७ वैशाख २०८१ शुक्रबार
अन्य

सद्दे छैनन् झापाका सडक

झापा- झापा बुधबारेका त्रिलोचन रिजाल बिहीबार बिहानै मोटरसाइकल दुर्घटनामा परे। बिहानै बाइक चढेर भद्रपुरतिर जाँदै गरेका उनी सडकमा जमेको पानी पार गर्दै गए। जब चन्द्रगढीको नापी कार्यालयभन्दा थोरै अघि बढे, उनी बाइकसहित पानीमा पछारिए। बाइकले शरीर थिच्यो, पानीले शरीर र ब्यागमा बोकेका कागजात भिजायो।

 'पानी बगेर सडक खोलाजत्तिकै थियो,' उनले भने 'बाइक त्यहीबेला खाल्डोमा पर्‍यो, अनियन्त्रित भएर लडियो।' नजिकैको चिया पसलमा भेला भएका स्थानीयले उनलाई हात समाएर उठाए। पानी धेरै भएका कारण उनलाई ठूलो चोट भने लागेन। रिजाल त एकजना प्रतिनिधिमात्रै हुन्, जसले यो सडकमा सास्ती सहनुपर्‍यो। सडकमा भेल कुद्दा यस्तै समस्यामा पर्ने बाइक चालक दर्जनौं भइसकेका छन्। लगातारको वर्षाले सडकभरि भेल कुदेपछि खास गरी जिल्लाका केही सडकहरू आवतजावत गर्नै नसकिने हालतमा पुगेका छन्।

 ठूलो सडक सन्जाल भएको झापामा यतिबेला कतै पनि सडक राम्रो अवस्थामा छैनन्। मनसुन सक्रिय भएर लगातार झरी पर्दा बाटोहरू सबैतिर भत्केका छन्। अहिले पनि निरन्तर झरी जारी छ। झापाका अधिकांश सडक कतै सद्दे हालतमा छैनन्। 'केही गरेको' देखाउन हतारमा कालोपत्रे गरिएका झापाका अधिकांश ग्रामीण सडक निर्माण सम्पन्न भएको वर्षदिन पनि पूरा नभई भत्केर कामै नदिने भएका छन्। पक्की सडक भत्किनेक्रम तीव्र हुँदा जिल्लाका केही ग्रामीण सडक जिविसको अभिलेखमा मात्रै पक्की छन्। सडकचाहिँ पूरै क्षतविक्षत अवस्थामा पुगेका छन्। मुख्य राजमार्गपछि सबैभन्दा व्यस्त रहने जिल्लाका सडकहरू यसरी भत्किनेक्रम तीव्र छ।

जिल्ला विकास समिति स्रोतका अनुसार, विभिन्न समयमा कालोपत्रे भएका धेरै सडकको अभिलेख अहिले कागजमा मात्रै सीमित छ। सडकचाहिँ भत्केर पुरानै अवस्थामा पुगिसकेका छन्। सडक मर्मत गर्नुपर्ने दायित्वबाट स्थानीय निकाय पन्छिँदा उनीहरूकै अगुवाइमा बनेका सडकको हविगत दिनदिनै खस्किँदै गइरहेको हो। एउटै बाटोमा सयौं खाल्डाखुल्डी हुँदा  सर्वसाधारणको यात्रा जोखिमपूर्णमात्रै भएको  छैन, कालोपत्रेका नाममा सडकमा भइरहेको राज्यको ठूलो लगानी पनि बालुवामा पानी हालेसरह खेर गइरहेको छ।  

दुधे–शिवगन्ज, धुलाबारी–ज्यामिरगढी–भद्रपुर, चारआली–चन्द्रगढी, बिर्तामोड–शनिश्चरे–खुदुनाबारीलगायत सडकखण्ड जिल्लाका सबैभन्दा व्यस्त ग्रामीण सडक हुन्। यीमध्ये चारआली–चन्द्रगढी खण्ड पूरै कालोपत्रे छ। त्यसबाहेकका अरू सडक आधामा मात्रै कालोपत्रे छ। तर, यी कुनै पनि सडकका कालोपत्रे सद्दे अवस्थामा छैनन्। एकातिरबाट बनाउँदै जाने अनि अर्कातिरबाट पीच भत्किँदै आउनेक्रम सबैतिर विस्तार हुँदा अधिकांश ग्रामीण सडकमा गरिएको कालोपत्र दुर्घटनाको कारकमात्रै बनिरहेको छ। 

