८ वैशाख २०८१ शनिबार
कला

राजधानीमा कुमार गुञ्जन

काठमाडौं- बलिउडमा सन् १९९० को दशक यस्तो थियो जसमा कुमार सानुको आवाजबिनाका फिल्मका कल्पना गर्न मुस्किल थियो। सन् १९८६ देखि गाउन थालेका कुमार सानुको आवाजको जादू यस्तो थियो कि सन् १९९० मा फिल्म 'आशिकी'बाट पहिलो फिल्मफेयर अवार्ड थापेका उनले पालैसँग 'साजन', 'दिवाना', 'बाजीगर', र '१९४२ :  अ लभ स्टोरी 'बाट ५ वर्ष लगातार फिल्मफेयरको अवार्ड हात पारे। त्यसयता लगातार एक दशक बलिउडका फिल्मी गीतमा उनको वर्चस्व रह्यो। तर, सन् २००० को पूर्वाद्धसँगै सानु विविध स्क्यान्डलमा फस्दै गए र गायकीबाट बिस्तारै विस्थापित भए।

उनै कुमार सानु शनिबार काठमाडौंको दरबारमार्गस्थित याक एन्ड यति होटलमा ९०को दशकको सम्झना गराउँदै लाइभ कन्सर्टमा उपस्थित भए। उनलाई सुन्न आउने दर्शकको चाप हेर्दा लाग्थ्यो, उनीहरू कुमार सानुलाई सुन्न हैन, गीतसँग जोडिएका आफ्ना सम्झना ताजा बनाउन आएका हुन्। यस्तो लाग्थ्यो उनीहरू कुमार सानुलाई नै हेरिरहेका थिए तर मनमा भने गीतसँग जोडिएका सम्झनामा हराइरहेका छन्।

दर्शक खचाखच भएको हलमा करिब तीन घन्टा लामो प्रतीक्षाको अन्त्य गर्दै सानुले गायकीको सुरुवात गरेका थिए 'परदेश' फिल्मकोे गीतबाट। नेपाल र भारतीय भावनालाई जोड्ने सन्दर्भ सम्झँदै उनले 'दो दिल मिल रहे है' गाएर गायनको सुरुवात गरे लगत्तै पहिलो फिल्मफेयर अवार्ड दिलाउने फिल्म 'आशिकी'को 'बस इक सनम चाहिए' गाएर माहोल तताए। तर, दुईटा गीत गाउँदासम्म स्टेजमाथि राखिएको चर्को लाइट परेर असिनपसिन भएपछि छोटो विश्राम लिए। विश्रामपछि अर्को गीत गाउनुअघि उनले गीतसँगको रमाइलो प्रसंग सुनाए।

गायकीमा किशोर कुमारबाट प्रभावित कुमार सानु संगीतकारको रूपमा भने आरडी बर्मनको कायल थिए। 'आशिकी' पछि पार्श्व गायनमा एक छत्र राज गरिरहँदा पनि सानुले आफ्ना प्रिय संगीतकार आरडी बर्मनको संगीतमा भने गाउन पाएका थिएनन्। गाउनका लागि नबोलाएको देखेर सानु हैरान थिए। तर, एक दिन अचानक बर्मनको फोन आयो। सानु  घरमै थिए। बर्मनले सोधेछन् ,'एउटा गीत छ तिम्रो लागि गाउँछौ?' सानुले नाइँ भन्ने कुरै थिएन। बर्मनले उनलाई तुरुन्तै मुम्बईको सिटीसेन्टरस्थित स्टुडियोमा बोलाए। बर्मनको बोलाएको खुशीमा सानु जस्तो अवस्थामा थिए त्यस्तै अवस्थामा स्टुडियो हान्निए। उत्साहका साथ बर्मनको अगाडि गए। तर, सानु जति बर्मनलाई भेट्न उत्साहित थिए बर्मन भने उत्साहित देखिएनन्। उनले सानुलाई तलदेखि माथिसम्म हेरेर भने, 'तिमी घर जाउ, आज गीत रेकर्ड हुन्न।' सानु हतप्रभ रहे। पञ्चम दाका रूपमा प्रख्यात बर्मनलाई उनले कारण सोधे तर बर्मन कारण बताउन राजी भएनन्। यत्ति भने, 'यो गीत तिमीले नै गाउँछौं तर एक हप्तापछि। तर, अलि चिटिक्क परेर आउनु।'

नभन्दै एकहप्तापछि बर्मनको फोन आयो। उनी चिटिक्क परेर बर्मनका अघि उपस्थित भए। उनलाई देख्ने वित्तिकै बर्मनले भने, 'ल आज गीत रकेर्ड गर्ने।' केही घन्टाको अभ्यासपछि गीत रेकर्ड भयो। यसरी रकेर्ड भएको गीत थियो 'एक लडकीको देखा तो ऐसा लगा।'

शनिबार सानुले बर्मनको सोही गीत तेस्रो गीतको रूपमा गाउनुअघि बर्मनले पहिलोखेपमा रेकर्ड गर्न नमान्नुको कारण खुलाए। 'म पञ्चम दाले बोलाउनु भयो भनेर जहाँ जुन अवस्थामा थिएँ त्यही अवस्थामा गाडी लिएर दौडिएँ। दाह्री पनि काटेको थिइँन र लुगा पनि त्यस्तै थिए। तर, गीत थियो सुन्दरताको बयान गर्ने। त्यही भएर पञ्चम दाले रेकर्ड गर्नु मान्नु भएको रहेनछ,' सानुले भने। सो गीत गाउँदा सबैजसो श्रोताले उनलाई साथ दिइरहेका थिए।

दुई चरणमा सम्पन्न कन्सर्टमा पहिलो चरणमा नेपाली गायक गायिकाले पनि आफ्ना गीत सुनाएका थिए। कार्यक्रममा स्मिता घिमिरेले गीत गाउँदै कार्यक्रमको खाता खोलेकी थिइन् भने उनलाई पछ्याउँदै कमलमान सिंह र सुगम पोखरेलले दुई–दुई गीत गाए। त्यसपछि मञ्चमा उक्लिएका सानुले एकल आवाजमा एक दर्जन गीतका स्थायी तथा अन्तरा गाएर सुनाएका थिए। दोस्रो चरणमा भने सानुले भारतीय गायिका स्वागता रागसँग जुगलबन्दी गर्दै 'तुझे देखा तो ए', 'तेरी चुनरिया', 'बाजीगर', 'चुरा के दिल मेरा', 'लडकी बडी अन्जानी है' जस्ता गीत गाएका थिए। उनले नेपाली गीत भने तीनवटा मात्र गाए। 'तृष्णा' फिल्मको 'यो कथा हो तृष्णा मेरो', 'स्वर्ग'को 'म त अब रिसाउँछु' र 'माइली' को 'भरे आउँछु सपनीमा' गीत गाएका थिए। ती मध्ये 'माइली'को गीत गाउन सानुलाई देविका बन्दनाले साथ दिएकी थिइन् भने 'स्वर्ग'को गीत गाउन सानु स्वयंले फिल्मका संगीतकार शम्भुजित बास्कोटालाई मञ्चमा बोलाएका थिए।

कुमार सानुलाई मोन्टेज नेपालले नेपाल बोलाएको हो। आयोजकले कन्सर्टबाट उठेको रकमको केही प्रतिशत क्यान्सर रिलिफ सोसाइटी र स्वेताश्री फाउन्डेसनलाई प्रदान गर्ने घोषणा गरेको थियो।

प्रकाशित: २ श्रावण २०७४ ०६:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App