coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश–७ का मतदाता भन्छन्- 'देखिने विकास चाहिएको छ'

धनगढी- मतदाताले राजनीतिक दलका नेताबाट मिठामिठा आश्वासन नभई सबैले देख्ने खालका भौतिक विकास चाहेका छन्। उम्मेदवारले निर्वाचनका बेला ठूलाठूला आश्वासन दिने तर जितेपछि पूरा नगर्ने भएकाले मतदाताले देखिने विकासका काम चाहेको बताएका छन्। 'गत संविधानसभाको चुनावमा शेरबहादुर देउवालगायतका सबै उम्मेदवारले धनगढीबाट बेहेडाबाबा मन्दिरसम्मको कच्ची सडक पिच बनाउने आश्वासन दिए, पछि फर्केर पनि हेरेनन्,' उर्माकी मीना चौधरीले भनिन्, 'अहिले हामीलाई आश्वासन होइन, देखिने विकास चाहिएको छ।'

विगतमा आश्वासन दिने र पूरा नगर्ने भोगाइ तथा चेतना वृद्धिले मतदाताहरू उम्मेदवारका आश्वासन पत्याउने पक्षमा छैनन्। मतदाताले आश्वासन नमान्ने भएकाले सिंहदरबार गाउँमा लैजाने अधिकार सम्पन्न स्थानीय तहको निर्वाचनमा राजनीतिक दलका उम्मेदवार पनि विगतको भन्दा फरक अजेन्डासहित चुनावी प्रतिस्पर्धामा छन्। 'मतदाता धेरै जागरुक छन्। उनीहरू दलका नेताले भनेका झूटा कुरा पत्याउने पक्षमा छैनन्,' बैतडी पाटनका बुद्धिजीवी जनक पाण्डेयले भने, 'झूटो कुरा मतदाताले नपत्याउने भएकाले उम्मेदवारलाई पनि गर्न सक्ने कुराको मात्र आश्वासन दिन दबाब परेको छ।' विगतको जस्तो बाबुबाजेले वा पहिले आफूले दिएकोलाई मतदान गर्नुपर्छ भन्ने सोच पनि टुट्दै गएको उनको भनाइ छ। उम्मेदवारले परम्परागत कुरा लगेर मतदाताको मन जित्ने कोसिस गरेमा फलदायी नहुने धेरैको बुझाइ छ।

'विगतका चुनावमा परम्परागत कुरा हुन्थे, अहिले उम्मेदवारले जनतासँग जोडिएका गर्न सकिने विकासका अजेन्डा ल्याएका छन्,' अर्का बौद्धिक व्यक्तित्व डा. हेमराज पन्त भन्छन्, 'गाउँगाउँमा बढेको चेतनाका कारण दलका नेता झूटो आश्वासन दिएर मतदाता फकाउन सक्ने अवस्थामा छैनन्।'

सूचना प्रविधिको विकासले मतदातामा चेतना बढेको उनको भनाइ छ। गाउँमा वैदेशिक रोजगारीबाट फर्किएका युवा जमात भएकाले उनीहरूले त्यहाँबाट सिकेका र देखेका विकास कुरा उम्मेदवारबाट अपेक्षा गरेको उनले बताए। 'उम्मेदवारले मतदाताको मन जित्न आश्वासन मात्र नभई 'भिजन' सहित गर्न सकिने कामको अजेन्डा लगेका छन्।'

इन्सेकका क्षेत्रीय संयोजक खडकराज जोशीले प्रदेश नम्बर ७ का विभिन्न जिल्लामा गरेको अनुमगनबाट मतदातामा सचेतना बढेको बताए।

प्रदेश नम्बर ७ का जनताले सबैभन्दा बढी बेरोजगारीका कारण भारतलगायतका ठाउँमा जानुपर्ने समस्या समाधान गर्न रोजगारी सिर्जना गर्नुपर्ने माग राखेका छन्।

'जनताले आफ्नो जीवनस्तर उकास्ने ससना अजेन्डा चाहेका छन्। सबैभन्दा धेरैले रोजगारीको माग गरेका छन्,' डडेल्धुराको परशुराम नगरपालिकामा कांग्रेसबाट मेयर उम्मेदवार बनेका भीमबहादुर साउँदले भने। 'मतदाताले सडक सञ्जाल, खानेपानी, बिजुली, सिँचाइ, रोजगारीलगायतका विकासका कुरा चाहेका छन्,' उनले भने, 'मैले पनि मतदाताले चाहेका कुरा सम्बोधन गर्ने बाचा गरेको छु।'

'ढल निकास, सडक, खानेपानी, सिँचाइ, नदी कटान नियन्त्रणलगायतका विषयलाई प्राथमिकतामा राखेको छु,' कांग्रेस धनगढी उपमहानगरपालिकाका मेयरका उम्मेदवार नृप ओडले भने। एमालेका मेयर उम्मेदवार दुर्गा जोशीले भौतिक पूर्वाधार र जीवनस्तर उकास्ने अजेन्डा मतदातासमक्ष राखेको बताए।

माओवादी केन्द्रका मेयर उम्मेदवार रामसमझ रानाले मतदातासमक्ष ढल निकास, सफा र सुन्दर सहर बनाउने, गुणस्तरीय काम गर्ने किसानलाई पेन्सनको व्यवस्था गर्ने, कक्षा १२ सम्म निःशुल्क पढ्ने व्यवस्था मिलाउनेलगायत अजेन्डा लगेका छन्।

मतदाताको चाहना, आवश्यकता र चेतनास्तर वृद्धिसँग अजेन्डा बदलिएको स्थानीय बताउँछन्।

गौरीगंगा नगरपालिका–७ मट्कौनाका डिल्लीराज जोशी पञ्चायतदेखि नै मतदानमा सहभागी हुँदै आएका छन्। 'पञ्चायतमा मतदाताले गोरुगाडा गुड्न सक्ने कच्ची सडक, प्राथमिक तहसम्मका विद्यालय, खानेपानीका धारा माग्थे। बहुदलमा ग्राभेल सडक, ह्यान्ड पम्प, विद्युत्, सिँचाइ माग्न थाले,' िवगत सम्झँदै उनले भने। अहिले  विकासका मुद्दा परिवर्तित भएर कालोपत्रे सडक, क्याम्पस, अस्पतालका साथै प्रविधियुक्त विकास संरचना ल्याइएको जोशीको बुझाइ छ। उनले भने, 'पञ्चायतमा विकास फटाफट हुन्थ्यो, तर बहुदल आएपछि नेताले मतदातालाई ठग्ने काम गरे।'

बडिकेदार गाउँपालिका डोटीका ईश्वर भुलले पनि विगत निर्वाचनमा जस्तो नेताले दिएका आश्वासनले अब काम नगर्ने बताए। उनले भने, 'स्थानीय तह निर्वाचनमा मतदाता आश्वासन नभई प्रतिबद्धतासहितको विकास चाहन्छन्।'

नयाँ पुस्ताको सोचअनुसारका विकासे अजेन्डामा परिवर्तन गर्नुपर्ने बेला आएको धनगढीका ललित बिष्टले बताए। उनले भने, 'युवालाई लक्षित गरेर प्रविधियुक्त विकासे संरचना, वैदेशिक रोजागारीलाई निरुत्साहित गरी स्वदेशमै रोजगारी सिर्जना हुने खालका औद्योगिक संरचनामा जोड दिनुपर्छ।' 

प्रदेश नम्बर ७ मा ८८ स्थानीय तह छन्।

प्रकाशित: २९ जेष्ठ २०७४ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App