र १२ ले सदरमुकाम भरतपुरको घना अवादी क्षेत्र ओगटेका छन् । एमालेका नेता सदरमुकाम क्षेत्रमा रहेका यी तीन वडामा आएपछि आफ्नो मत संख्यामा राम्रै सुधार हुने बताउँछन् । यी धेरै मतदाता रहेका वडा हुन् । एमालेका लागि त्यसपछिको चुनौती पनि कम छैन । भरतपुर पश्चिम मंगलपुर, शिवनगर, फूलबारी, शारदानगर, गुन्जानगरजस्ता कांग्रेस बलियो रहेका वडाको मतले अग्रता घट्ने एमालेको आकलन छ । तर, यी गाउँमा पछिल्लो समय एमालेको पनि संगठन बढेका कारण ठूलो नोक्सानी बेहोर्नुनपर्ने नेता बताउँछन् ।

माओवादीले सुरक्षित ठान्ने गरेको पटिहानी शिवनगर क्षेत्रका वडा १३ र २० मा पनि एमालेलाई कम मत आउन सक्छ तर  २७ र २८ नम्बर वडामा पुगेपछि आफ्ना पक्षमा मतअन्तर सुधारिने आशा एमालेको छ। वडा २९ मा आफ्नो पकड राम्रो भएको एमालेको दाबी छ । त्यहींको निर्णायक मतले विजयी हुने उसको आकलन छ । 

नारायणगढ बजार क्षेत्रका वडामा जस्तो गठबन्धन विरोधी मत पश्चिम क्षेत्रमा नरहेको गठबन्धन पक्षधर नेता बताउँछन्। कांग्रेस चितवनका सचिव उत्तम जोशीका अनुसार २९ मध्ये १७ वटा वडा कांग्रेसका राम्रा आधार भएका वडा हुन्। महानगरपालिकामा कांग्रेसको मत ४५ हजारको हाराहारीमा रहेको उनको अनुमान छ । कांग्रेसका सक्रिय कार्यकर्ता १५ हजारभन्दा धेरै छन् ।

‘हाम्रा कार्यकर्ता गठबन्धनप्रति प्रतिबद्ध छन्, मत हालेका छन् । मत परिणाममा त्यो झल्केको छ । तर, नारायणगढ क्षेत्रको परिणाम हेर्दा कांग्रेसलाई मत दिने मतदाता सबैले गठबन्धन उम्मेदवारलाई नै मतदान नगरेको देखिएको छ । यो अवस्था पश्चिम लागेपछि रहने छैन’, सचिव जोशीले भने ।

प्रकाशित: ५ जेष्ठ २०७४ ०४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App