प्राकृतिकरूपमा नेपाल जति सम्पन्न भए पनि हामीले विज्ञान तथा प्रविधिको माध्यमबाट यसको सही प्रयोग गर्न सकेका छैनाँै। नेपालमा पाइने महत्वपूर्ण जैविक पदार्थहरू खुला सिमानाका कारण भारतलगायत अन्य मुलुक पुगिसकेको अनुमान छ। भारतीयहरूले नेपाली वनस्पतिहरूमा समेत अनुसन्धान गरी त्यसबाट व्यापारिक र प्राज्ञिक फाइदा लिइसकेको देखिन्छ। अनुसन्धान गर्न बाँकी थोरैमात्र औषधिजन्य वनस्पति तथा प्राकृतिक स्रोत बाँकी होला नेपालमा अब। हाम्रो भौगोलिक विविधताका कारण विभिन्न वातावरणीय र पर्यावरणमा पाइने माटो र जैविक पदार्थबाट नयाँ किसिमको एन्टिबायोटिक र क्यान्सरविरूध्दको औषधि निकाल्न सकिन्छ। हाल विश्व बजारमा पाइने करिव ८० प्रतिशत एन्टिबायोटिक माटोमा पाइने स्ट्रेपटोमाइसेस, मिक्जोब्याक्टेरिया र फङ्गसबाट नै निकालिएका हुन्। अतः नेपालले पनि यस विधाको अनुसन्धानलाई अब राष्ट्रिय आवश्यकता र प्राथमिकताको विषय बनाउनुपर्छ।
विश्व बजारमा पाइने करिव ८० प्रतिशत एन्टिबायोटिक माटोमा पाइने स्ट्रेपटोमाइसेस, मिक्जोब्याक्टेरिया र फङ्गसबाट नै निकालिएका हुन्। अतः नेपालले पनि यस विधाको अनुसन्धानलाई अब राष्ट्रिय आवश्यकता र प्राथमिकताको विषय बनाउनुपर्छ।
मानिसको परिवर्तित जीवनशैली, वातावरणीय असन्तुलन र एन्टिबायोटिकको गलत प्रयोगका कारण संसारमा नै औषधि प्रतिरोधक ब्याक्टेरियाहरू बढ्दै गएका छन्। जुन स्वास्थ्य क्षेत्रमा चुनौती बनिरहेको छ। अमेरिकी संस्था सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार करिब ५० प्रतिशत स्वास्थ्य समस्यामा आवश्यकता नै नभई बिरामीले एन्टिबायोटिक सेवन गर्छन्। एन्टिबायोटिक प्रतिरोधक ब्याक्टेरियाले गर्दा हाल बजारमा चालु एन्टिबायोटिकले काम नगर्ने समस्या विश्वभरि नै देखापरेको छ। जसका कारण वैज्ञानिकहरू नयाँ एन्टिबायोटिकको आविष्कारमा जुटेका छन्। नयाँ एन्टिबायोटिक प्रमुखरूपमा दुई प्रक्रियाबाट पत्ता लगाउन सकिन्छ। पहिलो ब्याक्टेरियाबाट र दोस्रो भइरहेका एन्टिबायोटिकको बायोसेन्थेसिसमा सहभागी हुने कुनै निश्चित जिन परिवर्तन (जेनेटिक म्यानिपुलेसन) गरेर। नेपालको सन्दर्भमा ब्याक्टेरियामा जेनेटिक म्यानिपुलेसन गर्ने अनुसन्धान तत्कालका लागि त्यति सहज देखिँदैन। त्यसैले माटोलगायत जैविक पदार्थबाट नयाँ ब्याक्टेरिया खोज्नु नै हाम्रो प्राथमिकता हुनुपर्छ।
