coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अदुवा निकासी ठप्प

इलाम- भारतले कृषिजन्य वस्तुको आयातमा लाग्ने भन्सार दर बढाएपछि पूर्वी नेपालको काँकडभिट्टा नाकाबाट अदुवा निकासी रोकिएको छ। दुई सातादेखि अदुवाको माउ भारत निकासी बन्द भएपछि पूर्वी पहाडका किसान र व्यापारी तनावमा छन्।

व्यापारीले बिक्रीका लागि पठाइसकेको अदुवा बीच बाटोमा पुगेपछि भारतले भन्सार शुल्क बढाएको जानकारी पाएको व्यापारी बताउँछन्। ‘१५ दिनअघि पठाइएको तीन ट्रक अदुवा बिर्तामोडछेउमा सडकमै अलपत्र छ,' बिब्ल्याँटेका व्यापारी कृष्ण पौडेलले शुक्रबार भने, ‘भन्सार शुल्क कति हो भन्ने थाहा नहुँदा अदुवा निकासी नभएको भन्नेसम्म सुनिएको छ, किन अदुवा बिक्री भएन भन्ने अरू कुनै कारण थाहा हुन सकेको छैन।' उनले अदुवा लोड गरिएका ट्रक बाटो–बाटोमै रोकेर राख्दा अदुवा कुहिएर सखाप हुन थालेको बताए। ‘गाडीमा भएको अदुवा गाडीमै र स्टोरमा रहेको स्टोरमै कुहिन थालेको छ,' पौडेलले भने, ‘अब सात दिनसम्म यही अवस्था रह्यो भने त्यो अदुवा निकासी हुँदैन, सबै सखाप हुन्छ।'

पौडेल जिल्लाका मुख्य अदुव व्यापारी हुन्। उनले अहिले आफूसँग हजार मन अदुवा स्टक रहेको बताए। किसान र साना व्यापारी (किसानबाट अदुवा किनेर व्यापारीसम्म ल्याइदिने) सँग पनि अदुवाको माउ रहेको तर निकासी अन्योलले कुहिने अवस्था आउन लागेको उनले बताए। ‘गाउँमा किसानबाट तीन सय मन अदुवा किनेर स्टक गरेको छु तर व्यापारीले नै नकिन्ने भएपछि लगानी डुब्ने भो,' सुम्बेकका व्यापारी राम पोख्रेलले सुनाए, ‘अदुवा लिएर पैसा तिरिहालियो, कतिपय किसानलाई पैसा दिइसकेको छु, अदुवा चाहिँ लिन बाँकी नै छ। यसैबेला निकासी रोकियो।' उनले गाउँमा ७ सय देखि ९ सय रुपैयाँ प्रतिमन अदुवा किनेको तर किनेकोमध्ये पनि आधा बिग्रिसकेको बताए।

व्यापारी पौडेलकहाँ मात्रै पोख्रेलजस्ता ३० साना व्यापारीले अदुवा ल्याउँछन्। किसानले सोझै ल्याएरसमेत बेच्छन्। तर, अदुवाको निकासी नै नहुँदा किसानले यो वर्ष अदुवाको माउ बेच्न पाएका छैनन्। अदुवाको माउ निकाल्ने मुख्य सिजनमा निकासी रोकिँदा किसानलाई लाखौं रुपैयाँको घाटा हुने भएको छ। १० देखि सय मनसम्म अदुवा रोपेका किसान माउ बिक्ने बेला निकासी रोकिँदा निरास बनेका छन्। ‘अदुवाले यो वर्ष पनि डुबाउलाजस्तो छ,' बरबोटे गाउँका किसान चन्द्रप्रसाद घिमिरेले भने, ‘१२ मन रोपेको छु तर बारीमै कुहिनेबेलासम्म निकालेर बेच्न पाएको छैन।' उनले अन्य खेतीसमेत मासेर अदुवा रोपे पनि बिक्रीका बेला सधैं ‘फलामको चिउरा चपाउनुपरेको' गुनासो गरे।

