१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सात दशक पहिलेको उपत्यका

सन् १९७६ मा केभिन केलीले खिचेका काठमाडौंको तस्बिर । स्रोत: फ्ल्यासब्याक डटकम

सत्यमोहन जोशी, संस्कृतिविद्

७० वर्षपहिले उपत्यका कस्तो थियो होला ? अहिलेको उपत्यका हेर्दा नयाँ पुस्ता धेरैको मनमा यस्ताखाले जिज्ञासा आउँछन्।

नयाँ पुस्तामा पुराना उपत्यकाबारे कौतुहलता जाग्नु स्वभाविक हो । कतिपयले काठमाडौं उपत्यका पहिले यस्तो थियो भन्ने पनि भेटेका होलान् । आज भन्दा ७० वर्षपहिले पनि काठमाडौं उपत्यका अहिले भन्दा धेरै भिन्न थियो । जीवनशैली ग्रामीण थियो । अहिलका जस्ता अग्ला भवन थिएनन् । अहिले सिमेन्टका घर ठडिएका ठाउँमा उतिबेला धान, मकै, कोदो, फापर, तोरीलगायत अन्न उब्जाउ हुन्थ्यो । धेरै ठाउँमा चउर थियो । चउरमा उपत्यकावासीले गाई चराउने गर्थे ।

अहिले उपत्यकाका बाहिरका गाउँमा पाइने परिवेश पहिला काठमाडांैमै थियो । पुरानो काठमाडौं सम्झँदा रुन मन लाग्छ । समय परिवर्तनसँगै पुराना बस्ती मासिए । पुराना कला र संस्कृतिको संरक्षण गर्ने कोही भएन । हाम्रा खेतीयोग्य जमिनमा सिमेन्टका भवन ठडिए । नेपाली कला र सीपले निर्माण गरिएका वस्तु नासिए ।

२० वर्ष पहिलेसम्म पाटन मंगलबजारबाट जावलाखेलको चिडियाखानामा जनावर कराएको आवाज सुुनिन्थ्यो । दिउँसो अपराह्न्नतिर चिडियाघरमा सिंह कराएको आवाज आउँथ्यो । घरबाट उत्तर र पूर्वका सेता हिमाल देखिन्थे । अहिले गगनचुम्ने भवनहरु बने । त्यस्ता दृश्य नियाल्न नसकिने भयो । घरमै बसेर नियाल्न सकिने सबै दृश्य अग्ला घरले छेके ।

पहिलोको उपत्यका लोभलाग्दो थियो । जताजतै खुला चउरहरु देखिन्थे । पुराना शैलीका बुट्टेदार झ्याल भएका घर थिए । २००५ सालतिर उपत्यकामा जम्मा ५ लाखको हाराहारी जनसंख्या थियो । हेर्दै मन लोभ्याउने प्राकृतिक सौन्दर्यता थियो । काठमाडौंको रानीपोखरीदेखि त्रिपुरेश्वरसम्म एउटै चउर थियो। सुन्धारा क्षेत्रमा तीनवटा ढुंगेधारा थिए । ढुंगेधारामा पल्टनेहरू लुगा धुने तथा नुहाउने गर्थे । अहिले दशरथ रंगशाला भएको ठाउँमा पहिले दुई वटा कमलका पोखरी र खरीका बोट थिए । काठमाडौंको छाउनी, कालोपुल, लैनचौर, सुन्धारा क्षेत्रमा यहाँका स्थानीयले गाई चराउँथे । असनको गणेशस्थानमा सिद्दे नुनको ढिका राखिन्थ्यो गाईबस्तुले त्यै चाट्ने गर्थे । २०१३ सालमा ती पोखरी र खरिबोटको छेउमा बौद्ध सम्मेलन पनि भएको थियो । अहिले सबैको नामो निशाना छैन । पुरानो सहरको सुन्दरता पूरै गुम्यो। काठमाडौं सहर अस्तव्यस्त बन्यो ।  युनेस्कोले ३० वर्षपहिले उपत्यकाका तीन सहरलाई अति राम्रो, सफासुग्घर र पुराना कला कौशलले भरिएको भन्दै विश्व सम्पदा सूचीमा राख्यो । बीचमा यी सहरका दरबार क्षेत्र कुरूप बनेको र पुराना शैलीमा मन्दिर र पाटी मासिन थालेपछि युनेस्कोले खतराको सूचीमा राख्ने चेतावनीसमेत दिएको थियो । तर, हामीले अनुनय विनय गरेर खतराको सूचीमा नराख्न आग्रह पनि गरेका थियौं ।

(शिवहरि घिमिरेसँगको कुराकानीमा आधारित) 

प्रकाशित: ५ असार २०७४ ०५:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App