६ वैशाख २०८१ बिहीबार
अन्तर्वार्ता

जनतालाई छुने गरी काम गर्छु : विद्यासुन्दर शाक्य

विद्यासुन्दर शाक्य, नवनिर्वाचित मेयर, काठमाडौं

स्थानीय तह निर्वाचनमार्फत काठमाडौं महानगरपालिकाले झन्डै दुई दशकपछि जनप्रतिनिधि अर्थात् मेयर पाएको छ। पहिलो चरणको निर्वाचन भएको दुई सातापछि सोमबार सार्वजनिक निर्वाचन परिणामअनुसार नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य ६४ हजार नौ सय १३ मत ल्याएर विजयी भएका छन्।

देशको राजधानी र मुलुककै पहिलो महानगर काठमाडौंका बासिन्दा दैनिक सानासाना समस्याबाट जुध्नुपर्ने बाध्यता छ।  अव्यवस्थित सहरीकरण, अस्तव्यस्त जीवनशैली र उच्च प्रदूषणको सिकार बनिरहेका काठमाडांै महानगरबासी नवनिर्वाचित महानगर प्रमुखले यस्ता समस्या जतिसक्दो छिटो समाधान गरिदिऊन् र काठमाडांैलाई स्वच्छ र समृद्ध सहरका रूपमा विकास गरून् भन्ने चाहन्छन्। नवनिर्वाचित मेयर अब कसरी अगाडि बढ्छन् त? यिनै विषयमा मेयर शाक्यसँग नागरिकका लागि वसन्त खड्काले गरेको कुराकानी  : 

कार्यभार कहिलेदेखि सम्हाल्दै हुनुहुन्छ?

बुधबार शपथ ग्रहण कार्यक्रम छ। शपथ लिएपछि औपचारिक रूपमा जिम्मेवारी पनि सुरु हुन्छ। 

जिम्मेवारी सम्हालिसकेपछि कस्ता विषयलाई प्राथमिकतामा राख्नुहुन्छ?

मेरो प्राथमिकतामा धेरै विषय छन्। हामीले घोषणापत्रमा पनि सुन्दर, सुरक्षित, समृद्ध र जीवन्त सहर बनाउने परिकल्पना गरेका छौं। ती विषय मेरो प्राथमिकतामा पर्छन्। काठमाडांैमा ठूलो चुनौतीका रूपमा रहेको प्रदूषण, फोहोर व्यवस्थापन, भूकम्पबाट भत्किएका संरचना निर्माण, ट्राफिक व्यवस्थापनलगायतका विषय छन्। यस्ता विषयलाई प्राथमिकतामा राखेर काम अघि बढाउँछु। चुनावी घोषणापत्रमा परिकल्पना गरेका विषयलाई व्यवहारमा देखाउने बेला आएको छ। त्यसैले यसलाई बोलेर भन्दा पनि व्यवहारमा देखाएर पुष्टि गर्न चाहन्छु।

महानगरबासीले दैनिक भोग्दै आएका समस्यालाई कसरी समाधान गर्नुहुन्छ? 

काठमाडौंमा अहिले मुख्य गरी धुलोधुवाँ र फोहोरमैलाको समस्या छ। हामीसँग सरसफाइका लागि आवश्यक जनशक्ति पनि छ। तर त्यो जनशक्तिलाई सही ढंगले परिचालन गर्न नसक्दा सकारात्मक परिणाम देखिएको छैन।  हामीसँग रहेको जनशक्तिको सही ढंगले परिचालन गरेमात्र पनि समस्या समाधान गर्न सकिन्छ। हाल सडक विस्तार कार्य तीव्र गतिमा भइरहेको छ। यसबाट ट्राफिक समस्या केही सहज हुने अपेक्षा गरिएको छ। तर यसले मात्र समस्या समाधान हुँदैन।  चक्रपथबाहिर पार्किङ मलको व्यवस्था गर्नुपर्छ।

सार्वजनिक यातायात व्यवस्थित गर्न सुविधासम्पन्न सिटी बस सञ्चालन गर्ने, सार्वजनिक यातायातमा बढीभन्दा बढी सुविधा प्रदान गर्ने र सार्वजनिक यातायात प्रयोगका लागि नागरिकलाई प्रोत्साहन गर्ने योजना ल्याउनेछु। सहज ढंगले काम गर्न कतिपय अवस्थामा ऐनकानुन अभाव छ। त्यसका लागि ऐनकानुन निर्माण तथा संशोधनलगायतका विषयलाई पनि सम्बोधन गर्न आवश्यक छ।

यस्ता समस्याबाट राहत पाउन महानगरबासीले अझै कति समयसम्म कुर्नुपर्ला?

