७ वैशाख २०८१ शुक्रबार
कला

अनुवादमा नेपाल पछाडि

काठमाडौं- विदेशी भाषाको साहित्य नेपाली भाषामा प्रशस्त अनुवाद हुने गरे पनि नेपाली साहित्यका कृति विदेशी भाषामा कमैमात्र अनुवाद हुने गरेकोमा सरोकारवालाहरूले दुःख व्यक्त गरेका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार आयोजित 'बिपीका अनुवादित कृतिहरू र नेपाली भाषामा अनुदित रसियन साहित्य' विषयक विचार गोष्ठीमा उनीहरूले नेपाली साहित्यको विदेशी भाषामा अनुवाद निकै कम रहेको स्वीकारे।

डा.तुलसी भट्टराईले नेपाली भाषाबाट अन्य भाषामा भएको अनुवाद कछुवा गतिमा भइरहेको उल्लेख गरे। बिपी कोइरालाका अनुदित कृतिका बारेमा कार्यपत्र प्रस्तुत गर्दै उनले नेपाली भाषामा अनुदितमध्ये भरत जंगमको 'कालो सूर्य'ले अंग्रेजी, असमिया, उर्दू, हिन्दी, नेपाल भाषा, चिनियाँ र रुसी भाषा गरी सबैभन्दा धेरै भाषामा अनुदित हुने अवसर पाएको बताए। त्यस्तै भानुभक्तको रामायण अंग्रेजी, हिन्दी, मैथिली, अवधि, असमिया भाषामा अनुवाद भएको उनले जनाए। भट्टराईका अनुसार नेपालीका कविता, कथा, उपन्यास, नाटक आदि कृतिको अंग्रेजी अनुवाद संख्या झन्डै ७५ मात्र रहेको छ। त्यस्तै नेपालीबाट असमियामा २, उर्दूमा ३, चिनियाँमा २, जापानीमा १, डेनिसमा १, नेपाल भाषामा ११, बंगालीमा १, मैथिलीमा ८, रुसीमा ७, संस्कृतमा ४ र हिन्दीमा करिब साढे दुई दर्जन कृति अनुदित भएका छन्। भट्टराईले बिपीका १३ मध्ये १२ कृति विदेशी भाषामा अनुदित भएको दाबी गरे।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बिपीका झैं धेरै पुस्तक अनुवाद नभए पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'मुनामदन' पछिल्लो समय धेरै अनुवाद भएको पुस्तकमा परेको बताए। 'भर्खरै हो, चिनियाँ भाषामा अनुदित 'मुनामदन' एकलाख प्रति चीन पुगेको छ,' उनले भने ,'नेपाल र चीन सम्बन्ध जोड्ने यो कृति निकै मन पराएपछि उताका साहित्यकारले यस विषयमा सम्मेलन नै गरेका छन्।' मुनामदन नेपालमै पनि सबैभन्दा बढी प्रति प्रकाशित भएको कृति हो।

यीबाहेक महाकविका कविताहरू अंग्रेजी र हिन्दी भाषामा पनि अनुदित भएको उनले उल्लेख गरे। नेपालका बहुचर्चित लेखक र तिनका कृतिलाई विश्वस्तरमा पुर्‍याउने अनुवादकलाई पहिचान गराउनकै लागि प्रतिष्ठानले अनुवाद विभाग नै खडा गरेको दाबीसमेत उनको थियो।

अनुवाद विभागकी प्रमुख प्राज्ञ उषा ठाकुरले अनुवादक परिचय कोषसहित देवदास, सार्क क्षेत्रका महिला र पुरुष लेखकका कथाहरू अनुवाद गरेर पाठकमाझ ल्याउने तयारी पूरा भएको जानकारी दिइन्। त्यस्तै रविन्द्रनाथ टैगोरका कथालगायत ८ वटा अनुदित कृति प्रकाशनका क्रममा रहेको उनले बताइन्।

कार्यक्रममा नेपाली भाषामा अनुदित रुसी साहित्यका बारेमा प्रा.डा.जंगब चौहानले प्रष्ट्याएका थिए। नेपाली भाषाको साहित्य रुसी भाषामा थोरैमात्र अनुवाद भएको भए पनि रुसी साहित्यको अनुवाद प्रचुर रहेको उनले उल्लेख गरे। सन् १९५६ मा दौंत्य सम्बन्ध सुरु भएयता नै रुसका चर्चित साहित्यकारका सिर्जना नेपालीमा उल्था हुन थालेको उनको भनाइ थियो।

उतिबेला रुस फुट्नु अघि रादुगा भन्ने रुसी प्रकाशनले अनुवादकलाई खर्च दिएरै कृति प्रकाशन गराउनाले पनि उनीहरूको कृति बढी नेपालीमा आएको उनले बताए।  'तर अहिले हामी आफ्नै खल्ती रित्याएर काम गरिरहेका छौं', उनले भने ,'त्यही पनि कतै परिचय पाइन्न।' उनले अनुवाद मूल भाषाबाट गरे पनि, अंग्रेजीबाट गरे पनि अनुवादकको बुझाइ र लेखाइमा बढी भरपर्नेमा जोड दिए।

साहित्यकार अभि सुवेदीले नेपालमा अनुवाद गर्नु भनेको एक्लै महायात्रामा यात्रा गर्नु रहेको औंल्याए। 'आफूभित्रबाट उठेको विश्वासका लागि अनुवाद गरिन्छ। त्यसमा कति अगाडि बढ्छन् कति सहिद हुन्छन्,' सुवेदीले थपे, 'कसैलाई चिनाएरै आफू अघि बढ्ने वा मन परेको कुरा अनुवाद गर्ने भन्ने दुई तरिकाले अनुवाद गरिएको पाइन्छ।' उनले नाटकको क्षेत्रमा पनि बढी अनुवादकै भर रहेकाले पनि विदेशी साहित्यले नेपाली भाषामा स्थान पाइरहेको दाबीसमेत गरे। गोष्ठीमा उपस्थित धेरैले भने भने नेपाली लेखक र साहित्यको श्रीवृद्धिका लागि प्रज्ञाप्रतिष्ठानले अनुवादको कार्य सन्तोषजनक रूपमा नगरेको टिप्पणी गरे।

प्रकाशित: २ असार २०७४ ०३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App