८ वैशाख २०८१ शनिबार
राजनीति

निर्वाचन क्षेत्र निर्धारण आयोग गठनमा विलम्ब

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यथाशीघ्र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरी प्रतिवेदन पेस गर्न र निर्वाचन कानुन जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र आयुक्तहरूको टेालीलले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मालाई भेटेर क्षेत्र निर्धारण आयोग गठन र निर्वाचनसम्बन्धी कानुन उपलब्ध गराउन आग्रह गरेको हो।

आयोग पदाधिकारीले यसअघि क्षेत्र निर्धारण र निर्वाचन कानुन छिट्टै टुंग्याउने भनेर सरकारले आश्वासन दिए पनि अझै आयोग गठन हुन नसकेको भन्दै देउवासँग असन्तुष्टि व्यक्त गरेका थिए। निर्वाचन आयुक्त नरेन्द्र दाहालले निर्वाचन क्षेत्र निर्धारणमा ढिलाइ भएको विषयमा प्रधानमन्त्री र सरकारको ध्यानाकर्षण गराएको बताए। 'असारभित्र प्रतिनिधिसभा निर्वाचन ऐन र प्रदेशसभा निर्वाचन ऐन भनेका थियौं त्यो पनि भएन, क्षेत्र निर्धारण आयोग गठनमा पनि ढिलाइ भयो भन्यौं,' दाहालले भने, 'प्रधानमन्त्रीले ऐनहरू संसद्मा प्रक्रियामा छन्, क्षेत्र निर्धारण आयोग पनि जतिसक्दो छिटो गठन हुन्छ भन्नुभएको छ।' संविधानले व्यवस्था गरेअनुसार २०७४ साल माघ ७ गतेभित्रै प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन गर्नु अत्यावश्यक रहेकाले त्यसका लागि आवश्यक पर्ने निर्वाचनसम्बन्धी कानुन र निर्वाचन क्षेत्र निर्धारण आयोग अविलम्ब गठन गर्न आयोगले प्रधानमन्त्रीसँग फेरि आग्रह गरेको हो।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धी कानुन जारी गर्न र यथाशीघ्र आयोग गठन गरेर निर्वाचन क्षेत्र निर्धारण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए। प्रधानमन्त्रीले छिट्टै निर्वाचनसम्बन्धी ऐनहरू पारित गरिने र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरी निर्वाचन आयोगलाई प्रतिवेदन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको शर्माले जानकारी दिए।

यसअघि असार १६ गते पनि आयोगका पदाधिकारीले प्रधानमन्त्रीलाई भेटेर साउन १५ भित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन त्याउन आग्रह गरेका थिए।

संविधानअनुसार माघ ७ भित्र बाँकी ३ वटा  निर्वाचन गर्नुपर्ने व्यवस्था बमोजिम २०७४ असोजको अन्तिम साता प्रदेशसभा निर्वाचन, कात्तिक दोस्रो साता राष्ट्रियसभाको निर्वाचन र मंसिर पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्न आयोगले प्रस्ताव राखेको थियो। त्यतिबेला प्रधानमन्त्री देउवाले चाँडै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने र आवश्यक कानुन निर्माण गर्ने आश्वासन आयोग पदाधिकारीलाई दिएका थिए।

क्षेत्र निर्धारण आयोग छिट्टै : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन क्षेत्र निर्धारण आयोग छिट्टै गठन हुने र संविधानअनुसार केन्द्र र प्रदेश तहको निर्वाचन हुने आश्वासन राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिएका छन्। आइतबार शीतल  निवास पुगेका प्रधानमन्त्री देउवाले राष्ट्रपतिलाई मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउँदै सरकार स्थानीय तहको बाँकी निर्वाचन गर्न र प्रदेश तथा केन्द्रको निर्वाचन गर्न लागिपरेको बताएका हुन्।

राष्ट्रपति भण्डारीले संवैधानिक सीमाभित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्ने गरी काम अघि बढाउन प्रधानमन्त्रीलाई आग्रह गरेकी छन्। पछिल्ला दिनमा बाढिपहिरोबाट भइरहेको जनधनको क्षतिप्रति राष्ट्रपतिलाई चासो र चिन्ता व्यक्त गर्दै आवश्यक राहत र क्षतिपूर्तिको व्यवस्था मिलाउन पनि आग्रह गरेकी थिइन्।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्राध्यक्ष र सरकार प्रमुखबीचको नियमित भेट भएको बताए। 'कुनै अजेन्डा विशेषमा छलफल भएको होइन,' अधिकारीले भने।

००

देउवाको स्वीकय सचिव जोशी

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो स्वकीय सचिवमा अधिवक्ता केशवराज जोशीलाई नियुक्त गरेका छन्। संसदीय दल हेर्ने गरी निजी सचिवको जिम्मेवारीमा रहेका जोशीलाई प्रधानमन्त्री देउवाले आइतबार स्वकीय सचिवमा नियुक्त गरेका हुन्।

एक दशकभन्दा लामो समयदेखि वकालत पेसामा क्रियाशील जोशीलाई विशिष्ट श्रेणीको सेवासुविधा पाउने गरी नियुक्त गरिएको हो। धनगढी उपमहानगरपालिका–५ स्थायी घर भएका जोशीले यसअघि २०६१ सालमा तत्कालीन कानुनमन्त्रीको स्वकीय सचिवको जिम्मेवारी निर्वाह गरी सकेका छन्।

प्रकाशित: २ श्रावण २०७४ ०२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App