८ वैशाख २०८१ शनिबार
समाज

बाँकेमा बाढीको वितण्डा, एकै घरका ३ बालिका पुरिए

नेपालगन्ज- अविरल वर्षापछि आएको बाढीले बाँकेमा वितण्डा मच्चाएको छ। शुक्रबार रातिदेखि शनिबार बिहानसम्म परेको वर्षाका कारण घर भत्किँदा बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्वर ४ बैजापुर (लालपुर) निवासी कमल थारुका ३ छोरी पुरिएका छन्।

राति करिब ३ बजेतिर पुरिएका बालिकाको जिवितै उद्धार गर्ने सम्भावना नरहेको र घटनास्थलमा इलाका प्रहरी कार्यालय बैजापुरको टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज पौडेलले जानकारी दिए।

अविरल वर्षापछि राप्ती नदी र विभिन्न खोलानालामा आएको बाढीले अधिकांश अधिकांस भूभाग डुबानमा परेका छन्। सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिकामा बाढीले क्षति पुर्याएको छ। गाउँपालिकाका अधिकांश गाउँ डुबानमा परेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताएका छन्। उनका अनुसार राप्तीसोनारी गाउँपालिकाको ३ र ४ वडा बैजापुरस्थित नवलपुर, गल्लाबास, खैरहनी, भवानीयापुर, बेलासपुर, सिस्वा, सिनाबास, साइपुर, लालपुर, पसरामपुर, सूर्यलालपुर, भगवानपुर, नारायणपुर तथा वडा नम्वर ५ बिनौनाको ललही, सुनटेपरी, आलीनगर, गोरधुई तथा वडा नम्बर ६ र ७ फत्तेपुरको गुलरी, डाँडाटेपरी, लक्ष्मीराजपुर, हब्रहवा, सिधनवा, सर्री, सर्रा, खल्ला झगडिया, गुरुवा, भर्था, पिप्रहवा लगायत गाउँ डुबानमा परेका छन्। ‘जताततै पानी नै पानी छ, एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने अवस्था छैन,' अध्यक्ष थारुले भने।

राप्तीसोनारीकै खासकुश्मा, कचनापुर, महादेवपुरीमा पनि राप्तीनदीले घरहरु डुबान गरेको बताइएको छ। राप्तीसोनारी गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष रामलखन थारुले गाउँमा सुरक्षित स्थान कतै नरहेको बताए। टेलिफोनमार्फत् नागरिकन्युजसँग उनले भने, ‘जताततै डुबान छ, सुरक्षित स्थान भन्ने ठाउँ कतै छैन, हाम्रो वडामा के कति जनधनको क्षति भयो भन्नेबारे अझै एकिन छैन।' वरिपरि बाढीले घेरेका कारण आफू पनि थुनिएको बताए।

अविरल वर्षापछि आएको बाढीले जिल्लाका अन्य भूभाग पनि डुबानमा परेका छन्। जिल्लाको डुडुवा गाउँपालिकाको होलिया, बनकट्टी, बेतहनी, कम्दी तथा खजुरा गाउँपालिका, वैजनाथ गाउँपालिका, जानकी गाउँपालिका, नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका केही बस्ती पनि डुबानमा परेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

राप्तीनदीको बीच टापु डुडुवा गाउँपालिकाको होलियास्थित टेपरी गाउँमा फसेका सयौं संख्याका स्थानीय बासिन्दा उद्धारको पर्खाइमा रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। उनीहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेतबाट ल्याउने कोसिस भइरहेको र मौसम प्रतिकुलताका कारण हेलिकोप्टर उड्न नसकेको उनले जानकारी दिए। कतिपय ठाउँमा सञ्चार सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ।

बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा बिहान ३ बजे राप्ती नदीको पानीको सतह ८ मिटर ५७ सेन्टिमिटर पुगेको थियो। उक्त बाढी राप्ती तटीय क्षेत्रमा आएपछि नदी आसपासका गाउँ डुबानमा परेका हुन्। भारतले अन्तराष्ट्रिय नियम विपरित सीमा क्षेत्रमा निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण वर्षेनि राप्ती नदी आसपासका गाउँ डुबानमा पर्दै आएका छन्। २०७१ साउन अन्तिम साता आएको बाढीले पनि बाँकेमा ठूलो जनधनको क्षति पुर्याएको थियो।

यसैबीच बाँकेमा बाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेस बाँकेले उद्धार र राहतमा विशेष ध्यान दिन स्थानीय प्रहरी प्रशासनको ध्यानार्कषण गराएको छ। जिल्ला सचिव तप्त पौडेलले एक विज्ञप्ती जारी गर्दै बाढी पीडितलाई सुरक्षित स्थानमा स्थानन्तरमा सहयोग गर्न सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित: २८ श्रावण २०७४ ०७:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App