स्ट्रेपटोमाइसेसबाट एन्टिबायोटिक निकाल्ने प्रक्रिया सहज भएकै कारण हाल विश्वमा करिब ५ सय ५० वटा त्यस समूहका ब्याक्टेरिया पत्ता लागिसकेका छन् र त्यसबाट दर्जनौँ एन्टिबायोटिकको विकास भइसकेको छ। तर नेपालमा हालसम्म यस क्षेत्रमा उल्लेखनीय अनुसन्धान हुन सकेको छैन। सन् १९४३ मा पेनिसिलिन विश्व बजारमा प्रवेश गरेपछि मानव तथा जनावरमा ब्याक्टेरियल संक्रमणबाट हुने रोग निवारणका लागि हालसम्म करिब १ सय ३७ प्रकारका एन्टिबायोटिक प्रयोगमा आइसकेका छन्। यस्ता अनुसन्धानमा विकसित मुलुकका विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेलेका छन्। तर विडम्बना नै भन्नुपर्छ, स्थापनाको २७ वर्षसम्म पनि त्रिभुवन विश्वविद्यालयको माइक्रोबायोलोजी केन्›ीय शिक्षण विभागले यस्ता औषधि निकाल्न सकिने ब्याक्टेरिया पहिचान गर्ने र कल्चर सेन्टर बनाउने काम गर्न सकेको छैन्।
यसै सन्दर्भमा सन् १९८० यतामात्र वैज्ञानिकहरूले एन्टिबायोटिक निकाल्न माइक्रो अर्गानिज्मसम्बन्धी अनुसन्धानमा जोड दिएको पाइन्छ। सन् १९९० सम्म आइपुग्दा ८० प्रतिशत औषधि लिभिङ अर्गानिज्म (न्याचुरल प्रडक्ट) बाट उत्पादन गर्न वैज्ञानिक सफल भए। आज विश्वमा सबैभन्दा प्रचलित औषधिमध्ये ४० प्रतिशत लिभिङ अर्गानिज्मबाट उत्पादित छन् जसको व्यापार २५ बिलियन अमेरिकी डलर भएको बताइन्छ। ती लिभिङ अर्गानिज्मको प्रमुख स्रोत पानी वा माटोमा पाइने ब्याक्टेरिया नै हुन्।
नेपाली माटोमा नयाँ मिक्जोब्याक्टेरिया
सन् २०१३ मा जर्मनीको सारल्यान्ड युनिभर्सिटीका प्रोफेसर राल्फ मुलर र नेपालको नेसनल कलेजका तर्फबाट यस लेखकबीचको प्राज्ञिक सहकार्यमा (आर्थिक होइन) नेपाली माटोबाट मिक्जोब्याक्टेरिया पत्ता लगाउनेसम्बन्धी अनुसन्धान सम्झौता भयो। नेपालको मात्र क्षमताले मिक्जोब्याक्टेरियाको पहिचान जटिल भएकाले यो सहकार्य गर्नुपरेको हो। करिव २ वर्षको अनुसन्धानपश्चात जर्मनीको सारल्यान्ड युनिभर्सिटीमा नेपाली विद्यार्थी डा. रामप्रसाद अवालले सन् २०१४ मा कालीकोट र गोदावरीमा संकलन गरेको माटोबाट २ वटा मिक्जोब्याक्टेरिया पत्ता लगाउन सफल भए। दुवै ब्याक्टेरिया हालसम्म पत्ता नलागेका नयाँ प्रजाति भएको विषय 'इन्टरनेसनल जर्नल अफ सिस्टमेटिक एन्ड एभोल्युसनरी माइक्रोबाइलोजी' मा गत महिना प्रकाशित लेखबाट पनि प्रस्ट हुन्छ। अनुसन्धान परिणामले देखाएअनुसार उक्त दुवै मिक्जोब्याक्टेरियाले हाल बजारमा पाइने एन्टिबायोटिकहरू, जस्तै– कानामाइसिन, जेन्टामाइसिन, एम्पिसिलिनसँग प्रतिरोधक गुण देखाउने हुँदा त्यसबाट भविष्यमा नयाँ एन्टिबायोटिक पत्ता लगाउन सकिने प्रवल सम्भावना छ। यससम्बन्धी थप अनुसन्धान जारी नै छ।
