७ वैशाख २०८१ शुक्रबार
खेल

फेडेररलाई कीर्तिमानी उपाधि

लन्डन- चोटका कारण फाइनल दौरान आँसुमा डुबेका मारिन सिलिचमाथि सोझो सेटमा विजय हासिल गर्दै स्विस स्टार रोजर फेडेररले विम्बल्डनमा आइतबार दुई फरक कीर्तिमान बनाएका छन्।

आइतबारको जितले फेडेररलाई विम्बल्डनमा कीर्तिमानी आठौं उपाधि दिलाउनुका साथै प्रतियोगिता इतिहासमा सबभन्दा बढी उमेरको विजेता पनि बनाएको छ। फेडेररको करियरमा यो १९औं ग्रान्ड स्लाम उपाधि हो। ३५ वर्षको उमेरमा उपाधि जितेर उनले आधुनिक कालको विम्बल्डनमा सबभन्दा बूढो विजेताको कीर्तिमान बनाए। यसअघि १९७६ मा अमेरिकी खेलाडी आर्थर आसेले ३२ वर्षको उमेरमा उपाधि जितेका थिए।

विम्बल्डनमा ११औं पटक फाइनल खेल्ने क्रममा स्विस सुपरस्टारले ६–३, ६–१, ६–४ को नतिजामा विजय हासिल गरे। सबै चार ग्रान्ड स्लाममा गरी यो उनको २९औं फाइनल थियो। फेडेररले आइतबार अल इङ्ल्यान्ड क्लबमा कीर्तिमानी उपलब्धि हासिल गरे पनि दोस्रो सेटमा चोटका कारण सिलिचको आँखाबाट आँसु बगेको दृश्य स्मरणीय विषय बन्यो। सातौं वरीयताका क्रोएसियाली खेलाडी दोस्रो सेटमा ३–० ले पछि परेको अवस्थामा नराम्ररी घाइते भए। बायाँ खुट्टामा लागेको चोटका कारण उनले खेल रोकेर उपचार गराउनुपर्‍यो। उपाधि जित्ने लक्ष्यमा चोट बाधक बन्ने थाहा पाएपछि उनले आँसु रोक्न सकेनन्। रुमालले पसिना पुछ्ने क्रममा धेरै आँसु पुछ्यो। दर्शकमाझ लोकप्रिय खेलाडीको आँसुले कोर्टको माहोल भावुक बनायो।

खुट्टामा टेप लगाएर उनी जसोतसो कोर्ट उत्रिए। तर उपाधि लक्ष्य पूरा गर्न उनलाई चोट बाधक बन्यो। फेडेररले १९७६ मा विजोन बर्गपछि पूरा प्रतियोगितामा एउटै सेट नगुमाई विम्बल्डनको उपाधि जित्ने पहिलो खेलाडीको रूपमा पनि नाम लेखाए।

'उनी साँच्चैका नायक हुन्,' उपाधि जितेपछि फेडेररले फाइनलका प्रतिद्वन्द्वीबारे भने।

१२ महिनाअघि पाँच सेटसम्म चलेको सेमिफाइनलमा फेडेरर मिलोस राओनिकसँग पराजित भएका थिए। त्यही खेलपछि  घुँडाको चोटका कारण फेडेरर बाँकी सिजन कोर्टबाहिर भएका थिए।

'गत वर्षको नतिजापछि मलाई फेरि यहाँ अर्को फाइनलमा पुग्छु जस्तो लागेको थिएन। फेरि म उपाधि जित्न सक्छु भन्नेमा आफैँमाथि शंका थियो,' तीन हप्तापछि ३६ वर्ष लाग्ने फेडेररले भने, 'विगतमा केही कठिन फाइनल मैले सामना गरेको छु। नोभाक जोकोभिचसँग दुई पटक फाइनलमा पराजित भएँ। तर सधैं मैले आफूमाथिको विश्वास कायम राख्दै सपना देख्ने क्रमलाई निरन्तरता दिइरहेँ। त्यसैले आज म यहाँ आठौं उपाधिसँगै छु। यो साँच्चै ठूलो उपलब्धि हो। आफूमाथि विश्वास कायम राख्ने हो भने ठूलठूला उपलब्धिहरू सम्भव हुन्छन्।'

फाइनलमा निराशाजनक रूपमा पराजित भएका सिलिचले चोटका बावजुद आफूले रिटायर्ड हुने विकल्प प्रयोग नगरेको बताए। 'म कुनै पनि खेलमा आत्मसमर्पण गर्न चाहन्नँ। मैले आफूले सक्नेजति सबै गरेँ,' भावुक सिलिकले पुरस्कार वितरण समारोहमा भने, 'समग्रमा यहाँको यात्रा मेरा लागि स्मरणीय भयो। मैले आफ्नो करियरकै उत्कृष्ट टेनिस यहाँ खेलेँ। म टिमका सहयात्रीहरू र समर्थकलाई धन्यवाद दिन चाहन्छु। उनीहरूको साथकै कारण मेरो प्रदर्शन यति राम्रो भएको हो।'

प्रकाशित: २ श्रावण २०७४ ०४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App