महानगरबासीले मलाई जिम्मेवारी सुम्पिसक्नुभएको छ। उहाँहरूले आफ्नो दायित्व पूरा गरिसक्नुभयो। अब उहाँहरूको समस्या समाधान गर्ने दायित्व मेरो काँधमा आएको छ। यो जिम्मेवारीलाई गम्भीर ढंगले लिँदै तत्कालै महसुस हुने गरी काम अघि बढाउँछु। अब छोटो अवधिमै नागरिकले राहत महसुस गर्ने गरी काम अघि बढाउँछु।

तपाईंले परिकल्पना गरेको काठमाडौं कस्तो हो?

काठमाडौं अन्तर्राष्ट्रिय रूपमा सांस्कृतिक सहरका रूपमा परिचित सहर हो। त्यसैले यसलाई सांस्कृतिक सहरकै रूपमा विकास गर्नुपर्छ। यसलाई हेरिटेज सिटीका रूपमा विकास गर्नुपर्छ भन्ने मेरो मान्यता हो। साथै यसलाई पर्यटकीय सहरका रूपमा पनि विकास गर्नुपर्छ। काठमाडौंमा स्वदेशी तथा विदेशी पर्यटक भिœयाउन आधुनिक प्रविधिको उच्चतम प्रयोग गरेर सुविधासम्पन्न सहरका रुपमा विकास गर्नुपर्छ भन्ने मेरो सोचाइ छ। सुविधासम्पन्न, स्वच्छ र समृद्ध महानगर नै मैले परिकल्पना गरेको काठमाडौं सहर हो। यसलाई कार्यान्वयन गरेर देखाउनु छ। 

तपाईंले सोचेअनुसार काम गर्न सहज छ त? फरक विचारलाई सम्बोधन गर्नुपर्ने चुनौती पनि छ होला नि?

निर्वाचनमार्फत हामी पहिलो भएका हौं। तर हामीबाहेक अन्य शक्तिको पनि महŒवपूर्ण उपस्थिति छ भन्ने कुरामा म सजग छु। त्यसैले कुनै पनि काम गर्दा सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्छु। हरेक राजनीतिक दलले अघि सारेका राम्रा कामलाई आत्मसात् गर्दै अघि बढ्छु। अर्काेतर्फ समृद्ध र स्वच्छ सहर हाम्रो मात्र परिकल्पना होइन, सबैजसो राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्रमा राखेको विषय हो। त्यसैले यो सबैको साझा सपना हो। सबैले साझा रूपमा परिकल्पना गरेको सहको विकास गर्दा कसैले असहयोग गर्छ भन्ने मलाई लाग्दैन। सबैको साझा जनप्रतिनिधिका रूपमा काम गर्ने अठोट लिएकाले सबै क्षेत्रबाट सहयोग र समर्थन हुन्छ भन्नेमा विश्वस्त छु। 

सहर सुन्दर बनाउन सहरमा रहेका नदी पनि स्वच्छ हुुनुपर्छ, काठमाडांैका दूषित नदीहरुरूको व्यवस्थापन कसरी गर्नुहुन्छ?

हामीले बाग्ामती तथा अन्य नदीको सरसफाइमा धेरै लगानी गरिसकेका छौं। फोहोरमुक्त बनाउने भनेर काम गरे पनि अहिलेसम्म प्लास्टिक मात्र मुक्त गर्न सकेका छौं। फोहोरमुक्त हुन सकेको छैन। त्यसैले मेरो प्राथमिकता नदीबाट फोहोरमुक्त बनाउने हुन्छ। ढलको वैकल्पिक व्यवस्था नगरेसम्म काठमाडौंका नदी स्वच्छ र सफा बनाउन सकिँदैन। मैले बाग्ामतीलगायतका नदीमा जाने ढलको वैकल्पिक व्यवस्थामा जोड दिन्छु। यो काम तुरुन्तै सम्भव नहोला तर दीर्घकालीन रूपमा यहाँका नदीलाई स्वच्छ बनाउन सकिन्छ भन्नेमा विश्वस्त छु।

पछिल्लो समय सुकुमबासी समस्या पनि चुनौतीका रूपमा देखिएको छ, यसलाई कसरी समाधान गर्नुुहुन्छ?