त्यसैगरी नेसनल कलेज, काठमाडौंमा एमएस्सी बायोटेक्नोलोजी विषयमा अध्ययरत मेरा विद्यार्थी नवीन रानाले सन् २०१६ मा बर्दिया राष्ट्रिय निकुञ्ज, घोडाघोडी ताल कैलाली र गोर्खाको आँपपीपलमा संकलन गरेको माटोमा गरेको अनुसन्धानबाट ३ वटा नयाँ मिक्जोब्याक्टेरिया पत्ता लगाउन सफल भए। सोसम्बन्धी विस्तृत विवरण जर्नलमा छिटै प्रकाशन गरिँदैछ। वास्तवमा उक्त ५ वटा नयाँ मिक्जोब्याक्टेरिया पत्ता लगाउन नेपालका विभिन्न भूभागबाट २ सय स्थानका माटोको नमुना संकलन गरिएको थियो। जर्मनी र नेपालबाट पत्ता लगाइएका सबै मिक्जोब्याक्टेरियाको डिएनए सिक्वइन्स अन्तर्राष्ट्रिय जिन बैंकमा जम्मा गरिएको छ वैज्ञानिक प्रमाणका रूपमा। र, सम्झौताअनुसार उक्त ब्याक्टेरियाको पेटेन्ट राइट्स नेपालकै हुनेछ।
मुख्यतः वर्षौंअगाडि वनस्पति गाडिएर कुहिएको ठाउँको माटोमा मिक्जोब्याक्टेरिया पाइने अनुसन्धानले देखाएको छ। विभिन्न देशमा गरिएको अध्ययनअनुसार ट्रोपिकल क्षेत्र र पानी कम पर्ने भूभागको माटो वा जैविक पदार्थमा मिक्जोब्याक्टेरिया पत्ता लगाइएको छ। माटोबाहेक पनि रूखको बोक्रा र कुहिएको काठ, जनावरको मल पनि मिक्जोब्याक्टेरियाका स्रोत हुन्। जर्मनीबाट आर्थिक नभई विशुध्द प्राज्ञिक सहयोगमात्र प्राप्त भएकाले यस अनुसन्धानलाई गति दिन समस्या झेलेका कारण आर्थिक सहयोगका लागि गत साल नास्टमा प्रस्ताव गरिएको थियो। सम्भवतः अनुसन्धानको महत्व बु‰न नसकेर सो संस्थाका विज्ञ टोलीले प्रस्ताव अस्वीकृत गरे।
मिक्जोब्याक्टेरियासम्बन्धी अनुसन्धान सर्वप्रथम सन् १९८७ मा जर्मन वैज्ञानिकले 'एपोथाइलोन' भन्ने कम्पाउन्ड 'सोरान्जिएम सेलुलोसम' नामक मिक्जोब्याक्टेरियाबाट पत्ता लगाएपछि सुरू भएको हो। त्यसको १३ वर्षपछि अर्थात सन् २००० मा अमेरिकाको कोसान वायोसाइन्सले 'एपोथाइलोन' वनस्पतिबाट निकालिएको ट्याक्सोल जस्तै स्तन क्यान्सरको उपचारमा काम गर्छ भन्ने तथ्य पत्ता लगाए। उक्त अनुसन्धान त्यही वर्ष विश्वप्रसिध्द जर्नल 'साइन्स' मा प्रकाशित पनि भयो। अमेरीकी संस्था एफडिएले 'एपोथाइलोन' लाई औषधिका रूपमा सन् २००७ मा अनुमोदन गर्यो। एन्टिबायोटिकको आविष्कार वास्तवमा