७ वैशाख २०८१ शुक्रबार
विचार

पूर्वीय दर्शनमा मानव-प्रकृति सम्बन्ध

सन् १९६२ मा अमेरिकी लेखिका रचेल कार्सनद्वारा लिखित ‘साइलेन्ट स्पि्रङ’ (मौन वसन्त) लाई विश्व परिवेशमा मानवसिर्जित कारणबाट वातावरणमा पर्न गएको नकारात्मक असर उजागर गर्ने पहिलो प्रभावशाली वैज्ञानिक पुस्तकका मानिन्छ। यसलाई सर्वकालीन २५ सर्वश्रेष्ठ वैज्ञानिक प्रकाशनका रूपमा समेत राखिएको छ। कार्सनले उक्त पुस्तकमा कीटनाशक औषधिको अत्यधिक प्रयोगबाट समस्त वातावरण तथा मानव स्वयम्लाई पर्न गएको नकारात्मक असरलाई तथ्यपरक तथा वैज्ञानिक आधारमा पुष्ट्याइँ गर्दै वातावरण संरक्षणमा सामाजिक आन्दोलनको आवश्यकतालाई अगाडि बढाएकी छिन्।

रसेल कार्सनले भनेजस्तै जीवनको सम्पूर्णताका लागि बच्चाको जागरुकता र सम्मानले नै उसको आफ्नै किसिमको मानवता र विकास सम्भव छ। त्यसैले अहिलेदेखि नै बच्चा अनि युवालाई प्रकृतिसँगको सामीप्यता बढाउन सकेमात्र उसले भोलि प्रकृतिप्रतिको जिम्मेवारी पूरा गर्न सक्छ।

सन् ६० को दशकमा लेखिएको यस पुस्तकको प्रभाव यतिसम्म पर्‍यो कि तत्कालीन निक्सन प्रशासनले सन् १९७० मा अमेरिकी वातावरण संरक्षण निकाय नै गठन गर्‍यो। सन् १९७२ मा संयुक्त राष्ट्र संघले स्विडेनको स्टकहोममा पहिलो पटक मानव तथा वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय महासम्मेलन आयोजना गर्‍यो। ‘स्टकहोम कन्फेरेन्स’ को नामले जानिने यो महासम्मेलन नै मानवलाई वातावरणप्रति सचेत भई आत्मसात् गर्न प्रेरित गर्ने पहिलो औपचारिक आग्रह थियो। यस महासम्मेलनपछि विश्व समुदायको वातावरणप्रति चासो र सरोकार रह“दै आएको छ। सन् १९७३ मा गान्धीवादी सिद्धान्तबाट प्रेरित भारतको ‘चिप्को’आन्दोलन होस् या सन् १९७३ मा नेपालले घोषणा गरेको पहिलो (शाही) चितवन राष्ट्रिय निकुञ्ज होस्, त्यसै प्रभावका केही उदाहरण हुन्।

पूर्र्वीय दर्शन र प्रकृति

बेयर्ड कलिकोट तथा जेम्स मेकरेद्वारा सम्पादित पुस्तक 'एसियाली परम्पराको विचारमा वातावरणीय दर्शन (सन् २०१४)' मा एसियाली दर्शन, प्रकृति र वातावरणबीचको अन्तरसम्बन्ध बडो रोचकरूपमा प्रस्तुत छ। हिन्दु र बौद्ध परम्परामा रहिआएको अहिंसाको सिद्धान्तलाई जीवजन्तु, रुखबिरुवा तथा समष्टिगत जगतलाई नोक्सानी हुन नदिने नैतिक धरातल प्रदान गरी वातावरणीय नैतिकता देखाउन मानव जातिलाई प्रेरित गरिएको तर्क छ। अहिंसावादी गान्धीबाट प्रेरित भई हिमालयको वातावरण संरक्षणका लागि विश्वप्रसिध्द ‘चिप्को’ आन्दोलन भारतमा भएको तथ्यलाई समेत लेखकले समर्थन गरेका छन्।

पूर्र्वीय दर्शनको एक अभिन्न अंग हिन्दु धर्मशास्त्रका विभिन्न पवित्र ग्रन्थ (वेद, पुराण, उपनिषद्) मा मानव र प्रकृतिको अन्योन्याश्रित सम्बन्धलाई जोड दिँदै प्रकृति संरक्षणलाई धर्मका रूपमा व्याख्या गरिएको छ। वेदमा प्रकृतिका पाँच मुख्य रूप (आकाश, वायु, तेज, पानी र पृथ्वी) लाई पञ्चमहाभूत भनी व्याख्या गर्दै पृथ्वीलाई जननी संज्ञा दिइएको छ। 'द्यौर्मे पिताजनितानाभिरत्र बन्धुर्मे माता पृथिवीमहीयम्। (ऋग्वेद १ः१६४।३३)।' अर्थात् आकाश पिता हुन्, बन्धु वातावरण मेरो नाभी हो अनि महान् पृथ्वी मेरा आमा हुन्। यसैगरी वनलाई जोगाउन वेदले निर्देशित गरेको पाइन्छ, वनानिनःप्रजहितानि (८ः१ः१३)। पृथिवीमातर्मा हिंसी मा अहं त्वाम् (यजुर्वेद १०ः२३), अर्थात् पृथ्वीलाई हानि नपुर्‍याआंै। पद्म पुराणले त पोखरी, कुवा, सीमसार क्षेत्रको पानी प्रदूषित गर्ने व्यक्तिलाई नरकबासीको संज्ञा दिएको छ।

