७ वैशाख २०८१ शुक्रबार
अन्य

पूर्वराजा-पूर्वराष्ट्रपतिविरुद्ध उजुरी

जनकपुर- माओवादी सहिद रामवृक्ष यादवका पुत्र शेखरको हत्या अभियोगमा तत्कालीन राजादेखि सरकार प्रमुख र सुरक्षा निकायका प्रमुखहरूविरुद्ध किटानी जाहेरी परेको छ।

 ०५८ पुस १४ गते शेखरलाई राजा ज्ञानेन्द्र शाह, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री खुमबहादुर खड्का, प्रहरी प्रमुख प्रदीप शमसेर जबरा, धनुषाका एसपी विश्व राणा, कांग्रेस नेता रामवरण यादव (पूर्वराष्ट्रपति), लीला कोइराला (पूर्वमन्त्री), प्रेमकिशोर साह (सांसद) र एमाले नेता योगनारायण यादव (तत्कालीन सांसद)लगायतको आदेश र मिलेमतोमा हत्या गराएको जाहेरीमा उल्लेख छ।

 बाबुको हत्या र आमाको मृत्युपछि एकमात्र छोराको हत्याबारे उजुरी दिन परिवारमै कोही नभएपछि दिदी बोधमाया यादवले शुक्रबार स्थानीय शान्ति समिति धनुषामा उजुरी दर्ता गराएकी हुन्। धनुषा बरमझियाका रामवृक्षकी जेठी छोरी बोधमाया संविधानसभाको दोस्रो निर्वाचनमा धनुषा–६ बाट तत्कालीन एकीकृत माओवादीबाट उम्मेदवार थिइन्।

 माओवादीले सशस्त्र युद्ध तयारी गरिरहेकै बेला रामवृक्ष यादव पुष्पकमल दाहालसँगै सामुदायिक विद्यालयमा शिक्षक थिए र सँगै संगठन निर्माणमा जुटिरहेका थिए। सोहीक्रममा ०५१ भदौ २ गते साँझ जनकपुरबाट गाउँ फर्किरहेका बेला काग्रेसका स्थानीय कार्यकर्ताको एक समूहले कोदालो प्रहार गरी निर्मम हत्या गरेको थियो।

 सशस्त्र युद्ध जारी रहेका बेला एकमात्र छोरा शेखरलाई भारतको जयनगरमा अध्ययनरत रहेको अवस्थामा नेपाली सेनाले पक्राउ गरी धनुषामै ल्याएर गोली हानी हत्या गरेको थियो। बिहे भएको नौ महिना नबित्दै एकमात्र छोरा शेखरको हत्या भएपछि आमा रामकुमारी सक्रिय राजनीतिमा लागेकी थिइन्। उनी पहिलो संविधानसभा निर्वाचनमा धनुषा–६ बाट प्रत्यक्ष चुनाव लडेर जितेकी थिइन्। सभासद छँदै काठमाडौंस्थित डेरामा ग्यास लिक भएर आगलागी हुँदा उनको ०६८ साउन २७ गते निधन भएको थियो। रामकुमारीकी कान्छी छोरी सुनिताको पनि बिहे भएको ९ महिनामै ज्वाइँ सिरहा महेशपुरका डम्बर यादवलाई सेनाले नै गोली हानी हत्या गरेको थियो। 

प्रकाशित: ४ असार २०७३ ०७:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App