coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सरकारले २ महिनाभित्र सिटामोल उत्पादन गर्ने

काठमाडौं- सरकारबाट सञ्चालिन नेपाल औषधी लिमिटेडले दुई महिनाभित्रमा सिटामोल उत्पादन गर्ने भएको छ। वैशाख महिनामा जिवनजल उत्पादन गरेर पुन सञ्चालनमा आएको यस उद्योगले थप औषधीहरू उत्पादन गर्दै जाने बताएको छ।

उद्योग बन्द भएको ७ वर्षपछि तत्कालिन उद्योग मन्त्री नविन्द्रराज जोशीको पहलमा औषधी लिमिटेडलाई पुन संचालनमा आएको थियो। पुन सञ्चालनमा ल्याउँदै दूई वर्षभित्रमा नाफामा जाँदा आधारभूत आवश्यकताका सम्पुर्ण औषधी उत्पादन गर्ने योजना सार्वजनिक गरिएको थियो।

उक्त योजना अनुरुप काम भएको नभएको बारेमा बुझ्न पूर्व मन्त्री जोशी आइतबार औषधी लिमिटेडमा पुगेका थिए। 'हालसम्मको प्रगति सन्तोषजनक नै रहेको छ,' आइतबार निरीक्षणको क्रममा जोशीले भने, 'यसको योजना अनुसार आगामी दुई वर्षभित्रमा आफै नाफामा गएर औषधी उत्पादन गर्नुपर्छ।'

औषधी लिमिटेडका महानिर्देशक रोभस कुशम सुवेदीले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार जिएमपी मोडलमा उत्पादन सुरु गर्न लागेको बताए। 'जिएमपी अनुसार औषधी उत्पादन गर्ने पूर्ण तयारी गरिरहेका छौं,' सुवेदीले भने, 'दुई महिनाभित्रमा उक्त मोडलमा हामी जादैछौं।'

यस उद्योगबाट ५० वर्षमाथीका विरामीलाई चाहिने औषधी र बच्चालाई चाहिने पौष्टिक आहार उत्पादन गर्ने तयारी समेत गरेको पूर्वमन्त्री जोशीले बताए। जोशीले सरकारले ७५ जिल्लामा ७० प्रकारको औषधी किनेर वितरण गर्दै आएको भन्दै त्यसमध्ये १० प्रतिशतमात्र पनि दिन सकेमा उद्योग सञ्चालन गर्न सकिने बताए।

हाल उद्योगले दैनिक ८ हजार प्याकेट जिवनजल उत्पादन गरिरहेको छ। अब वयस्कहरूका लागि पनि जिवनजल चाहिएको माग आइरहेकाले उक्त उत्पादन पनि गर्ने सुवेदीले बताए।

वैशाख १ गतेसम्म ४० थरी औषधी उत्पादन गर्ने लक्ष्य सहितको समय तालिका बनाएर काम सुरु गरेको जानकारी गराए। २०७६ वैशाख १ गतेभित्र सबै प्रकारका औषधी उत्पादन गर्ने लक्ष्य राखिएका छ।

स्वदेशमा आवश्यक पर्ने औषधि उत्पादनका लागि २०२९ सालमा स्थापना गरिएको उद्योग २०६६ सालमा उत्पादन बन्द गरेको थियो। उद्योग बन्द गर्नुको प्रमुख कारण आर्थिक घाटा भन्दा पनि विश्व स्वास्थ्य संगठनको मान्यता अनुसार जिएमपी मोडलमा जान नसक्नु थियो। जिएमपी मोडल भनेको औषधी उत्पादन गर्ने उपकरण र कोठा पूर्णतः कीटाणुविहीन तथा हावा छिर्न नसक्ने अवस्थाको हुनु हो। विगतमा यस उद्योगले १२० थरिका औषधीहरु उत्पादन गरेको थियो।

प्रकाशित: २ श्रावण २०७४ ०५:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App