coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेपालको फराकिलो हार

काठमाडौं- फितलो तयारी गरेर एएफसी यु–२३ च्याम्पियन्ससिप छनोट प्रतियोगिता खेल्न युनाइटेड अरब इमिरेट्स (युएई) पुगेको नेपाली टोलीले राम्रो सुरुआत गर्न सकेन। शनिबार अल एइनस्थित ताहनोन बिन मोहम्मद रंगशालामा नेपालले  आयोजक युएईलाई ५–० को नजिता सुम्पियो। कुनै पनि समय विपक्षीमाथि हाबी हुन नसकेको नेपालले आठौं नै मिनेटमा गोल खाएको थियो।

नेपालका रक्षक गौरव बुढाथोकीले पेनाल्टी बक्समा युएईका खेलाडीलाई फाउल गरेपछि घरेलु टोलीले पेनाल्टी पाएको थियो। जसमा अहमद हुसैनले कुनै गल्ती गरेनन्। कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै हुसैनले  २०औं मिनेटमा अग्रता दोब्बर बनाए। त्यसको तीन मिनेट बित्न नपाउँदै मोहम्मद अलकबेरीले तेस्रो गोल थपे। ३३औं मिनेटमा नेपालका रक्षक दिनेश राजवंशीले पेनाल्टी बक्समा ह्यान्ड गर्दा युएईले दोस्रो पेनाल्टी अवसर पायो। जसलाई खालिद अब्दुल रहिमले गोलमा परिणत गरेेपछि युएईले पहिलो हाफमै ४–० को अग्रता लिएको थियो। दोस्रो हाफमा युएईले थप एक गोल थप्यो। मोहम्मद रसिदले ६०औं मिनेटमा गोल गरेका थिए।

रंगशालामा ४० डिग्रीमाथिको तापक्रम भएकाले पहिलो हाफको ३० र दोस्रो हाफको ७५औं मिनेटमा ‘कुलिङ ब्रेक’ राखिएको थियो। नेपालले अब समूहको दोस्रो खेल सोमबार उज्बेकिस्तानविरुद्ध खेल्नेछ। समूहको अन्तिम खेलमा साउन ४ गते लेबनानसँग प्रतिस्पर्धा गर्नेछ।

फिफा वरीयताअनुसार उज्बेकिस्तान समूहको सबैभन्दा बलियो टोली हो। उज्बेकिस्तान विश्ववरीयताको ६५औं स्थानमा रहँदा नेपाल भने १ सय ७०औं स्थानमा सीमित छ। युएई ७५औं स्थानमा छ। लेबनान १ सय २४औं स्थानमा छ। यु–२३ च्याम्पियनसिपको इतिहास हेर्ने हो भने युएई र लेबनान पछिल्ला दुई संस्करणमा लगातार छनोट भएका थिए। युएईले २०१४ र २०१६ का पछिल्ला दुई संस्करणमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो।

नेपालले युएईविरुद्ध खेलेको यो पहिलो आधिकारिक खेल हो। यसअघि १९९६ मा नेपालको राष्ट्रिय फुटबल टोलीले युएईविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो।

७०औं मिनेटमा नेपालका सुमन लामाले हानेको प्रहार विपक्षी गोलकिपरले मोहम्मद बुसान्दाले बचाए।

८०औं मिनेटमा युएईका वैकल्पिक खेलाडी अलि इद वान भर्सेस वानमा गोल गर्न चुके। उनको प्रहार नेपालका गोलकिपर एलन न्यौपानेले बचाएका थिए।

युएई भ्रमणको तयारीस्वरूप नेपालले एक मात्र मैत्रीपूर्ण खेल बंगलादेशविरुद्ध खेलेको थियो। गतहप्ता  बंगलादेशको यु–२३ टिमलाई सातदोबाटोमा निम्त्याउँदा नेपाल १–० को नतिजामा विजयी भएको थियो।

छनोट प्रतियोगिताअन्तर्गत सबै १० समूहका विजेता र उपविजेतामध्येका उत्कृष्ट पाँच सोझै अर्को वर्षको प्रतियोगितालाई छानिनेछन्।

प्रकाशित: १ श्रावण २०७४ ०४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App