८ वैशाख २०८१ शनिबार
कला

स्टाइल रोज्ने युवा

टण्टलापुर घाम लागेको दिन आँखालाई शीतल पार्न करुणा भट्ट ‘सनग्लास’ लगाउँछिन् । टेकु बस्ने करुणाका लागि ‘सनग्लास’ लगाउनुको अर्को फाइदा पनि छ, सडकको धुलोबाट आँखाको सुरक्षा गर्नु।

अहिले करुणाको आँखाको सुरक्षा गरिरहेको छ, ‘बर्बेरी’को ‘क्याट–आइ’ फ्रेम भएको ‘सनग्लास’ले । ‘चस्माको सोख छ, धेरै रंग र आकारका ‘सनग्लास’ फेरिरहन्छु,’ उनले भनिन्, ‘राउण्ड र स्क्वायर फ्रेमभन्दा यो फ्रेम स्टाइलिस लागेकाले रोजेकी हुँ।’

‘स्टाइल’ परिवर्तनका लागि उनी ‘सनग्लास’ फेरिरहन्छिन् । फेसन फेरिरहने बानीलाई सधैं ‘ब्रान्डेड’ किन्न ‘पकेट’ले साथ दिँदैन । ‘मन प¥यो भने सस्तोमा फुटपाथमा पनि किनिन्छ, सस्तो पनि भयो ‘स्टाइलिस’ पनि,’ करुणा भन्छिन् । 

‘स्टाइल’ परिवर्तन भइरहने भइरहेकोले युवालाई ‘ब्राण्ड’भन्दा ‘ननब्रान्ड’ ‘स्टाइलिस’ वस्तुले आकर्षित गरेको देखिन्छ ।

‘स्टाइल’ रोज्ने युवाका कारण ब्रान्डका सामान बेच्ने व्यापारीलाई पनि कहिलेकाहीँ अप्ठ्यारो बनाउँछ । सिभिल मलमा अष्ट्रेलियन ब्रान्ड ‘जिन्सवेस्ट’को ‘सोरुम’की सपना राई ‘स्टाइल’ खोज्ने मानिसलाई ब्रान्डको महŒव बुझाउन मुस्किल हुने बताउँछिन् । ‘हामीसँग जिन्सवेस्टको मात्र सामान हुन्छ, यस्तोमा कहिलेकाहीँ बाहिर बजारमा देखेर यस्तै स्टाइलको चाहियो भन्दै आउँछन्,’ सपना भन्छिन्, ‘तर, हामीसँग बजारमा चलेजति स्टाइल दिने अप्सन नै हुँदैन ।’ ‘स्टाइल ओरियन्टेड’ युवालाई ब्रान्डका सामान गुणस्तरीय हुने कुरा बुझाउन गाह्रो हुने उनले बताइन् ।

कीर्तिपुरकी निरु महर्जन भने आफूलाई ब्राण्डको महŒव थाहा भए पनि महँगो भएका कारण ब्रान्डमा चासो नदिएको बताउँछिन् । ‘महँगोका साथै ब्रान्डको सामानमा स्टाइलको थोरै मात्र अप्सन आउँछन्, नन ब्रान्डेड सामान थोरै मूल्यमा धेरै स्टाइलमा पाइन्छन्,’ निरुले भनिन्, ‘त्यसैले सस्तो र स्टाइलिस नै रोज्छु ।’ उनले भर्खरै तीन हजार रूपैयाँमा डिडब्ल्यू (ड्यानियल वेलिङटन) को घडी किनेकी छिन् । त्यो घडी बढीमा छ महिना मात्र लगाएर अर्काे ‘स्टाइलिस’  किन्ने उनको योजना छ ।

न्युरोडका ‘एसेसरिज’ का सञ्चालक रविन श्रेष्ठ पनि निरुको विचारमा सहमत छन् । सस्तो, सजिलो र स्टाइल युवाको चाहना भएको श्रेष्ठको भनाई छ । ‘बजारमा ट्रेन्ड बनाउने नै मध्यम वर्गले हो, उनीहरू सस्तोमा राम्रो वस्तु उपभोग गर्न चाहन्छन्,’ उनी भन्छन्, ‘त्यसैले ब्रान्डभन्दा स्टाइलतिर आकर्षित भइरहेका छन् ।’ अहिलेका युवाले उपभोग गर्ने धेरैजसो फेसनका वस्तु ‘युज एण्ड थ्रो’ गर्ने प्रकारका हुने उनको विचार छ ।

‘अहिले ३/३ महिनामा फेसन परिवर्तन भइरहेको हुन्छ,’ श्रेष्ठ भन्छन्, ‘त्यसैले धेरै पैसा तिरेर ब्रान्डेड वस्तु खरिद गर्नेभन्दा ग्राहक तत्कालका लागि काम चलाउने तरिका अपनाउँछन् ।’

‘स्टाइल’को तीव्र प्रवाह र परिवर्तनले राम्रा भनिएका ब्रान्डले पनि आफ्नो उत्पादनको डिजाइन बेलाबेला परिमार्जन गरिरहनुपर्ने अवस्था छ । सिभिल मलमा ‘स्केचर्स’ जुत्ताको पसल चलाइरहेका विनोद पुरीका अनुसार स्टाइल र ‘क्वालिटी’ दुवै चाहने आफ्नो सोरुममा आउने गरेको बताउँछन् । बच्चादेखि ठूलालाई समेत ‘स्टाइलिस’ जुत्ता उत्पादन गर्ने यो अमेरिकन ब्राण्डका जुत्ताको एउटा डिजाइन एक पटक बजारमा आइसकेपछि तुरुन्तै फेरि बजारमा नल्याउने गरेको पुरी बताउँछन् ।

उनी भन्छन्, ‘यहाँ ब्राण्ड कन्सस ग्राहक त आउँछन् नै, स्टाइल खोज्ने युवा पनि आउने गरेका छन् ।’ विभिन्न रङ र डिजाइनका लेस र लेस नभएका जुत्ताको धेरैभन्दा धेरै विकल्प रोज्नेको गन्तव्य ‘स्केचर्स’ को सोरुम हुने गरेको छ । पुरीले भने, ‘कलरफुल र स्टाइलिस जुत्ता मन पराउने बच्चा, किशोरकिशोरी र युवा आउँछन् । हामीकहाँ स्टाइलका अनेकौं अप्सन छन् ।’

प्रकाशित: ५ असार २०७४ ०४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App