७ वैशाख २०८१ शुक्रबार
प्रविधि

स्मार्टफोन बोक्ने ७५ लाख

काठमाडौं- मुलुकमा मोबाइल फोन प्रयोगकर्तामध्ये झन्डै ७५ लाखजनाले स्मार्टफोन बोक्ने गरेका छन्। मोबाइल सेवा प्रदायक कम्पनीहरूको डाटा सेवा प्रयोगकर्ताको संख्याका आधार यो तथ्यांक निकालिएको हो।

सबैभन्दा धेरै सेवा प्रयोग हुने दूरसञ्चार कम्पनीहरू सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलको तथ्यांक अनुसार कुल ग्राहकमध्ये ५० प्रतिशतभन्दा धरैले स्मार्टफोन प्रयोग गर्ने देखिएको हो। 

दूरसञ्चार सेवामा आएको नयाँ प्रविधि, इन्टरनेट सेवाको मागले गर्दा स्मार्टफोन प्रयोगकर्ताको संख्या उल्लेख्य वृद्धि हुँदै गएको छ।  एनसेलको प्रमुख लगानीकर्ता मलेसियन आजियाटाले सार्वजनिक गरेको २०१७ को पहिलो त्रैमासिक प्रतिवेदन अनुसार एनसेलका ४९ प्रतिशत ग्राहकले स्मार्टफोन प्रगोग गर्ने गरेका छन्।

उक्त प्रतिवेदन अनुसार २०१६ को तुलनामा २०१७ को पहिलो त्रैमासमा स्मार्टफोन प्रगोगकर्ता सात प्रतिशतले बढेका छन्। नियामक निकाय नेपाल दूरसञ्चार प्रधिकरणको तथ्यांक अनुसार एनसेलका ६७ लाख ३९ हजार ग्राहकले डाटा सेवा प्रयोग गर्छन्। यसका मोबाइल ग्राहक संख्या एक करोड ४२ लाखभन्दा धेरै छन्। 

'पछिल्लो समयमा विकास भएको प्रविधि, फोरजी र डिभाइसमा थपिएका सुविधाका कारण स्मार्टफोन प्रयोगकर्ताको संख्या बढ्दै गएको छ,' एनसेलका सञ्चार विज्ञ मिलनमणि शर्माले भने, 'ग्राहकलाई उपलब्ध गराइएका विभिन्न कन्टेन्टले पनि स्मार्टफोन बोक्नेको संख्यामा बढाएको छ।'  

मोबाइल ब्रोडब्यान्ड सेवामा पहँुचका लागि स्मार्टफोन सबैभन्दा सरल र सुलभ माध्यम हो। मोबाइल सेवा प्रदायक कम्पनीहरूले डाटा सेवाको मूल्य घटाउँदै लानु, मागमा वृृद्धि र सस्तो मूल्यमा पनि स्मार्टफोन पाइन थालेपछि यो बोक्ने ग्राहक उल्लेख्य रुपमा बढेका छन्। नेपाली बजारमा प्रत्येक दिन जस्तो विभिन्न ब्रान्डका नयाँ मोडल वा नयाँ ब्रान्ड आउने गरेका छन्।

नेपाल टेलिकमले भने स्मार्टफोन प्रयोगकर्ता कति छन् भनेर यकिन भन्न नसके पनि ६० प्रतिशतभन्दा माथि रहेको बताएको छ। 'हाम्रा उपभोक्तमध्ये स्मार्ट फोनकर्ता कति छन् भनेर ठ्याक्कै भन्न सकिने अवस्था छैन,' टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिने, 'स्मार्टफोनको प्रयोग, प्रयोग गरेको डाटा अनुमान गर्दा ७० प्रतिशत पुग्न सक्छन्।' प्राधिकरणको विवरण अनुसार टेलिकमका हाल विभिन्न प्रकारका डाटा प्रयोगकर्ता ८२ लाख रहेका छन्। प्राधिकरणको तथ्यांक अनुसार टेलिकमका मोबाइल ग्राहक संख्या एक करोड २८ लाख रहेका छन्।

