४ वैशाख २०८१ मंगलबार
समाज

दुई वर्ष बित्दा पनि टहरामै भूकम्प पीडित

नुवाकोट– दुई वर्षअघि गएको भूकम्पले नुवाकोटलाई पनि नराम्रोसँग हल्लायो। धेरैको ज्यान गयो। कैयौं घाइते भए। भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि नुवाकोटबासीमा भूकम्पले बनाएको घाउ अझै आलै छ। पीडितहरूले राहत पाएका छैनन्। घर भत्किएकाहरु टहरामा बस्न विवश छन्।

सरकारले भूकम्प पीडितलाई तीन किस्तामा तीन लाख अनुदान दिने निर्णय गरेको छ। तर यहाँका भूकम्पपीडितले सो रकम अझै पाउन सकेका छैनन्। 

भत्केर बस्न नसक्ने अवस्थामा रहेको घरलाई पनि सुरक्षित छ, बस्न योग्न छ भनेर पीडितको सूचीमा नराखेको गुनासाहरु नुवाकोटमा प्रशस्त छन्। बेलकोटगढी ९ का नारायण प्रसाद भट्ट सरकारले अनुदान रकम दिन ढिलाइ गरेको र वास्तविक पीडितको नाम पीडितको सूचीमा नै नपरेकाले सर्वसाधारणलाई समस्या परेको बताउँछन्।

घर बस्न नै नहुने भएपनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कर्मचारीले बस्न योग्य भएको बताएपछि उनले पुनःनिर्माण प्राधिकरणमा गुनासो दर्ता गराएका थिए। 

लिखु –१ सानीटारका रामप्रसाद ढकालको समस्या पनि झण्डै झण्डै यस्तै नै छ । प्राधिकरणले आफ्नो नाम सूचीमा नराखे पछि उनी दैनिक जसो पुनःनिर्माण प्राधिकरण धाइरहेका छन्। प्राधिकरणका कर्मचारीले सही ढंगले काम नगरेको र राजनीतिक दलहरूले पनि यसप्रति चासो नदेखाएको उनको गुनासो छ।

भूकम्प गए लगत्तै पनि राजनीतिक दलहरूले आफ्नो पार्टीका मानिसहरूलाई मात्र राहत उपलब्ध गराएको र मिडियाले पनि उनीहरूले बाँडेको राहत सामग्रीको बढाइचढाइ गरेको उनको भनाइ छ।

भूकम्पबाट घर भत्किएपछि सरकारले सहयोग गर्ला नगर्ला लामो समय दुविधै रह्यो। सरकारको भर नदेखेपछि कतिपयले आफ्नै बुताले घर बनाए। ‘सरकारको भर नलागेर ऋण खोजेर आफ्नै प्रविधिमा घर बनाइयो पछि सरकारले भूकम्प पीडितको सूचीमा नाम राखेर पहिलो किस्ता दियो। पछि दोश्रो र तेश्रो किस्ताका लागि इन्जिनियरले घर भूकम्प प्रतिरोधी छैन् भनेर पास गरिदिएनन्’, अर्का एक पीडितको गुनासो छ, ‘दोश्रो र तेश्रो किस्ता लिएर साहुको ऋण तिरौँला भन्ने सोचेको थिए तर भूकम्पले थिलथिलो पारेको घाउमा सरकारले अझै नुनचुक छर्ने काम गर्याे।’

राष्ट्रिय पुनः निर्माण प्राधिकरणका अनुसार जिल्लामा ६९ हजार २ सय ८४ घर भूकम्पबाट प्रभावित छन्। त्यसमध्ये ६२ हजार ६ सय २३ सँग अनुदान सम्झौता भइसकेको छ।  त्यसमध्ये ६२ हजार ३ सय ८७ (२८३०ले गैरसरकारी संस्थामार्फत) ले पहिलो किस्ताको रकम प्राप्त गरिसकेका छन्, ३ हजार ८ सय ८५ (६८८ले गैरसरकारी संस्थामार्फत) ले दोश्रो किस्ता र १४६ ले गैरसरकारी संस्थामार्फत तेश्रो किस्ताको रकम प्राप्त गरिसकेका छन्। 

२ हजार ९५६ गारोवाला र ९४० पिलरवाला घर निर्माण भइसकेका छ । २५०० पिलरवाला र ४२०० गारोवाला घर  निर्माणाधीन छन्। 

राष्ट्रिय पुनः निर्माण प्राधिकरण नुवाकोटका प्रमुख इन्जिनियर वेदप्रसाद गौडेल जिल्लामा करिव ९६ प्रतिशत अनुदान सम्झौता भइसकेको बताउँछन्। उनका अनुसार पहिला नै घर बनाउनेको घर अनुगमन गरी कति सुधार गर्नुपर्ने हो त्यो हेरेर मर्मत संभार गर्ने सुझाव दिइएको छ।

 

प्रकाशित: २५ जेष्ठ २०७४ ११:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App