१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एउटै पदमा आमाछोरीको उम्मेदवारी

खोटाङ- स्थानीय तहको निर्वाचनका लागि खोटाङमा फरक पार्टीबाट एउटै पदमा आमाछोरी चुनावी मैदानमा उत्रिएका छन्। आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि खोटाङको बराहपोखरी गाउँपालिका-३ साउनेचौंरमा दलित महिला सदस्य पदमा आमा मनमायाँ विक र छोरी अनिता विकले मनोनयन दर्ता गराएका छन्।

साविकको साउनेचौंर-५ की आमा मनमायालाई नेपाली कांग्रेस र छोरी अनितालाई नेकपा माओवादी केन्द्रले वडा सदस्यमा टिकट दिएको हो। आइतबार एउटै पदमा फरक पार्टीबाट आमाछोरीले मनोनयन दर्ता गराएका छन्।

अनिताको विवाहपछि पुगेको घर परिवार माओवादी समर्थक रहेका कारण उनलाई परिवारले माओवादी केन्द्रबाट दलित महिला सदस्य पदमा उठाएको हो। टिकट पाएका आमाछोरी अहिले आफ्नो जीतका लागि आ-आफ्नो पार्टीका माध्यमबाट चुनावी प्रचारप्रसारमा व्यस्त छन्।

साउनेचौंरमा साबिकको ३, ४ र ५ वडामा दलितको बसोबास भए पनि वडा सदस्यको प्रतिनिधित्व गर्ने व्यक्तिको अभावमा दुई पार्टीबाट आमाछोरी उम्मेदवार बनेको कांग्रेसका साउनेचौंर सभापति राजकुमार मगरले बताए। ‘यहाँका अन्य गाउँमा पनि दलित नभएका होइनन्,’ सभापति मगरले भने, ‘तर वडा सदस्यका लागि प्रभाव राख्ने उम्मेदवार छनौट गर्नेक्रममा संयोगवस यस्तो हुन गएको हो।’

अनिताको एउटै वडाभित्र (साबिकको साउनेचौंर-५)मै विवाह भएको थियो। प्रभावको आधारमा भोट काटाकाट गर्ने रणनीतिकासाथ जीत हात पार्नका लागि पनि उनीहरुलाई एउटै पदमा उठाइएको स्थानीय बताउँछन्।

वडाध्यक्षमा शिक्षक र परिचरको उम्मेदवारी 

यस्तै, खोटाङकै बराहपोखरी गाउँपालिका-५ पौवासेरामा एकै विद्यालयमा लामो समयसम्म सँगै काम गरेका शिक्षक र परिचर एउटै पदका लागि चुनावी मैदानमा उत्रिएका छन्। स्थानीय सरस्वती प्राविमा शिक्षण गरिरहेका अवस्थामा राजीनामा दिएका शिक्षक हरिकुमार राई माओबादी केन्द्रबाट र सोही विद्यालयमा परिचर काम गरेका फौदराज राई एमालेबाट वडाध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका हुन्। वडाध्यक्षका प्रत्यासी हरिकुमार र परिचर फौदराजले स्थानीय तहको चुनावमा लड्नका लागि दुई महिनाअघि राजीनामा दिएका थिए।

पेन्सन पाकिसकेका शिक्षक राईले राजीनामा दिएर वडाअध्यक्षमा उठेका हुन्। परिचर राईले पनि वडाध्यक्षका लागि १७ वर्षदेखि विद्यालयमा गर्दै आएको कामबाट बिश्राम लिएका हुन्। उनीहरुले पनि आइतबार मनोनयन दर्ता गराएका छन्।

प्रकाशित: ५ असार २०७४ १०:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App