सुकुमबासी समस्या काठमाडौंको मात्र होइन, राष्ट्रिय समस्या हो। यो महानगरले मात्र चाहेर समाधान हुँदैन। यसका लागि आयोग नै बनिसकेको छ। त्यसबाटै समस्याको समाधान खोज्नुपर्छ। पछिल्लो समय भूमिहीन मात्र होइन घरजग्गा भएकाहरु पनि सडक विस्तारका क्रममा सुकुमबासी हुने अवस्था सिर्जना भइरहेको छ। बरु राज्यले अधिग्रहण गरेको जग्गाको उचित मुआब्जा दिएर पीडितलाई राहत दिन आवश्यक छ।

महानगरभित्रका सरकारी कार्यालयले प्रदान गर्ने सेवाबारे बेलाबेलामा आलोचना भइरहन्छ, यसलाई कसरी सुधार गर्नुहुन्छ?

स्थानीय निकायमा जनप्रतिनिधिले जिम्मेवारी सम्हालेपछि यो समस्या आफैं समाधान हुन्छ। कर्मचारीले जनताको अभिमत लिएका हुँदैनन्, त्यसैले उनीहरू जनताप्रति उत्तरदायी नहुन सक्छन् तर जनताको अभिमत लिएर गएका प्रतिनिधिले जिम्मेवारी सम्हालेपछि त्यस्तो गर्ने सम्भावना कम हुन्छ। किनभने भोलि पनि जनताको अभिमत लिनुपर्ने भएकाले  जनप्रतिनिधि जनताप्रति बफादार हुन्छन्। बरु जनप्रतिनिधिबीचमा काम गर्ने प्रतिस्पर्धाले जनताले थप सहज र सरल ढंगले सेवा लिन सक्छन्।  

काठमाडांैमा हाल खुला ठाउँ अभाव छ, प्राकृतिक विपत्तिका बेला कसरी सुरक्षित हुने भन्ने चुनौती छ। यसबारे केही सोच्नुभएको छ?

महानगरका सार्वजनिक जग्गा संरक्षण गर्नुपर्छ।  काठमाडौंमा मात्र होइन अन्य नगरमा पनि काठमाडौंमा जस्तै पूर्वाधार र सुविधा थप्न सकियो भने बढ्दो जनघनत्व कम गर्न सकिन्छ। अर्काेतर्फ यहाँ निजी घर निर्माणका लागि कुनै मापदण्ड छैन। हामी मापदण्ड परिमार्जनका विषयमा पनि छलफल गर्छौं। काठमाडौंमा खुला ठाउँको व्यवस्था गर्ने विषयलाई प्राथमिकतामा राखेर काम गर्छु। 

काठमाडौंमा मोनोरेल सञ्चालन गर्ने विषयलाई कतिपयले हल्का ढंगले लिइरहेका छन्, यसमा तपाईंको प्रतिक्रिया के छ? 

मोनोरेल हामीले उठाएको विषय हो।  यसलाई मजाकको विषय पनि बनाइयो। तर अहिले यो सबै राजनीतिक दलको अजेन्डा बनेको छ।  सम्भव नभएको भए सबैको अजेन्डा कसरी बन्न सक्थ्यो? चक्रपथमा मोनोरेल सञ्चालन गरेर छोटो अवधिमा लामो यात्रा सहज ढंगले पूरा गर्न सकिन्छ। यो सम्भव छ र हामीले गरेर देखाउँछौं।

अन्त्यमा, तपार्इंलाई यो जिम्मेवारीमा पुर्‍याउने मतदातालाई केही भन्न चाहनुहुन्छ?

सर्वप्रथम मलाई यो जिम्मेवारीमा पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु।  मलाई भोट दिने कयौं मतदाताले व्यक्तिगत रूपमा विद्यासुन्दरलाई  चिन्नुहुन्न।  तर हामीले अघि सारेका अजेन्डालाई विश्वास गरेर उहाँहरूले मलाई यो ठाउँमा पुर्‍याउनुभएको छ। तपाईंहरूले आफ्नो दायित्व पूरा गरिसक्नुभयो। अब जिम्मेवारी मेरो काँधमा छ। म यो जिम्मेवारी बोध गर्दै आफूले बोलेका कुरालाई व्यवहारमा देखाउनेछु। तपाईंहरू ढुक्क हुनुहोस्, मेरो प्रतिबद्धता व्यवहारमा अवश्य पनि लागू गर्नेछु।

प्रकाशित: १५ जेष्ठ २०७४ ०४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App