इलाम नगरपालिका–४ का अदुवा किसान हेमलाल तिवारीले पनि खनेर बाटोमा ल्याइसकेको अदुवा नबिक्दा बाटोमै कुहिन थालेको सुनाए। ‘माउ निकाल्ने बेला थाहा भएन, जब माउ निकालियो अनि पो बिक्दैन भन्ने सुनियो,' उनले भने, ‘अदुवा हाम्रो वर्षभरको खर्च टार्ने आम्दानीको स्रोत हो, अन्य खेती यहाँ फस्टाउँदैन। तर, अदुवाले पनि ठूलो नोक्सान गराउने भो।' मेची पहाडको मुख्यमध्येको एक कृषि उत्पादन अदुवा नबिक्दा किसानको भरपर्दाे आम्दानी गुमेको छ।

निकासी रोकिएको डेढ साता बित्दा पनि खुल्ने छाँट नदेखिएको व्यापारी बताउँछन्। ‘अदुवा निकासी खुलाउन हामीले आफ्नोतर्फबाट पटक–पटक प्रयास गरिरहेका छौं,' व्यापारी पौडेलले भने, ‘व्यापारीको टोली बनाएर काँकडभिट्टा, सिलिगुडीसम्म पुगेर खोजखबर गरिरहेका छौं। तर, हाम्रो मात्र प्रयासले नहुने भो, माथिल्लो निकायले यसका लागि पहल गर्नुपर्ने भो।' उनले  अदुवा निकासी नखुले इलाम, पाँचथर र ताप्लेजुङका किसान–व्यापारीको करोडौं मूल्यको अदुवा गोदाम तथा बारीमै सडेर जाने दोहोर्‍याए।

भारतले गतवर्षसम्म नेपालको अदुवा आयातमा प्रतिकिलो एक रुपैयाँ भन्सार शुल्क लिने गरेको थियो। भारतले अहिले कृषिजन्य वस्तुमा पाँच प्रतिशत र जस्तापातामा १८ प्रतिशत भन्सार दर तोकेको जानकारी पाएको मेची भन्सार कार्यालयले जनाएको छ। कार्यालय प्रमुख भीमप्रसाद अधिकारीले भारतले हालै सबैखाले करको नयाँ दर निर्धारण गरेकाले निकासी र आयात नै प्रभावित भएको बताए। उनका अनुसार १४ असारयता यहाँबाट अदुवा निकासी हुन सकेको छैन।

गत वर्ष यही सिजनमा भारतले नेपालको अदुवा मिसावट र गुणस्तरहीन भएको बहाना बनाउँदै करिब दुई महिनासम्म निकासी रोकेको थियो। उच्चस्तरबाट पहल भएपछि निकासी पुनः सहज भएको थियो। पोहोर पनि बेलामा निकासी नहुँदा किसानले अदुवा बारीमै कुहिएर अर्बाैंको घाटा बेहोरेका थिए। अहिले पनि त्यही अवस्था दोहोरिन सक्ने चिन्ताले व्यापारी र किसान तनावमा परेका हुन्।

असारदेखि भदौसम्म अदुवाको माउ निकाल्ने मुख्य सिजन हो। पूर्वी पहाडको महŒवपूर्ण आम्दानीको स्रोत अदुवाको माउ निकाल्ने र बेच्ने बेला निकासी रोकिएकाले किसान र व्यापारीलाई आर्थिक समस्या पर्ने देखिएको छ। नेपाली अदुवाको मुख्य बजार भारतको सिलिगुडी र पानीट्यांकी हुन्। यहाँसम्म अदुवा निकासीको बाटो नखुल्दा इलामको मुख्य व्यापारिक केन्द्र बिब्ल्याँटे, पश्चिमी मंगलबारे, पूर्वी फिक्कललगायत बजारमा सयौं क्विन्टल अदुवा थन्किएको व्यापारीले बताएका छन्। व्यापारीले अग्रिम बुकिङ गरेको अदुवाको ठूलो परिमाण गाउँ–गाउँका किसानको घरको आँगनमा छ। कतिपय किसानले निकासी रोकिएपछि बारीमा भएको अदुवा खन्न पाएका छैनन्।

इलाम सोयाङका किसान टंक सञ्जेलले व्यापारीले केही दिनअघि किनेर तौलसमेत गरेको अदुवा अहिले निर्यात रोकिएको भन्दै नउठाइदिएकाले कुहिने डर भएको बताए। ‘यहाँका घर–घरमा व्यापारीले गाउँबाट ल्याएको अदुवा थुपारिएको छ, केही दिनपछि आएर लान्छौं भन्दै अदुवा तौलेर गएका व्यापारी फर्केर आएका छैनन्।' उनले अदुवा निकासी रोकिएकाले खुलेपछि मात्रै आउने व्यापारीले बताएको जानकारी दिए। ‘तर, अदुवा निकासी कहिले खुल्ने भन्ने टुंगो छैन, व्यापारीले लगेनन् भने हाम्रो लाखौं रुपैयाँको अदुवा आँगन र सडकमै कुहिएर जान्छ।'

