५ वैशाख २०८१ बुधबार
समाज

राजमार्गमा दुर्घटना घट्यो, मृत्यु बढ्यो

गत असार पहिलो साता पृथ्वी राजमार्गको हुक्दीखोलामा भएको ट्रक दुर्घटनामा उद्धार गर्दै प्रहरी र स्थानीयबासी ।  फाइल तस्बिरः शंकर श्रेष्ठ

धादिङ – पछिल्लो वर्ष धादिङमा सवारी दुर्घटना घटेको देखिए पनि दुर्घटनामा मृत्यु हुनेको संख्या भने बढेको छ । 

यस वर्ष धादिङमा ९८ वटा दुर्घटना भए । ९० जनाले ज्यान गुमाए । दुर्घटनामा ज्यान गुमाउनेको यो संख्या अघिल्लो वर्ष भन्दा २९ ले बढी हो । आर्थिक वर्ष २०७२/०७३ मा एक सय ४९ दुर्घटनामा ६१ जनाले ज्यान गुमाएका थिए । 

जिल्ला ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार जिल्लामा ३४ प्रतिशतले दुर्घटना कम भएको देखिन्छ । तर दुर्घटनामा मृत्यु हुनेको संख्यामा भने ४८ प्रतिशतले बढेको देखिन्छ । दुर्घटना न्यूनिकरणको लागि संचालन गरिएका विभिन्न कार्यक्रमहरुले ठूला सवारी दुर्घटनामा कमी आएपनि मोटरसाइकल दुर्घटनामा कमी आएको छैन । 

एक त गल्छीदेखि नागढुङ्गासम्मका सडकमा खाल्डोखुल्डी बढी छ अर्काे तर्फ मुग्लीन नारायणगढको जाम क्रस गर्न चालक हतारिन्छन् ।

राजमार्गमा ठूला सवारी भन्दा साना सवारी (मोटरसाइकल) दुर्घटनामै ज्यान गुमाउनेको संख्या उच्च रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी नायव निरिक्षक रामचन्द्र घिमिरेले बताए । ‘सबैभन्दा बढी मोटर साइकल दुर्घटनामा स्पट डेथ हुने गरेको छ । त्यसपछि गाडी खस्दा धेरैको मृत्यु हुन्छ’ घिमिरेले भने ।

धेरैजसो दुर्घटनामा सडककै खराबी र चालकको लापरबाही देखिएका छन् । एक त गल्छीदेखि नागढुङ्गासम्मका सडकमा खाल्डोखुल्डी बढी छ अर्काे तर्फ मुग्लीन नारायणगढको जाम क्रस गर्न चालक हतारिन्छन् । प्रहरी नायव निरीक्षक घिमिरे भन्छन् ‘सडकको खराबी र चालकको लापरबाहीकै कारण सवारी दुर्घटनामा पर्छन् ।’

दुर्घटनामा घाइतेको संख्यामा पनि तुलनात्मक रुपमा कमी आएको छ । यस आर्थिक वर्ष २०७३/०७४ मा भएका ९८ वटा दुर्घटनामा दुई सय आठ जना घाइते भएका छन् । घाइते मध्ये एक सय १२ जनालाई ट्राफिक प्रहरीले गम्भीर घाइतेको सूचिमा राखेको छ । 

५४ हजार सवारी कारबाहीमा, चार करोड राजश्व संकलन

यस वर्ष जिल्लामा ५४ हजार ८ सय ३९ सवारी कारबाहीमा परेका छन् । कारबाहीमा परेका सवारीसाधनहरुबाट जिल्ला ट्राफिक प्रहरीले ३ करोड ९८ लाख ३१ हजार राजश्व संकलन गरेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७२/०७३ मा एक करोड ९५ लाख ५९ हजार राजश्व संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्षको राजश्व २ करोड २ लाख ७२ हजारले बढि हो । पछिल्लो वर्ष सरकारले नै ट्राफिक नियम उलंङ्घन गरेबापत लिइने जरिवानाको रकम वृद्धि गरेसंगै राजश्व संकलनमा बृद्धि भएको प्रहरी नायव निरिक्षक रामचन्द्र घिमिरेले बताए । 

दिनप्रतिदिन सवारीको चाप पनि बढेको छ । त्यसले दुर्घटनामा बढाएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्षको राजश्व दोब्बरले बढि छ’ घिमिरेले भने । ट्राफिक नियम उलंङ्घन गरेवापत लिइने जरिवानाको रकम वृद्धि गरेर यसवर्षबाट सरकारले ५००, १००० र १५०० पुर्‍याएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार ट्रक र ट्रिपर बढी कारबाहीमा परेका छन् । यी सवारीहरुले क्षमता भन्दा बढी बोक्ने, लापरबाही कुदाउने र कागजपत्र नबोक्ने सवारीमा पर्छन् । 

 

प्रकाशित: २ श्रावण २०७४ ०६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App