coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्वार्ता

चुनावी सुरक्षा तयारी पूरा :  गृहमन्त्री

गृह मन्त्रालयको नेतृत्व बुधबारदेखि सम्हालेका गृहमन्त्री जनार्दन शर्मासँग चुनावी सुरक्षाबारे नागरिककर्मी केपी ढुंगानाले गरेको कुराकानी:

असार १४ मा दोस्रो चरणको चुनाव त हुन्छ?

हुन्छ। मधेसी दलको मागअनुसार स्थानीय निकाय ऐन संशोधन भइसक्यो। यसले राजनीतिक स्तरमा विश्वासको वातावरण बनेको छ। प्रतिपक्षी एमाले संविधान संशोधन गर्न सकारात्मक देखिएको छ। अब राष्ट्रिय जनता पार्टी नेपाल पनि निर्वाचनमा आउने देखिएको छ। राजपा निर्वाचनमा आउँछ भन्नेमा सरकार विश्वस्त छ। त्यसैले निर्वाचनको वातावरण सहज र बलियो बनेको हाम्रो विश्वास छ।

सुरक्षा तयारी कस्तो छ?

सरकारले वैशाख ३१ गते नै स्थानीय तहको सम्पूर्ण निर्वाचन गर्ने तयारी गरेको थियो। संविधानप्रति असन्तुष्टि जनाउँदै आएका दलहरूलाई सहभागी गराउन चुनाव मिति सारिएको हो। मिति सरे पनि सुरक्षा तयारी पूरा भइसकेको छ। मन्त्रालयले निर्वाचन हुन बाँकी जिल्लामा कहाँ कस्तो सुरक्षा चुनौती छ भन्ने आकलन गरिसकेको छ। सरकारले सुरक्षाको पूर्ण व्यवस्था मिलाइसकेको छ।

भनेपछि कुनै सुरक्षा चुनौती छैन त?

हरेक पक्षमा चुनौती हुन्छन्। तर चुनौतीभन्दा सकात्मक र राम्रा पक्ष बढी छन्।

नेत्रविक्रम चन्दलगायत केही शक्ति निर्वाचनको विपक्षमा छन्। उनीहरूले निर्वाचन बिथोल्ने नीति सार्वजनिक गरेका छन्। उनीहरूबारे मन्त्रालयको नीति के हो?

केही शक्ति निर्वाचनका विपक्षमा देखिएका छन्। उनीहरूले चुनावमा भाग लिन्नौं भनेका छन्। भाग लिन्न भन्न पाउनु उनीहरूको अधिकार हो। यसलाई सकारात्मक रूपमा लिनुपर्छ। भाग लिन्न भन्न पाइन्छ तर भाँड्ने कुरा गर्नु हुँदैन।

मन्त्रीको कार्यभार सम्हालेदेखिनै प्रहरीको चेन अफ कमान्डको विषय उठाइरहनुभएको छ। तपाईंको विश्लेषणमा प्रहरीमा चेन अफ कमान्डको समस्या छ भन्ने हो?

प्रहरी संगठनमा विविध समस्या छन्। तिनको समाधान गर्नुपर्छ भन्ने हो। यसका लागि चेन अफ कमान्डको पालना हुनुपर्छ।

विवादले प्रहरी संगठनमा वृत्ति विकासको काम ठप्प भएका छन्। अब ती के हुन्छन्?

ती सबै विषय तत्काल अगाडि बढ्छन्। समस्याको समाधान नियमसंगत हुन्छन्।

नयाँ गृहमन्त्रीले राजनीतिक दबाब हुन्न भन्छन् तर आफैं दबाब दिन्छन्। तपार्इंको पनि बोलीमा मात्रै प्रतिबद्धता होला हैन?

म सुरक्षा संगठन राजनीतिक प्रभावबाट मुक्त हुनुपर्छ भन्नेमा दृढ छु। मैले बोलेको कुरा पूरा हुन्छ या हुन्न त्यो पनि हेर्नुहोला। मैले भनेको कुराको परीक्षणका लागि समय दिनुस् न।

प्रकाशित: २६ जेष्ठ २०७४ ०६:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App