coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

प्रधानसेनापती क्षत्री लण्डनमा, गोर्खा सैनिकलाई भेट्ने

लण्डन- न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघीय मुख्यालयमा शान्ति सेनामा सैनिकहरु पठाउने मुलुकका सेनापतिहरुको दोश्रो सम्मेलनमा भाग लिएर प्रधान सेनापति राजेन्द्र क्षत्री लण्डन आइपुगेका छन्। लण्डनमा उनले ब्रिटिश रक्षा मन्त्रीलाई भेट्नुकासाथै ब्रिटिश सेनाका स्थल सेनाध्यक्ष तथा अन्य वरिष्ठ सैनिक अधिकारीहरुसंग भेटवार्ता गर्ने कार्यक्रम छ। 

ब्रिटेनले नेपालको सेनालाई प्राविधिक तथा प्रशिक्षण आदि क्षेत्रमा सघाउँदै आएको छ। नेपालमा सशस्त्र द्वन्द्वकालमा बन्दीहरुलाई यातना दिएको अभियोगमा ब्रिटिश प्रहरीले नेपाली सेनाका महासेनानी कुमार लामालाई सन् २०१३ मा पक्राउ गरेपछि नेपाली सेना ब्रिटेनसंग असन्तुष्ट रहेको बताइएको थियो।

सन् २०१५ मा नेपालमा आएको भूकम्पपछि राहत वितरणमा सघाउन ब्रिटिश सरकारले पठाएका तीनवटा चिनुक हेलिकोप्टरहरु नेपालले चाहिंदैन भनेपछि फर्किएका थिए।

नेपाल जाने अनुमति पर्खंदै भारतमा कैयौं दिनसम्म ती हेलिकोप्टरहरुलाई राख्दा ब्रिटिश सरकारको तीस लाख पौण्ड जति खर्च भएको ब्रिटिश सन्चारमाध्यमहरुले बताएका थिए।

गत वर्ष एउटा ब्रिटिश अदालतले महासेनानी लामालाई सफाइ दिएपछि नेपाली सेनाका उच्च अधिकारीले ब्रिटेनको भ्रमण गरेको यो पहिलो पटक हो।

मंगलबार सेनापति क्षेत्रीले आफ्ना ब्रिटिश समकक्षी जनरल निकोलस प्याट्रिक कार्टरसंग भेट गर्दैछन्। 

भेटघाटमा दुई सेनाहरुबीचको संबन्ध, प्रशिक्षण तथा प्राविधिक सहयोग लगायतका विषयमा छलफल हुने बताइएको छ।

सेनापति क्षेत्रीको सम्मानमा लण्डनस्थित नेपाली दूतावासद्वारा सोमबार साँझ आयोजित एक समारोहमा बोल्दै बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले सन् १९५८ देखि राष्ट्रसंघीय शान्ति सेनामा सहभागी भएर नेपाली सेनाले विश्व शान्तिमा योगदान पुराइरहेको बताए। सशस्त्र विद्रोहीहरुलाई सफलतापूर्वक नेपाली समायोजन गर्ने कामले नेपालको शान्ति प्रकृया विश्वमै एक उदाहरण बनेको पनि उनले बताए।

सो अवसरमा बोल्दै प्रधानसेनापति क्षेत्रीले नेपाल र ब्रिटेनका सेनाबीचको संबन्धले समयको परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेको बताए। उनले नेपाल र ब्रिटेनको संबन्ध युद्धबाट शुरु भएपनि गएको २०० वर्ष यता दुबै देशका जनता र सेनाबीच निकट संबन्ध कायम भएको बताए। उनले दुबै देशका नागरिकहरु एउटै सेनामा एकीकृत भएर यति लामो समय सम्म काम  गरेको उदाहरण संसारमै नभएको पनि बताए। 

शुक्रबार स्वदेश फर्कनु अघि प्रधानसेनापति क्षेत्रीले ब्रिगेड अफ गुर्खाजको मुख्यालयका साथै विभिन्न सैनिक एकाइहरुको भ्रमण गर्ने कार्यक्रम छ। 

 

 

प्रकाशित: २७ असार २०७४ १०:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App