जिल्लाका सुलुबुङ, सुम्बेक, धुसेनी, मंगलबारे, इभाङ, सोयाङ, नामसालिङ, गोदक, सोयाक, शान्तिडाँडा, साङरुम्बालगायत दर्जनौं गाउँका किसानको बारीमा अदुवाको माउ निकालेर बेच्न बाँकी छ। खनेको अदुवा पनि व्यापारीले फर्काएपछि बारी र आँगनमा थुपारिएको छ। जिल्लामा अदुवाको मुख्य कारोबार गर्ने ३० हाराहारी व्यापारी छन्।

नेपालको कुल अदुवा उत्पादनमध्ये ३१ प्रतिशत हिस्सा पूर्वको छ। आर्थिक वर्ष २०७२/०७३ मा पूर्वमा सबैभन्दा बढी इलाममा ४५ हजार नौ सय ९४ मेटि्रक टन अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। जिल्लाका १२ हजार नौ सय ३२ किसान अदुवाको व्यावसायिक खेती गर्छन्। त्यस आवमा जिल्लाका किसानले अदुवा बेचेर दुई अर्ब २० करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको कार्यालयले जनाएको छ। जिल्लाका बिब्ल्याँटे, मंगलबारे, फिक्कल, नयाँबजार लगायतका बजारमा अदुवाको किनबेच हुने गरेको छ। किसानले साउन–भदौमा माउ र कात्तिक–मंसीरमा अदुवाको नयाँ उत्पादन खनेर बेच्छन्। मेची राजमार्गले छोएका कोल्बुङ, हर्कटे, तीनघरे, इलाम, राँकेलगायत बजारमा अदुवाको बिक्री हुने गरेको छ।

पाँचथरका यासोक, रानीगाउँ, स्याम्बरुम्बा, माङ्जाबुङलगायत गाविसमा वैकल्पिक खेतीका रूपमा लगाइएको अदुवाको माउ पनि बिक्री नहुँदा किसानलाई समस्या छ। पाँचथरमा १० हजार मेटि्रक टनभन्दा बढी अदुवा उत्पादन हुने गरेको छ।

मुख्य सिजनमै बिक्री रोकिएकाले ताप्लेजुुङका किसान पनि अदुवा खेतीमा निरास बन्दैछन्। पकेट क्षेत्रकै किसानले अदुवा बेच्न नपाएपछि अदुवा खेती संकटमा पर्न लागेको हो। पकेट क्षेत्रमध्ये नगरपालिका क्षेत्रका अदुवा किसानको उत्पादनको मोटो हिस्सा जिल्ला कृषि विकास कार्यालयले बीउका रूपमा खरिद गर्छ।

बाँकी क्षेत्रका किसानको उत्पादनले बजार पाउन छाडेको छ। सबैभन्दा बढी उत्पादन हुने साब्लाखुु, सिनाम, नाङखोल्याङ, थेचम्बु र सादेवा गाविसका किसानको उत्पादन बजार नपाएर अलपत्र परेको छ। यी क्षेत्रमा उत्पादन भएको अदुवा खरिदकर्ताले पाँचथरको दाहालगाँउ र तथा थर्पु बजारमा केन्द्रित गरी फिदिम–इलाम हुँदै झापा पुर्‍याउँछन्। जिल्लामा बीउका लागि ५० हेक्टर र उपभोगका लागि एक सय ८० हेक्टरमा अदुवा खेती भइरहेको छ। यहाँको दुई सय ६० भन्दा बढी हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिन्छ। ताप्लेजुङ, पाँचथर, इलाम र झापामा मात्रै तीन हजार सात सय ७० हेक्टरमा अदुवा खेती हुने गरेको तथ्यांक छ। यी जिल्लाको वार्षिक उत्पादन करिब ५५ हजार ४० मेटि्रक टन हुनेगरेको छ।

 

प्रकाशित: १ श्रावण २०७४ ०५:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App