वैदिक परम्परामा जन्मेदेखि मृत्युसम्म मानव प्रकृतिको सम्बन्धलाई महत्व दिएको पाइन्छ। चाहे कैलाश पर्वतलाई पवित्र भूमिका रूपमा वर्णन गरिएको होस् या गंगालाई पवित्र नदीका रूपमा। यसैगरी, विभिन्न रुख, बिरुवा, ढंुगासमेतलाई भगवानको प्रतिमूर्तिका रूपमा विश्वास गरिएको छ। जस्तो, वर, पीपल, अशोक, चन्दन, बेल, केरा, वैदिक परम्परामा नभइनहुने रुख जातिभित्र पर्छन् भने, कुश, दुबो, तुलसी जस्ता बिरुवा प्रत्येक धार्मिक कार्यका लागि अपरिहार्य छन्। शालिग्रामलाई त भगवान विष्णुकै रूपमा पुजिन्छ।  विशेषगरी, किराँत संस्कारमा त भूमिलाई नै भगवानका रूपमा पुजिन्छ।

करिब २५०० वर्षअघि, भगवान गौतम बुद्धद्वारा प्रतिपादित बौद्ध दर्शन, पूर्र्वीय सभ्यताको एक महत्वपूर्ण जीवन दर्शन हो। बुद्ध दर्शनलाई मानवभन्दा पनि प्रकृतिकेन्द्रित दर्शनका रूपमा औल्याइएको छ। मानवलाई सर्वश्रेष्ठ होइन, सबै प्राणीसँगको एउटा प्राणी जसले अन्य प्राणीको अस्तित्व स्वीकार्नु, बुद्ध दर्शनको मूल ध्येय हो। धम्मलाई प्रकृतिको रहस्यका रूपमा व्याख्या गरिएको छ, जीवनमा अधिकतम लाभ लिन धम्मलाई गहिरिएर बु‰न सुझाइएकोसमेत छ। वन तथा मानवको अन्तरसम्बन्धलाई धम्मपद ९९ मा यसरी चिœाण गरिएको छ– सुखद् वनजंगल, जहा“ साधारण व्यक्तिसमेत प्रसन्न नरही बस्न सक्दैनन्।

यसरी परापूर्वकालदेखि नै धर्म, संस्कृतिमा आधारित हाम्रो जीवनदर्शनले प्रकृतिसँगको सामीप्यतामा जोड दिए पनि, औद्योगिकीकरण, बढ्दो आधुनिकीकरणका साथै भौतिकवादी चिन्तनले हाम्रो सामीप्यता कमजोर ह“ुदैछ। हामीले हाम्रा परम्परा, पूर्र्वीय दर्शन तथा सोचलाई फेरि एकचोटि प्रकृतिनजिक पुर्‍याउनैपर्नेछ। त्यो सोच अनि दर्शनले मात्र प्रकृतिसंँगको हाम्रो सामीप्यतालाई जीवन्त राख्न सक्छ। महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले पनि भनेका छन् कि ‘अझ गहिरिएर प्रकृतिलाई हेर, तिमीले सबै कुरा बु‰नेछौ’ नत्र भौतिकवादको उन्मादमा, प्रकृतिसँग हाम्रो सम्बन्ध टाढामात्र हुने छैन, हाम्रा सन्ततिसमेत, प्रकृतिबाट प्राप्त सबैखालका सेवा तथा प्राकृतिक जीवनदर्शनबाट वञ्चित हुनेछन्।

महान् दार्शनिक खलिल जिब्रानले भनेका छन्– नबिर्स, पृथ्वी तिम्रो खाली खुट्टाको आनन्द महसुस गर्न आतुर छे, र हावा, तिम्रो लामो कपालसँग खेल्न। जिब्रानको यो सामीप्यता नै हाम्रा लागि प्रेरणा हुनुपर्छ। र, प्रेरणासँगै हाम्रो प्रकृतिप्रतिको कर्तव्य पनि। धम्मपदमा उल्लेख छ– सतर्कता, संयम र बुद्धिमानी नियन्त्रणले एउटा टापु निर्माण हुन्छ जहा“ कुनैखाले बाढीको सम्भावना रह“दैन। यही सतर्कता, संयम र बुद्धिमानी नियन्त्रण नै मानवप्रकृति सह–अस्तित्वको निकास हो जसले प्रकृति संरक्षणमा हामीलाई सधैँ प्रेरित गरिरहन्छ।

वरिष्ठ पारिस्थितिकीय व्यवस्थापन विशेषज्ञ, इसिमोड

प्रकाशित: ३० जेष्ठ २०७४ ०३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App