मुलुकमा ६ वटा मोबाइल सेवा प्रदायक कम्पनी सञ्चालनमा रहेका भए पनि यी दुई कम्पनीको बजार हिस्सा ९८ प्रतिशतभन्दा धेरै छ।

थि्रजी सेवा र नयाँ सेवा फोरजीको विस्तारसँग्ौ स्मार्टफोन प्रगोगकर्ता थप बढ्ने अनुमान गरिएको छ। मोबाइल फोन आयातकर्ता संघ (एफपिआइए)ले पनि मुलुकभरमा झन्डै ५० प्रतशित जनताले स्मार्टफोन प्रयोग गरेको र त्यत्ति नै संख्यमा स्मार्टफोनको थप बजार रहेको बताउँदै आएको छ।

एनसेलले डिजिटल नेपाल निर्माणमा योगदान पुर्‍याउन इन्टरनेट पूर्वाधारमा ३० अर्ब लगानी थप्दै सन् २०१८ भित्रमा दुर्गम र ग्रामीण क्षेत्र लक्ष्य गर्दै थि्रजी सेवा देशको कुल जनसंख्याको ६० प्रतिशतमा पुर्‍याउने बताएको छ। त्यसैगरी, कम्पनीले २०१७ भित्रमा फोरजी सेवा १५ प्रतिशत जनसंख्यामा पुर्‍याउने सार्वजनिक गरेको छ र देशका विभिन्न ४० सहरमा यो सेवा विस्तारका लागि नेटवर्क परीक्षण लगायत काम भइरहेको जनाएको छ।

सरकारी नेपाल टेलिकमले पनि फोरजी सेवा देशव्यापी बनाउने बताउँदै आएको छ। टेलिकमले एनसेलभन्दा ६ महिनाअघि नै फोरजी सेवा सञ्चालनमा ल्याएको थियो। हाल टेलिकमले काठमाडौं उपत्यका र पोखरामा फोरजी सेवा प्रदान गर्दै आएको छ।

एनसेलले काठमाडौं उपत्यका लगायत बनेपा, धुलिखेल, नगरकोट, पोखरा र दमौलीमा फोरजी सेवा प्रदान गर्दै आएको छ भने जनसंख्याको हिसाबमा १०.३ प्रतिशतमा यो सेवाको पहुँच पुर्‍याएको बताएको छ। एनसेलले जेठ १८ बाट फोरजी सेवा सुरु गरेको हो।

विश्वव्यापी रुपमा नै ब्रोडब्यान्ड सेवाको प्रयोग बढिरहेको छ र नेपालमा पनि यसको माग तथा प्रयोग बढ्दै जाने देखिन्छ। ब्रोडब्यान्डको यदि आवश्यकतालाई ध्यानमा राखेर सरकारले पनि ब्रोडब्यान्ड पूर्वाधार विकास र सेवा सञ्चालनलाई प्राथमिकतामा राख्दै आएको छ।

सरकारले सन् २०१८ को अन्त्यसम्ममा देशका ४५ प्रतिशत घरधुरीमा ब्रोडब्यान्डको पहुँच सुनिश्चित गर्ने र सन् २०२० भित्रम सबै गाउँ विकास समितिमा ब्रोडब्यान्ड विस्तार गर्ने लक्ष्य राष्ट्रिय ब्रोडब्यान्ड नीतिमा राखेको छ। त्यसैगरी, सूचना–प्रविधि नीतिमा सन् २०२० भित्र ९० प्रतिशत जनतालाई ब्रोडब्यान्ड सेवा पुर्‍याउने र ८० प्रतिशत सरकारी सेवा अनलाइनमार्फत उपलब्ध गराउने लगायत लक्ष्य छन्।

प्रकाशित: २ श्रावण २०७४ ०५:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App