coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

२५ वर्षपछि एकदिवसीय उपाधि

लन्डन (एएफपी)– मोहम्मद आमिरले भारतको शीर्षक्रमलाई ध्वस्त बनाएपछि आइतबार पाकिस्तानले चिर प्रतिद्वन्द्वी छिमेकी देशलाई १ सय ८० रनले हराउँदै च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ ।

लन्डनस्थित किङ्सटन ओभलमा फखर जमनले एकदिवसीय क्रिकेटमा पहिलो शतक प्रहार गरेपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको पाकिस्तानले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ३८ रन बनाएको थियो । ३ सय ३९ रनको लक्ष्य पछ्याएको साबिक विजेता भारतले ३०.३ ओभरमा १ सय ५८ रन बनाउँदा सबै विकेट गुमायो ।

६ ओभरमा २ मेडनसहित १६ रन दिएर ३ विकेट लिएका आमिरले पहिलो बलमै भारतका ओपनर रोहित शर्मालाई शून्यमा पवेलियनको बाटो देखाएका थिए । लगत्तै भारतका कप्तान विराट कोहलीलाई ५ रनमा शाडब खानमार्फत आउट गरेका आमिरले शिखर धवनलाई २१ रनमा मोहम्मद सरफराजमार्फत आउट गरेका थिए ।

१६औं ओभरको समाप्तिमा भारत ७२–६ को स्थितिमा थियो । तर हार्दिक पाण्डेय र रवीन्द्र जडेजाले सातौं विकेटका लागि ८० रनको साझेदारी गर्दै भारतलाई आशा देखाएका थिए । २६.३ ओभरमा पाण्डेय आउट भएपछि भारतको झीनो आशा समाप्त भएको थियो । भारतका लागि पाण्डेयले सबैभन्दा बढी ७६ रन बनाए। उनले ४३ बलमा ४ चौका र ६ छक्का प्रहार गरेका थिए । धवनले २१ रन जोड्दा युवराज सिंहले २२ रन जोडे । जडेजा १५ रनमा आउट भए ।

पाकिस्तानका लागि आमिरबाहेक हसन अलीले तीन तथा शाडब खानले २ विकेट लिए । जुनैद खानको नाममा एक विकेट रह्यो ।

त्यसअघि फखर जमनको शतकप्रेरित पाकिस्तानले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ३८ रन बनाएको थियो । १ सय ६ बलमा १२ चौका र ३ छक्का प्रहार गरेका जमनले पहिलो विकेटका लागि अजहर अलीसँग १ सय २८ रनको साझेदारी गरेका थिए ।

७१ बलमा ६ चौका र १ छक्कासहित ५९ रन बनाएका अली रनआउट भएका थिए । त्यसपछि जमनले बाबर आजमसँग दोस्रो विकेटका लागि ७२ रनको साझेदारी गरे ।

पाकिस्तानका भेट्रान खेलाडी मोहम्मद हफिजले तीन छक्कासहित अविजित ५७ रनको योगदान दिए । हफिजले अलराउन्डर इमद वासिमसँग पाँचौं विकेटका लागि ७१ रनको साझेदारी गरेपछि पाकिस्तान ३ सयमाथिको योगफल बनाउन सफल भएको थियो ।

 

 

प्रकाशित: ५ असार २०७४ ०३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App