यी सबैमध्ये बिर्तामोड र भद्रपुर जोड्ने  सडकको अवस्था केही दिनयता बेहाल बनेको छ। बिर्तामोड–भ›पुर सडकको बिर्ताबजार खण्डमा पर्ने सडकमा ठाउँ–ठाउँमा  ठूल्ठूला खाल्डा परेर दिनहुँ पानी जमिरहेको छ। ज्यादै व्यस्त रहने सडकको मुख्य भागमै यस्तो अवस्था हुँदा आवतजावत पूरै प्रभावित भएको छ।  झापाको सबैभन्दा धेरै व्यस्त रहने यो सडक निर्माणनिम्ति ठेक्का लागेको ३ वर्ष बित्न लागेको छ। तर, भत्केको ठाउँमा बनाउने, टालटुल गर्ने सामान्य काम पनि भएको छैन। हिउँदमै पनि पानी जमेर बेहाल हुने सडक बर्खामा हिँडिसक्नु छैन।  सडक किनारमा ढल बग्ने नाली थोरै  बनाइएको छ। तर, कतै कसैले अवरोध गरे भनेकै आधारमा काम रोकिएको छ।

 जिल्ला विकास समिति तथा नगरपालिकाले बेवास्ता गर्दा यस्तो अवस्था आएको स्थानीयको आक्रोश छ। 'जिल्लाका भएजति नेता र हाकिम दिनहुँ यही बाटो हिँड्छन्,' बिर्तामोडका सागर प्रसाईं भन्छन्, 'तर, यत्तिका वर्षदेखि सडकको यस्तो हालत हुँदा पनि कोही कसैले चासो देखाएनन्।' सिडिओ, एलडिओ, सडक डिभिजन कार्यालयका डिई, सांसद्हरूले नै वास्ता नगरेका कारण बाटो नबनेको धेरैको बुझाइ छ। यहाँ विद्युतीय रिक्सामा यात्रा गर्ने जो कोही सबैभन्दा धेरै प्रभावित बनेका देखिन्छन्।

यतिमात्र हैन, खाल्डामा जमेको हिलो पानीमा मोटरको पांग्रा पस्दा पैदल यात्रु, साइकल–मोटरसाइकल यात्रुहरूसम्म हिलो उछिट्टिएर कतिपय मानिसहरू गन्तव्य पुग्न पाएका छैनन्। बिर्तामोड नगरपालिका सडक निर्माणनिम्ति ठेक्का लागिसकेको भनी पन्छिने गरेको छ। तर, ठेक्का कहिलेसम्मका लागि हो, कसले लिएको, यसबारे नगरले केही बताएको छैन।

सदरमुकाम जोड्ने अर्को मुख्य मार्ग हो चारआली–चन्द्रगढी सडक। यो सडकखण्डअन्तर्गत चन्द्रगढी ट्याक्सी स्टेन्डमा ढलको व्यवस्थापन गर्न नसक्दा बाटोमै खोला कुद्न थालेको छ। जहाँ धेरै जना बाइक चालक लडिसकेका छन्।  भद्रपुर नगरले ढलको व्यवस्थापन गर्न नसक्दा नापी कार्यालयदेखि चन्द्रगढी ट्याक्सी स्टेन्डसम्म बाटोबाटै पानी कुद्न थालेपछि सडक खोलामा परिणत भएको छ।  सरकारी सेवा लिन आउने सयौं सर्वसाधारणले दिनहुँ  सास्ती व्यहोर्नु परेको छ।

ढलको व्यवस्थापन नगरी सबैतिरको पानी एउटै नालाबाट निकास गर्न खोज्दा यस्तो  समस्या आएको हो। वर्षौंदेखि नगरपालिकाले पैनीको स्तरोन्नति र सरसफाइमा चासो नदेखाउँदा पैनी पुरिएर बाटोबाटै पानी बग्न थालेको हो।

केही दिनयताको अविरल वर्षाका कारण झापाको दक्षिणी गाविसहरू पृथ्वीनगर, बनियानी, केचना, पथरीया, बालुबाडी, घेराबारी, पाठामारीलगायत क्षेत्रहरू डुवानमा परेका छन् भने मेची राजमार्गअन्तर्गत झापा चोकदेखि केचना सडकअन्तर्गत केही ठाउँहरूमा २ फिटभन्दा बढी पानी जमेका कारण बिहीबार बिहानैदेखि सार्वजनिक यातायातका साधनहरू सञ्चालनमा आउन सकेनन्।

प्रकाशित: ७ श्रावण २०७३ ०५:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App