८ वैशाख २०८१ शनिबार
राजनीति

कर्मचारी मञ्चको भवनमा राजपा सर्दै

काठमाडौं- नवगठित राष्ट्रिय जनता पार्टी नेपालको पार्टी कार्यालय केही दिनमै बबरमहल स्थित नेपाल मधेसी निजामती कर्मचारी मञ्चको भवनमा औपचारिकरूपमा सर्ने भएको छ।

पार्टी कार्यालयका सबै सामानहरू नयाँ पार्टी कार्यालयमा पुर्‍याइसकिएको राजपा नेताहरूले जनाएका छन्। मञ्चको भवनमा एक/दुई दिनभित्रै औपचारिक कार्यक्रम गरी पार्टी कार्यालय राख्ने  तयारी भएको राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झाले बताएका छन्। २०६८ सालमा सरकारले मधेसी कर्मचारी मञ्चलाई भवन बनाउन बबरमहलमा एक रोपनी जग्गा निशुल्क उपलब्ध गराएको थियो। सो जग्गामा २०६९ सालमा भवन शिलान्यास गरिएको थियो भने २०७२ सालमा भवनको उद्घाटन गरिएको थियो। भवन बनाउन लागेको सबै खर्च मञ्चले आफै व्यहोरेको मञ्चका अध्यक्ष विनोद सिंहले बताए।

सिंहले राजपालाई पार्टी कार्यालय राख्न मञ्चको भवन केही समयका लागि निशुल्क उपलब्ध गराएको बताए। साढे तीन तलाको सो भवनमा केही कोठा मञ्चले आफ्नो प्रयोजनका लागि प्रयोग गर्ने पनि उनले बताए। 'भवनका दुईवटा कोठा हामीले प्रयोग गर्छौं। अरू सबै कोठा राजपालाई कार्यालय राख्न निशुल्क दिएका छौं', सिंहले भने।

राजपाका नेताहरूले भने कर्मचारी मञ्चलाई महिनावारी केही रकम दिएर सम्झौता गर्ने तयारी भएको बताए। राजपाका महासचिव मनीष सुमनले महिनावारी केही रकम दिएर पार्टी कार्यालय राख्ने गरी कर्मचारी मञ्चसँग सम्झौता गर्ने तयारी भएको बताए।

बबरमहलमा पार्टी कार्यालय सर्नुअघि राजपाका नेताहरू पुरानो तमलोपा पार्टी कार्यालय बिजुलीबजारमा पार्टीका सबै काम गर्दै आएका छन्। पार्टीका बैठकहरू पनि बिजुलीबजारमा बस्ने गरेका छन्।

प्रकाशित: २ श्रावण २०७४ ०२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App