काठमाडौं – सहरिया लुक्समा एक्सन भूमिकामा देखिँदै आएका अभिनेता अनुपविक्रम शाही रिलिज मिति घोषणा नगरिएको फिल्म ‘कमलेको बिहे’मा ग्रामीण ब्राह्मण युवाको भूमिकामा देखिएका छन् । फिल्म युनिटले बिहीबार राजधानीमा सार्वजनिक गरेको ट्रेलर तथा गीतमा अनुपलाई गाउँले चरित्रमा देखाइएको हो।
कार्यक्रममा नायक अनुप अनुपस्थित भए पनि फिल्मका निर्देशक प्रसन्न पौडेलले उनलाई ग्रामीण चरित्रमा अभिनय गराउनुको कारण खुलाए । ‘मैले अनुपको चार, पाँचवटा फिल्म हेरें । अधिकांश फिल्ममा उसलाई एक्सन भूमिकामा प्रस्तुत गरिएको छ । त्यसकारण पनि मैले नयाँ चरित्रमा फिल्ममा ल्याएको हुँ,’ प्रसन्नले भने, ‘अनुप पनि एक्सनभन्दा भिन्न चरित्र निर्वाह गर्न चाहन्थ्यो । मेरो चाहना पनि त्यस्तै थियो।’
प्रसन्नले अनुपले निर्वाह गरेको ‘कमले’को भूमिकामा अन्य एक कलाकारलाई अनबुन्धित गरे पनि ती कलाकारले अन्तिममा आएर समय नदिएपछि अनुपलाई भूमिका दिइएको खुलाए । फिल्ममा कमले नाउँको चरित्रले चमेली नामकी युवतीलाई बिहे गर्न खोज्दा उत्पन्न हुने परिस्थितिलाई देखाइएको छ।
‘कमलेले चमेलीलाई विवाह गर्छ वा गर्दैन भन्ने कथालाई फिल्ममा देखाएका छौं,’ उनले भने, ‘भगवान कृष्णले १६ सय गोपिनीसँग प्रेम गरेको कुरा पढेको कमले फिल्ममा आफूले चाहिँ प्रेम गर्न किन नहुने भन्ने तर्कसहित प्रस्तुत भएको छ ।’
फिल्म ‘ड्रिम्स’मा आफूले केमियो मात्र गरेको दाबी गरेकी सन्ध्या केसीले ‘कमलेको बिहे’ आफ्नो डेब्यु फिल्म रहेको बताइन् । तर, उनले यसअघि ‘ह्याप्पी न्यु इयर’ र ‘कथा काठमान्डु’मा अभिनय गरिसकेकी छिन् । ‘फिल्ममा म चमेलीको भूमिकामा छु । पूर्ण नायिकाको भूमिकामा अभिनय गर्दा निकै रमाइलो भयो,’ टेलिभिजनकी भिजेसमेत रहेकी सन्ध्याले भनिन् ।
कार्यक्रममा फिल्मको नयाँ गीत ‘टाकन टुकुन’ पनि सार्वजनिक गरिएको थियो । गीतमा राजनराज शिवाकोटी र माण्डवी त्रिपाठीको स्वर तथा राजनकै शब्द, संगीत छ।
सरिता मुभिज ब्यानरमा निर्माण भएको फिल्ममा विनोद न्यौपाने, विशाल पहाडी, इशान ढकाल, किरण लाकौललगायतका कलाकारको अभिनय छ । नेपालको पश्चिम भेगमा छायांकन गरिएको फिल्ममा सरिता लामा निर्मात्री र दीपक विष्ट कार्यकारी निर्माता छन् । फिल्ममा तारा थापा ‘किम्भे’को सम्पादन, विदुर पाण्डेको छायांकन, सम्राट बस्नेतको द्वन्द्व छ । फिल्मलाई महेश दवाडीले लेखेका हुन्।
प्रकाशित: ५ जेष्ठ २०७४ ०५:२७ शुक्रबार