अत्यन्तै जटिल काम हो। अमेरिकी अपजोन कम्पनीले ६७ हजार सेन्थेटिक कम्पाउन्ड र ७० हजार वनस्पतिको अध्ययन/अनुसन्धान गर्दा पनि 'एपोथाइलोन' मा जस्तो औषधिजन्य गुण पाएनन्। त्यस्तै मिक्जोब्याक्टेरियाबाट एन्टिभाइरल कम्पाउड पनि हालै पत्ता लगाइएको छ जुन थप अनुसन्धानको चरणमा छ। प्रस्तुत उदाहरणबाट पनि प्रस्ट हुन्छ– मिक्जोब्याक्टेरिया आधुनिक औषधि विज्ञानका क्षेत्रमा विशेष महत्व भएको ब्याक्टेरिया हो जसको क्रोमोजोमल डिएनए पनि अन्य ब्याक्टेरियाको भन्दा ठूलो पाइएको छ।
नेपालको आवश्यकता
नेपालका फर्मास्युटिकल कम्पनीहरू परजीवी जसरी एन्टिबायोटिकका लागि विदेशमा भर पर्छन्। यिनीहरू केवल ट्याब्लेट र बोटलमा आयातीत एन्टिबायोटिक डोजअनुसार प्याकेजिङको काम गर्छन्। र, वार्षिक अर्बौं रकम विदेशिएको छ एन्टिबायोटिक किन्न। देशभित्रै एन्टिबायोटिक उत्पादन गर्ने उनीहरूको कुनै योजना देखिँदैन। त्यसैले सरकारले ती कम्पनीलाई अब अनुसन्धानका क्षेत्रमा लगानी गर्न उत्पे्ररकको काम गर्नुपर्छ। हाल विश्वमा नयाँ एन्टिबायोटिकको आविष्कारमा कमी आएको छ र बहुराष्ट्रिय फर्मास्युटिकल कम्पनीहरूले प्रत्येक वर्ष ठूलो संख्यामा एन्टिबायोटिकको पेटेन्ट राइट्स गुमाउँदैछन्। यसलाई अवसरका रूपमा लिएर नेपालले पेटेन्ट गुमाएका एन्टिबायोटिक देशभित्रै उत्पादन गर्नुपर्छ। यसका लागि एन्टिबायोटिक उत्पादन गर्ने ब्याक्टेरिया नेपालमा हुनुपर्छ जसका लागि अनुसन्धान आवश्यक छ।
जस्तै- नियोसपोरिन मलममा प्रयोग हुने एन्टिबायोटिक 'नियोमाइसिन' उत्पादन गर्ने ब्याक्टेरिया (स्ट्रेपटोमाइसेस फ्राडी) नेपालमा छैन। कि त नेपालले यो ब्याक्टेरियाको पेटेन्ट विदेशबाट किन्नुपर्छ। अन्यथा नेपाली माटो वा अन्य जैविक पदार्थमा अनुसन्धान गरी उक्त ब्याक्टेरिया पत्ता लगाउनुपर्छ। यस्ता अनेक उदाहरण छन् एन्टिबायोटिक विकासका लागि। समयको माग र बदलिँदो विज्ञानका नयाँ आयमलाई आत्मसाथ गर्दै बायोफार्माको महत्व बु‰न नेपालले अब ढिला गर्नुहँुदैन। नेपालको उच्च हिमाली क्षेत्र र अन्य भूभागमा पाइने जैविक पदार्थबाट थप नयाँ प्रजातिका एन्टिबायोटिक उत्पादन गर्न सक्ने स्ट्रेपटोमाइसेस र मिक्जोब्याक्टेरिया निकाल्न थप अनुसन्धान आवश्यक छ। जसबाट नेपालको राष्ट्रिय स्वाभिमान र आत्मनिर्भरता बढ्ने निश्चित छ।
फर्मास्युटिकल बायोटेक्नोलजीमा विद्यावारिधि
प्रकाशित: ३ श्रावण २०७४ ०३:१३ मंगलबार