८ वैशाख २०८१ शनिबार
राजनीति

महिला सहभागिताका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं- व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने महिला सांसद समन्वय समितिले मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ। महिला सांसद समन्वय समितिले आइतबार बिहान प्रधानमन्त्री देउवालाई भेटी संवैधानिक व्यवस्थाअनुसार सरकारमा महिलाको सहभागिता सुनिश्चित गर्न आग्रह गरेको हो।

प्रधानमन्त्री देउवाकी श्रीमतीसमेत रहेकी सांसद आरजू राणा नेतृत्वको टोलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटी भाषणमा महिलाको कुरा गरेपनि सरकारमा सहभागिता भने कम रहेको गुनासो गरेका थिए। समन्वय समिति अध्यक्ष राणाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सरकारमा महिलालाई सहभागी गराउने विषयमा कन्जुस्याइँ हुने गरेको धारणा राखेकी थिइन्।

बिहान साढे आठ बजेका लागि समय निर्धारण भए पनि नौ बजेमात्र महिला सांसदहरूले प्रधानमन्त्रीसँग भेट पाएका थिए। त्यसक्रममा मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको व्यवस्था हुनुपर्ने, लैंगिकमैत्री कानुन निर्माण हुनुपर्ने, महिला हिंसाका घटना रोक्न सरकारले विशेष ध्यान दिनुपर्नेलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको उपाध्यक्ष श्रीमाया थकालीले जानकारी दिइन्। 'सरकारमा महिलाको सहभागितासहितका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौं', उनले भनिन्।

महिला हकअधिकारका साथै महिलामैत्री कानुन निर्माणका लागि संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलमा आबद्ध महिला सांसदहरूको १५ सदस्यीय समिति गठन भएको छ।   

प्रकाशित: २ श्रावण २०७४ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App