coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

१० जीवन बिमा कम्पनीलाई लाइसेन्स

काठमाडौं – अर्थमन्त्री कृष्णबहादुर महराले १० जीवन बिमा कम्पनीलाई सञ्चालन स्वीकृति दिएका छन् । युनियन, आइएमई, सिटिजन्स, रिलायबल, ज्योति, महालक्ष्मी, सन नेपाल,  सानिमा, स्टार र रिलायन्सले बिहीबार सैद्धान्तिक स्वीकृति पाएका हुन्।

१२ वटा जीवन बिमा कम्पनीले बिमा समितिमा सञ्चालन स्वीकृतिका लागि आवेदन दिएका थिए । त्यसमध्ये समितिले १० वटाको फाइल अर्थ मन्त्रालयमा पठाएको थियो । युनि लाइफ र स्ट्यान्डर्ड लाइफ इन्स्योरेन्सलाई बिमा समितिले सिफारिस नगरेका कारण सैद्धान्तिक स्वीकृति पाएन ।

बिमा समितिले सिफारिस गरेका सबैलाई स्वीकृति दिइएको अर्थ मन्त्रालयका सूचना तथा सञ्चार विज्ञ त्रिभुवन पौडेलले बिहीबार नागरिकलाई बताए । ‘बिमा समितिले सिफारिस गरेका जीवन बिमा कम्पनीलाई अर्थ मन्त्रालयले सहमति दिएको हो,’ उनले भने, ‘ती कम्पनी पहिलेदेखि नै प्रक्रियामा रहेका थिए ।’

नयाँ कम्पनी सञ्चालनमा आए जीवन बिमा कम्पनीको संख्या १९ पुग्नेछ । यसअघि नौ जीवन बिमा सञ्चालनमा आइसकेका छन् । 

अर्थमन्त्री महराले सैद्धान्तिक स्वीकृति दिएका उक्त कम्पनीहरु ६ महिनाभित्र सञ्चालनमा आउने छन् । अब नियामक निकाय बिमा समितिको सामान्य प्रक्रिया पूरा गरेपछि उनीहरुले अन्तिम स्वीकृति पाउने छन् ।

अन्तिम स्वीकृतिका लागि आवेदन दिनुअघि कम्पनीहरुले तोकिएको चुक्ता पुँजी, कम्पनीका लागि आवश्यक पूर्वाधार निर्माण, कर्मचारी व्यवस्थापन लगायत प्रक्रिया पूरा गर्नुपर्ने छ । 

२०६४ पछि कुनै पनि बिमा कम्पनीलाई लाइसेन्स बाँडिएको थिएन । त्यसभन्दा पहिले नै दर्ता भएर बसेकालाई लाइसेन्स दिइएको बिमा समितिको भनाइ छ ।

जीवन बिमा कम्पनीहरुले चुक्ता पुँजी न्यूनतम दुई अर्ब रुपैयाँ पुर्याउनुपर्ने छ । यसअघि जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी ५० करोड र निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी २५ करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था थियो । नयाँ व्यवस्था अनुसार, निर्जीवन बिमा कम्पनीले पनि चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुर्याउनु पर्छ ।

प्रकाशित: ५ जेष्ठ २०७४ ०५:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App